८ वैशाख २०८१ शनिबार
अर्थ

अझै भ्याटको नक्कली कारोबार

काठमाडौं - विगतमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबार गरेर सात अर्ब रुपैयाँभन्दा बढी राजस्व छल्ने व्यापारिक घरानाहरुलाई कारबाहीको दायरामा ल्याए पनि भ्याटको नक्कली कारोबारले निरन्तरता पाएको देखिएको छ ।

राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्षमा गरेको अनुसन्धानले नक्कली बिलबिजक प्रयोग गरेर भ्याट छल्ने प्रवृत्ति अझै पनि नरोकिएको देखाएको हो । नक्कली भ्याट बिल बनाएर त्यसैअनुसार कारोबार गरी राजस्व अपचलन गर्नेहरु मुलुकमा धेरै हुन सक्ने भन्दै विभागले यसले गम्भीर अवस्था ल्याउन सक्ने आशंका गरेको छ । विभागको यो आशंकाले मुलुकमा नक्कली भ्याट कारोबारमा ठूलो गिरोह रहेको अनुमान गर्न सकिन्छ । भ्याट सरकारको राजस्वको प्रमुख स्रोतमध्ये एक हो । यसमा समस्या आए मुलुकको राजस्वमा ठूलो प्रभाव पर्ने निश्चित छ । विभागले नक्कली भ्याट बिल–बिजक प्रयोग गरेर राजस्व अपचलन गर्ने २४ व्यापारिक फर्मविरुद्ध एक अर्ब ७५ करोड रुपैयाँ ब्गिो कायम गरी काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

विभागको अनुसन्धान टोलीले नक्कली बिलबिजक प्रयोग गरेर राजस्व छल्ने मुख्य व्यक्ति जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ समेत गरेको छ । विभागले यी दुईसहित २४ व्यापारिक फर्मका सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । राजस्व छल्ने २४ वटा फर्मका सञ्चालकमा अधिकांश यिनै दुईजना छन् । विभागले परमेश्वरलाई गत माघ ३ र किशोरलाई माघ ४ मा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। 

विगतमा नाममात्रको अनुसन्धान विभागका रुपमा देखिएको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखेपछि सक्रियता बढेको छ । कतिपयले विभागलाई प्रधानमन्त्री कार्यालयमातहत लैजान नहुने भन्दै विरोध पनि गरेका थिए ।
विभागका अनुसार नक्कली भ्याट बिलको कारोबार गरी राजस्व अपचलन हुँदै आएको सूचनाका आधारमा अनुसन्धान गर्दा जयकिशोर र परमेश्वरलाई फेला पारिएको थियो । यी दुईलाई पक्राउ गरी थप अनुसन्धान गर्दा २४ व्यापारिक फर्मले राजस्व अपचलन गरेको फेला परेको हो ।

राजस्व छल्ने फर्मका सञ्चालकहरुले आफ्नै व्यवसायमा काम गर्ने सोझा व्यक्तिको नागरिकता दुरुपयोग गरी राजस्व छल्ने गर्दै आएका थिए । सञ्चालकहरुले निम्न आर्थिक स्तरका मजदुर कर्मचारीलाई प्रलोभन दिएर उनीहरुकै नाममा कम्पनी दर्ता गरी, बैंक खाता खोलेर कारोबार गरेको फेला परेको हो । विगतमा पनि राजस्व अपचलन गर्ने मनसायले कतिपय व्यापारिक फर्महरुले सोझा–साझा गाउँले व्यक्तिका नाममा कम्पनी खोल्ने र कारोबार गर्ने गरेको देखिएको थियो । यस्तो काममा भारतीय मूलका मझौला स्तरका व्यापारीको हात देखिँदै आएको छ ।

विभागको अनुसन्धानबाट फर्म सञ्चालकहरुले ज्याला–मजदुरी गर्ने अनपढ व्यक्तिहरुलाई प्रलोभनमा पारी उनीहरुको नाममा कम्पनी खोल्ने र त्यस्ता कम्पनीबाट मालसमान खरिद बिक्री नगर्ने तर नक्कली बिलबिजक जारी गरी सरकारलाई बुझाउनुपर्ने राजस्व आफ्नै खल्तीमा हाल्ने गरेको फेला परेको हो । यस्तै फर्म सञ्चालकहरुले जुन व्यक्तिको नाममा कम्पनी दर्ता गरेको हो त्यो व्यक्ति र अर्को कुनै सोझो (आफुले भनेको मान्ने) व्यक्तिलाई कर्मचारीका रुपमा राखेर बैंक खाता सञ्चालन गर्न लगाई योजनाबद्ध र संगठित रुपमा राजस्व छलेको देखिएको छ ।

विभागले अनुसन्धानबाट यी फर्महरुले भ्याट र आयकर छली गरेको प्रमाणित भएको बताएको छ । विभागका अनुसार यी फर्महरुलाई भ्याट र आयकर (जरिवाना र ब्याज सहित) क्रमशः ६५ करोड ४४ लाख र एक अर्ब नौ करोड ९९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । विभागले फर्म सञ्चालकहरुलाई बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दाबी गरेको छ । यस्तै, विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा हुन्डी कारोबार गर्ने गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

रिलायन्स सब रेमिटका सञ्चालक सुब्बा र लिम्बुले मलेसियाबाट नेपाल पठाउने र उक्त रकम नेपाल नल्याई नेपालमै एक ठाउँबाट अर्को ठाउँमा पठाएको फेला परेपछि विभागले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । विभागले यी दुईलाई तीन करोड ६६ लाख ८५ हजार रुपैयाँ बिगो कायम गरी त्यसको तीन गुणासम्म सजाय र तीन वर्षसम्म कैद सजाय माग गरेको छ ।

विभागले सुन कारोबारमा संलग्न अर्का तीन व्यापारिक फर्मका सञ्चालकलाई पनि राजस्व अपचलन गरेको आरोपमा एक करोड ४२ लाख ४५ हजार रुपैयाँ माग दाबी गरी मुद्दा दायर गरेको छ । विभागका अनुसार सिद्धि अर्नामेन्टका हनुमन्तशंकर चौभान, रोहित पटेल, दिपेशकुमार दायत, राजनकुमार गुप्ता र मनोहर साहलाई २१ लाख ८७ हजार, माँ दुर्गा ज्वेलरीका दिनेशप्रसाद साहलाई ६० लाख ६४ हजार रुपैयाँ र ओम ज्वेलर्सका रामबाबु साह र अनिलकुमार साहलाई ५९ लाख ९३ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

विभागका अनुसार चालु आवको माघसम्ममा राजस्व चुहावटका ५२ घटनामा अनुसन्धान गरी मुद्दा दायर गरिएको छ । विभागले राजस्व चुहावटको घटनामा एक सय ६७ जना व्यक्तिमाथि अनुसन्धान गरेर बिगो र जरिवानाबापत नौ अर्ब ३८ करोड रुपैयाँको माग दाबी गरेको छ । यस्तै, विभागले हुन्डी कारोबारका ३४ वटा मुद्दामा संलग्न रहेका ५९ जनालाई विदेशी विनिमय अपचलन तथा हुन्डीको कसूरमा चार अर्ब ८३ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको बताएको छ ।

मुद्दा र दाबी

– २४ व्यापारिक फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर

  • एक अर्ब ७५ करोड रुपैयाँ माग दाबी 

– दुईजना हुन्डी कारोबारीविरुद्ध मुद्दा दायर

  • तीन करोड ३६ लाख रुपैयाँ माग दाबी

– तीन सुन पसलविरुद्ध मुद्दा दायर 

  • एक करोड ४२ लाख रुपैयाँ माग दाबी  

प्रकाशित: २२ फाल्गुन २०७५ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App