७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

महाकाली नदीमा निर्माणाधीन पुल। तस्बिर : नागरिक

काठमाडौं – सुदूरपश्चिम प्रदेशलाई राजमार्गमार्फत भारतसँग जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण अघि बढेको छ। सवा तीन अर्ब रुपैयाँ लागतमा महाकाली नदीमा चार लेनको पुल निर्माण सुरु गरिएको हो।

भारतको उत्तराखण्ड हुँदै नयाँ दिल्लीसम्म सडक मार्गबाट जोडेर व्यापार र पारवहनमा सघाउन पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ। महाकालीबाट नयाँ दिल्लीको दुरी तीन सय ४५ किलोमिटर छ।

सुदूरपश्चिमलाई पक्की सडकमार्फत भारतसँग जोड्न पुल निर्माणको काम धमाधम भइरहेको महाकाली पुल योजनाका प्रमुख इन्जिनियर राजेश प्रसाद पौडेलले बताए। ‘महाकालीको पुल चाँदनी र दोधारासहित भारतसँग जोड्ने रणनीतिक महत्वको पुल हो,’ पौडेलले भने, ‘पुल निर्माणपछि भारतको उत्तराखण्डसँग जोड्ने बाटो खुल्छ।’

पौडेलका अनुसार तीन अर्ब २७ करोड ९३ लाख रुपैयाँमा पुलसँगै कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी भुजेल हुँदै महाकालीसम्म ६ लेनको सडक पनि निर्माण भइरहेको छ। ‘महाकाली नदीसम्म पुग्ने सात किलोमिटर सडक निर्माणको काम भइरहेको छ,’ पौडेलले भने, ‘कर्णालीलाई भारतसँग जोड्ने रणनीतिक महत्वको सडक हुनेछ।’ पुल निर्माणपछि भिमदत्त नगरपालिका र महाकाली नगरपालिका (साबिक चाँदनी र दोधारा गाविस) पनि सडक सञ्चालमा जोडिने छन्।

पुल निर्माणपछि नेपालबाट सडकमार्फत भारतको नयाँ दिल्ली पुग्ने सबैभन्दा छोटो मार्ग।

उत्तराखण्डसँग जोड्ने सडक निर्माणको विषयमा पनि भारतसँग छलफल भइरहेको पौडेलले बताए। ‘पुल निर्माणपछि सडकमार्फत भारतलाई जोड्न परराष्ट्रमार्फत भारतसँग छलफल चलिरहेको छ,’ पौडेलले भने।

सन् २०२० को सेप्टेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ। चाइनिज कम्पनी कुमार–सिएफइसी जेभीले काम गर्दै आएको छ। पहुँच मार्गमा पर्ने थप दुईवटा पुल निर्माणको काम पनि भएको छ। नदी नियन्त्रणका लागि बाँध निर्माणको कामसमेत भइरहेको योजनाले जनाएको छ।

भारतको उत्तराखण्डमा पर्ने उदमसिंह नगरको खटिमा बजारमा सडक जोड्ने योजना रहेको छ। एकीकृत भन्सार निर्माणका लागि सम्भाव्यता अध्ययन भइसकेको छ। भारत र नेपालको सीमा क्षेत्रमा सुक्खा बन्दरगाह, भन्सारलगायत अफिस राखेर दुई देशबीचको व्यापार अभिवृद्धि गर्न टेवा पुग्नेछ।

पुल निर्माणपछि उक्त नाका हुँदै सुदरपश्चिम र कर्णाली प्रदेशका लागि आयात गरिने सामान सोही क्षेत्रबाट आयात गर्न सघाउ पुग्नेछ। यसले भारतबाट आयात गरिने सामग्रीको ढुवानी लागत कम भई स्थानीयले सस्तो मूल्यमा पाउने छन्। त्यसैगरी, त्यस क्षेत्रमा उत्पादित वस्तुलाई भारत निकासी गर्न पनि सहयोग पुग्नेछ।

महाकाली नदीपारि भारतसँग जोडिएका साबिक दोधारा र चाँदनी (महाकाली नगरपालिका) अहिलेसम्म सडक पक्की सञ्जालले जोडिएको छैन। महाकाली नदीमा रहेको स्टिल पुलले ती दुई गाउँलाई जोडेको छ।

पुल निर्माण भएपछि नेपालबाट भारतको नयाँ दिल्ली पुग्ने सबैभन्दा छोटो दुरीको सडक हुने भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए। ‘महकालीबाट नयाँ दिल्ली पुग्ने छोटो मार्ग हो,’ विष्टले भने, ‘पुल निर्माणले समग्र सुदूरपश्चिम र कर्णाली प्रदेशले लाभ लिन सक्छ।’

महाकाली नगरपालिकामा सुक्खा बन्दरगाहको डिपिआर निर्माणको काम भइरहेको विष्टले बताए। ‘भारतीय पक्षसँग छलफल गरेर सडक कुन ठाउँबाट जाने भन्ने टुंग्याउनुपर्छ,’ विष्टले भने। यो सडक हुँदै भारतको नैनीताल जान पनि छिटो हुनेछ। नेपालीका लागि नैनीताल रोजगार गन्तव्य हो।

सुदरपश्चिम र कर्णालीका स्थानीयले नेपालगन्जको रुपैडिहा नाकाबाट भारतसँग आयात–निर्यात गर्दै आएका छन्। महाकालीको पुलले समग्र सुदूरपश्चिम र कर्णाली प्रदेशको व्यापारिक नाका खोल्ने महाकाली नगरपालिकाका प्रवक्ता रघुनाथ भट्टले बताए। ‘भारतसँगको व्यापार अभिवृद्धि गर्न यो पुल महत्वपूर्ण छ,’ भट्टले भने, ‘कर्णालीका जडीबुटी पनि यही सडकमार्फत भारत निकासी गर्न सकिन्छ।’ अहिले नेपालगन्जको रुपडिया नाका हुँदै भारतबाट सामान आयात तथा निर्यात भइरहेको छ। पुल निर्माणपछि भारतसँग जोड्ने सडक पनि छिटो निर्माण गर्नुपर्ने भट्टले बताए।

 

प्रकाशित: २० फाल्गुन २०७५ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App