२५ असार २०७७ बिहीबार
अर्थ

भारतीय कुखुरा र अण्डा भित्रँदा किसान मर्कामा

इलाका प्रहरी कार्यालय मंगलटारको सहयोगमा बिपी राजमार्गको मंगलटारमा निगरानी गर्दै पोल्ट्री कार्यदलका सदस्य। तस्बिर : नागरिक

बनेपा – बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) रोग फैलिएको मुलुकबाट जीवित पक्षी (कुखुरा, हाँसलगायत अन्य चरा जाति), त्यसको मासु, अण्डा र पक्षीजन्य उत्पादन सामग्रीसमेत नेपालभित्र पैठारी गर्न सरकारी प्रतिबन्ध रहँदै आएको छ। 

तर, भारतसँगको खुला सीमाको मौका उठाउँदै यतिखेर बर्डफ्लूग्रस्त घोषित स्थानबाट प्रतिबन्धित पक्षी (ब्रोइलर कुखुरा), मासु र अण्डा नेपालमा निर्वाध भित्रिरहेको व्यवसायीको गुनासो छ। 

‘पटक–पटकको बर्डफ्लूबाट आक्रान्त नेपाली किसान बल्ल तंग्रिन लागेको अवस्थामा रोगी कुुखुरा, चल्ला र अण्डा भित्रिएपछि यहाँ रोग त कहिल्यै पनि निख्रने भएन। यसले हाम्रो पोल्ट्री इन्डस्ट्री ध्वस्तै हुन्छ। प्रतिबन्ध नहटेको अवस्था अवैध पैठारी भइरहेकाले हाम्रो खबरदारी हो,’ नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले भने।

२०६३ असोज ६ गतेको नेपाल राजपत्रमा विश्व पशु स्वास्थ्य संगठन (ओआइई)ले बर्डफ्लू रोग फैलिएको सूचना प्रकाशित गरेको मुलुकबाट नेपालमा जीवित पक्षी, मासु र अण्डा भिœयाउन प्रतिबन्ध लगाएको थियो। त्यसमा केही संशोधन गर्दै २०७३ मंसिर २० मा पुनः प्रतिबन्ध कायमै राखियो। हालसम्म सो प्रतिबन्ध फुकुवा भएको छैन। 

पछिल्लो समय भारतको झारखण्ड, बिहार र ओडिसा राज्यमा बर्डफ्लू फैलिएको छ र ओआइईले ‘नोटिफिकेसन’मा भारतका ती राज्यलाई बर्डफ्लुग्रस्त तोकेको छ। नेपालको कानूनअनुसार ती राज्यमा उत्पादित कुखुरा तथा कुखुराजन्य पदार्थ प्रतिबन्धित भएकाले नेपाल ल्याउनु गैरकानुनी हुन्छ। तर, अवैध आयात नरोकिएको नेपाली व्यवसायीको गुनासो छ।

‘कच्चा सामग्रीको भाउ बढेसँगै दानाको भाउ बढ्दा यहाँका किसानको उत्पादन लागत पनि धेरै बढेको छ। सीमापारीका रोगी कुखुरा वारीपट्टि तराई क्षेत्रका खोरमा हुल्दै नेपाली भनेर सस्तोमा काठमाडौं पठाउने भएपछि हाम्रा किसानले प्रतिस्पर्धा गर्नै सकेनन्। त्यतिमात्रै नभई रोगसमेत सजिलैसँग भित्रने भएकाले हामीले निगरानीका लागि सरोकारवाला निकायलाई अनुरोध गरेका हौं,’ खत्रीले भने।

पोल्ट्री महासंघले पशु सेवा विभागमार्फत पशु क्वारेन्टाइन चेकपोस्टलाई अवैध कुखुरा तथा कुखुराजन्य पदार्थको पैठारीमा रोक लगाइदिन अनुरोध गरे पनि चेकपोस्टमा कार्यरत क्वारेन्टाइन अधिकृतले चाहेर पनि कडाइ गर्न नसकेको बताए। ‘अवैध कुखुरा चेकपोस्टको बाटो  हुँदै ल्याउँदैनन्। खुल्ला सीमा भएकाले अनेकौं बाटो हुँदै छिराउँछन्। कुखुरा र चल्ला तस्करी गरेर ल्याउनेसँग हामी सधैं त्रसित हुने गरेका छौं। उनीहरु जे पनि गर्न सक्छन्, कलम बोकेका हामीले केही गर्न सक्दैनौं,’ उनले सुनाए।

भारतबाट तस्करी गर्नेहरुले एउटा मोटरसाइकलमा ६ हजार वटासम्म चल्ला ल्याएको ती अधिकृतले दृष्टान्त दिए। ‘हामीकहाँ एउटा गाडीमा त्यतिका चल्ला अटाउन मुस्किल हुन्छ। हातहतियारसहित उनीहरु हिँडेका हुन्छन्। दुवैतिरको नागरिकता पनि हुन्छ। कृषि मन्त्रालयले गृहसँग राम्ररी समन्वय नगर्दासम्म क्वारेन्टाइनका अधिकृतले अवैध कुखुरा र कुखुराजन्य उत्पादन रोक्न सम्भव छैन,’ उनले थपे।

यसैबीच, अन्यत्रभन्दा सक्रिय भएकाले चितवनका पोल्ट्री व्यवसायीले रामनगरको पशु क्वारेन्टाइन चेकपोस्टमार्फत बरामद भएको नौ हजार पाँच सय अवैध ह्याचिङ अण्डा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको परिसरमा नष्ट गरेका छन्। तर, चितवनबाहेक अन्य जिल्लामा अवैध आयातित कुखुरा र अण्डा नष्ट गर्नेतर्फ स्थानीय व्यवसायीले नसकेको अवस्था रहेको छ। पोल्ट्री महासंघले यही तथ्यमा आधारित हुँदै काठमाडौं उपत्यका भित्रने तीनवटा प्रमुख नाकामा पशु सेवा विभाग र नेपाल भेटेरेनरी एसोसियसनको समन्वयमा अवैध कुखुरा तथा अण्डाको निगरानी गर्न तीनवटा कार्यदल गठन गरेको छ।

महासंघले नागढुंगा–खानीखोला नाकामा पद्मराज कोइराला, चोभार–दक्षिणकालीमा राजकुमार श्रेष्ठ र बनेपा–काभ्रेभन्ज्याङ नाकामा दयाराम महतको संयोजकत्वमा अवैध कुखुरा तथा कुखुराजन्य पदार्थ निगरानी कार्यदल गठन गरेको हो। कार्यदलले स्थानीय प्रशासन, प्रहरी, भेटेरेनरी अस्पतालका प्राविधिक तथा भेटेरेनरियनसँग समन्वय गर्दै निगरानी थालेको छ।

‘हामीले काभ्रे प्रशासन, प्रहरी र पशु सेवाको समन्वयमा बिपी राजमार्गको काभ्रे भन्ज्याङ र मंगलटारमा रातभरि निगरानी गर्‍यौं। सिन्धुली र उदयपुरबाट आएका केही गाडीबाहेक अधिकांश गाडीमा भारतीय कुखुरा नै थिए,’ काभ्रे कार्यदलका संयोजक एवं पोल्ट्री व्यवसायी मञ्च नेपालका महासचिव दयाराम महतले भने। 

सो क्रममा विभिन्न सप्लायर्सका नाममा सिराहा, सप्तरी, सर्लाही र धनुषाबाट ल्याइएका ब्रोइलरको जात पनि नेपालको भन्दा भिन्न अर्थात कब–४०० जातको भेटिएको उनको भनाइ छ। ‘नेपालमा शतप्रतिशत कब–५०० जातको ब्रोइलर पालन हुने गरेको छ। यसबाट पनि कुखुरा अवैध ल्याउने क्रम नरोकिएको पुष्टि भएको छ। उनीहरुले नक्कली भेटेरेनरी प्रमाणपत्र पनि साथमै ल्याएर चेकपोस्टका प्रहरीलाई समेत छक्याइरहेका पायौं,’ महतले थपे। 

सरकारले रोगव्याधिको ओहोरदोहर हुन नदिन र उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलब्ध गराउन पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशुपक्षीको ओसारपसारका क्रममा भेटेरेनरी प्रमाणपत्र अनिवार्य साथमा हुनुपर्ने नियम बनाएको छ। तर, यस्तो प्रमाण पत्र जारी गर्ने अधिकार नेपाल पशु चिकित्सा परिषदमा दर्ता भएका पशु चिकित्सक (भेटेरेनरियन)लाई मात्रै छ। 

नेपाल भेटेरेनरी एसोसियसनले गैह्र भेटेरेनरियनले समेत नक्कली भेटेरेनरी प्रमाणपत्र जारी गर्दै कुखुराको अवैध आयातमा सहयोग गरेको भन्दै कानूनअनुसार कारबाहीका लागि स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको मद्दत मागेको छ। ‘गैह्र भेटेरेनरियनलाई कानुनअनुसार कारबाही गर्न प्रशासनलाई अनुरोध गरिएको छ। साथै दर्तावाल भेटेरेनरियनले पनि जानीजानी पेसागत मर्यादा र आचरणविपरीत अवैध आयातमा सहयोग गरेको प्रमाणित भएमा पशु चिकित्सा परिषदबाट कारबाही हुने बेहोरा जानकारी गराइन्छ,’ महासचिव डा. गृष्म न्यौपानेले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाललाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको साढे ८६ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको महासंघले जनाएको छ। कूल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशतले योगदान गरेको पोल्ट्री क्षेत्रले चार लाखको हाराहारीमा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गरिरहेको बताइन्छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App