८ वैशाख २०८१ शनिबार
अर्थ

विकासका लागि सडक ‘कनेक्टिभिटी’

वीरगन्जमा बुधबार आयोजित विकासशील मधेसमा सडक सम्पर्कको अर्थ राजनीति विषयक गोष्ठीमा सहभागी ।  तस्बिर : रितेश त्रिपाठी/नागरिक

वीरगन्ज – विकासका लागि सडक सम्पर्क सबैभन्दा महत्वपूर्ण पक्ष रहेको विज्ञहरुले औल्याएका छन् । ती सडक निर्माण गर्दा आपेक्षा गरिएका विकाससँगै पर्ने अनपेक्षित प्रभावको समेत मूल्यांकन हुनुपर्ने धारणा वीरगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले राखेका छन् । 

‘भौतिक विकास र मानवीय विकास दुवैमा पछाडि रहेको भूभाग हामीलाई हाम्रो चाहनाभन्दा फरक किसिमले प्रदेशको रुपमा दिइयो,’ विकासशील मधेसमा सडक सम्पर्कको अर्थ राजनीति विषयक गोष्ठीमा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘तर अब गुनासो मात्र कति दिन पोखिराख्ने हामी विकासका लागि आफै अघि सर्नुपर्छ ।’ प्रदेश २ मा प्रदेश सरकार मातहतका सडक वृक्षरोपण तथा आवश्यक ठाउँमा नालासहित बनाउने नीति नियम बनाउन लागेको मुख्यमन्त्री राउतले बताए । मानव विकास सूचकांकमा पछाडि रहेको प्रदेशलाई अगाडि बढाउन खोजिरहेका बेला संघीय सरकारले क्षेत्राधिकारमा चलखेल गरेर समस्या भएको उनले बताए । 

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका विकास योजनामा चाँसो लिएपछि प्रतिफल राम्रो आउने अनुभव सुनाए । नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति अजय कुमार द्विवेदीले तराईका मुख्य बसोबास क्षेत्रबीचबाट रेखांकित गएिको हुलाकी राजमार्ग नबनाएर राजा महेन्द्रको प्रत्यक्ष चाँसोमा वन फडानी गरेर महेन्द्र राजमार्ग बनाइएपछि त्यसको दुश्प्रभाव अहिलेसम्म तराई मधेसले भोगिरहेको बताए । उक्त योजनाले काठ बेंचेर दरबारियालाई फाइदा भए पनि स्थानीयलाई र पहाडका मानिसलाई कुनै फाइदा नभएको उनको भनाइ छ । 

वीरगन्जको ठाकुराराम बहुमुखी क्याम्पसको समाजशास्त्र विभागको आयोजनमा भएको कार्यक्रममा बेलायतका अवकाशप्राप्त प्राध्यापक डेविस सेडोले विकासको नाममा सहयोगकर्ताको स्वार्थपूर्ति हुने वा दुरगामी रुपमा अनपेक्षित परिणाम आउने सम्भावनासमेत रहन सक्ने भएकाले त्यो पक्ष विचारणीय रहेको बताए । समाजशास्त्री युवराज निरौलाले विकास वा समृद्धि भन्ने शब्द चयनमै राजनीतिक दलहरु अल्मलिएको बताए । उनले राजनीतिक प्रतिबद्धताअनुसार योजना आइदिए देश समृद्ध हुने बताए । प्रदेश २ को सवालमा दलित, महिला र मुस्लिमलगायत पछाडि परेको समुदायको जीवनस्तर उकासिएमात्र विकासको अर्थ सार्थक हुने निरौलाको भनाइ थियो । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, उपप्रध्यापक शुष्मा द्विवेदी मानव अधिकारकर्मी कृष्णचन्द्र लामिछाने लगायतले बोलेका थिए । 

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App