coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फेसबुकमा चिनजान, बैंकमा रकम

काठमाडौं – करिब दुई वर्षअघि आफूलाई पोर्चुगलमा बसोबास गरिरहेकोे बताउने विनिता लामाले आङदोमा शेर्पालाई फेसबुकमा साथी बनाउन ‘रिक्वेस्ट’ पठाइन्। 

पोर्चुगलमा न आफन्त न साथी नै भएकी रामेछाप, रसनालु–३ की आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्ने अप्ठेरो लाग्यो। त्यसैले उनले केही समयसम्म विनिताको ‘रिक्वेस्ट’ स्वीकार गरिनन्। 

लामो समयसम्म साथी नबनेपछि विनिता आङदोमा बस्दै आएको बालाजुमै पुगिन्। र, उनीहरूबीच प्रत्यक्ष चिनजान भयो। नुवाकोट, सुनाखानीकी विनिता र आङदोमाको सुरुको भेट निकै रोमाञ्चक भयो। किनकि त्यो भेट केवल दुई व्यक्तिको चिनजानका लागि मात्र थिएन। उनीहरूबीच जीवनलाई कसरी सुखी र खुशी राख्नेसम्मको छलफल भयो। विनिताले वैदेशिक रोजगारीले व्यक्तिको जीवनमा पार्ने प्रभाव र सहजताको कुरा बताउँदा आङदोमालाई पहिलो भेट नै निकै रमाइलो लाग्यो। 

विनिताले रोजगारीका लागि पोर्चुगल निकै राम्रो गन्तव्य रहेको र राम्रो पारिश्रमिक पाइने समेत प्रलोभन दिन भ्याइसकेकी थिइन्। दैनिक गुजारा चलाउन राजधानीको एक होटलमा काम गर्दै आइरहेकी आङदोमा र विनिताबीच केही समयमै सम्बन्ध गाढा रुपमा विस्तार भयो।  आङदोमाको इच्छा भए विनिताले रोजगारीका लागि पोर्चुगल लैजान तयार रहेको समेत सुनाइन्। 

विनिता लामाले पोर्चुगल पठाउने भन्दै एक दर्जन युवायुवतीसँग ५५ लाख रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी परेको छ

काठमाडौंको होटलमा काम गर्दा मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउने गरेको बेला बिनिताले पोर्चुगल जान पाइने गरेको प्रस्ताव आङदोमाका लागि निकै आकर्षक थियो। पोर्चुगलको बसाइँ सुरक्षित हुनुको साथै मासिक पारिश्रमिक एक लाख रुपैयाँभन्दा बढी हुने कुरा सुन्दा आङदोमालाई झन् कहिले विदेश जाऔं जस्तो भयो। 

विनिताले पोर्र्चुगल गएको केही समयपछि श्रीमान र छोराछोरीलाई समेत लैजान सक्ने अर्को प्रलोभन थपिन्। यतिमात्र होइन आफू लामो समयदेखि पोर्चुगलमा बस्दै आएको र अरु साथी भए पनि लान सक्ने विनिताले आङदोमालाई सूचना दिइन्।  काठमाडौंको दैनिकी गुजार्न कठिन भइरहेको बेला पोर्चुगलको रोजगारी र पारिश्रमिकको प्रस्तावले आङदोमाको मन तरंगित भयो। यता त्यस्तो प्रस्ताव गर्ने विनिता त्यतिबेलासम्म सम्पर्कविहीन भइसकेकी थिइन्। तर, फोन र अन्य माध्यमबाट कुराकानीको क्रम भने विनिताले जारी राखिन्। 

विनिताले भने अनुसारको पोर्चुगल जान लाग्ने रकम जोहो गरेपछि आङदोमा र उनका साथीहरूले त्यो रकम विनिताले भनेकी व्यक्ति पार्वती तामाङको नाममा रहेको बैंक खातमा जम्मा गरिदिए। ‘विनिताले विदेशी नम्बरबाट पटकपटक फोन गरेर पोर्चुगल आएपछि सँगै बस्नु पर्छ भन्ने बताएकीले कतिबेला उडौं जस्तो लाग्थ्यो,’ आङदोमाले नागरिकसँग भनिन्, ‘रकम लिएको लामो समयसम्म पोर्चुगल उड्न नपाएपछि खोजी गर्दा विनिता काठमाडौंमै फेला परेपछि मात्र ठगीमा परेको खुल्यो।’ 

विनिताले पोर्चुगल लोभ देखाउनुको कारण युवायुवतीलाई ठग्न सहज होस् भन्नका लागि  रहेको खुलेको छ। ‘पोर्चुगलको लोभ देखाएपछि ठूलो रकम ठगी गर्नलाई रहेछ,’ अर्की पीडित धादिङ, गंगाजमुना–६ की धनमाया घलेले भनिन्। ‘विनिताले पोर्चुगलबाट फोन गरेको बताउने गरेपनि उनी भारतमा बस्दी रहिछन्,’  पीडितमध्येका अर्का सिन्धुपाल्चोक, भोटेकोसी–१ का अशोक तामाङले भने। ‘भारतमा बसेर विनिताले पटकपटक पोर्चुगल छु  भन्दा विश्वास लाग्यो,’ उनले भने, ‘अहिले त्यो विश्वासले  घर न घाटको बनाएको छ।’ भारतमा बसेर पोर्चुगलमा रहेको बताउँदै विनिताले दर्जन बढी युवायुवतीसँग रकम असुल गरेकी थिइन्। रकम असुल गरेपछि मात्र काठमाडौं फर्केको पीडितको भनाइ छ। 

विनिताले पोर्चुगल पठाउने भन्दै एक दर्जन युवायुवतीसँग ५५ लाख रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्नुपर्ने आवाज उठ्दै आए पनि ठगी भने अनेक तरिकाले हुने क्रम जारी छ। वैदेशिक रोजगारीको क्रममा पीडित हुनेहरूलाई कानुनी सहायता प्रदान गर्दै आइरहेको मानव अधिकारका लागि जनमञ्चका अधिवक्ता सुदीप देवकोटाका अनुसार वैदेशिक रोजगारीको नाममा ठगी हुनेको संख्या घट्नुको साटो ठगीमा अनेक रुप देखिने क्रम जारी छ। 

‘दलालले कसैलाई युरोपको प्रलोभन देखाउँछन् त कसैलाई निकै राम्रो पारिश्रमिक पाइने जागिर देखाउँछन्,’ देवकोटाले भने, ‘वैदेशिक रोजगारीको क्रममा दैनिक १०–१२ जना पीडितलाई कानुनी सहायता प्रदान गर्नु सामान्य जस्तै भइसकेको छ।’ ठगी गर्नेहरूले सुरुमा विभिन्न माध्यमबाट सम्बन्ध विस्तार गरेर युवायुवतीलाई विश्वासमा लिने र अन्तिममा धोक दिने गरेको देवकोटाको अनुभव छ। 

विभागका कानुन निर्देशक राजेश्वर अर्याल वैदेशिक रोजगारीको नाममा भइरहेको ठगी देख्दा जनचेतना पर्याप्त छैन कि जस्तो लाग्ने गरेको बताउँछन्। ‘दलालले कोरिया पठाउने नाममा समेत ठगी गरेको भन्दै उजुरी पर्ने गरेका छन्,’ उनले भने, ‘जबकि कोरिया पठाउने माध्यम केवल सरकारी निकाय मात्र हो भन्नेबारेमा सर्वसाधारणलाई जानकारी नै हुँदैन।’ दलालले गुलिया र मीठा कुरा सुनाएर पछिल्लो समयमा टर्की, पोर्चुगल, पोल्यान्डजस्ता देशको नाममा अत्यधिक ठगी हुने गरेको अर्यालको भनाइ छ। विभागका अनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै एक हजार एक सय उजुरी परेका छन्।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App