२३ असार २०७७ मंगलबार
अर्थ

स्ट्रबेरी खेतीको अनुसन्धान

डा. राजेन्द्र गौतम 
स्ट्रबेरी स्वादिलो मात्र नभएर पौष्टिक गुणले भरिपूर्ण हुन्छ। यसमा पर्याप्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले मानिसलाई रोगसँग लड्ने क्षमता प्रदान गर्नुका साथै समय अगावै बुढो देखिने समस्यालाई कम गर्न मद्दत गर्छ। नेपालमा व्यावसायिक स्ट्रबेरी खेतीको इतिहास अत्यन्तै छोटो छ।

दुई दशकअगाडि जाइती नेपालले जापानी जातका बिरुवा ल्याएर नुवाकोटको ओखरपौवामा यसको खेती गरेको थियो। यसपछि नेपालमा स्ट्रबेरी व्यावसायिक खेती सुरु भएको हो। हाल यसको उत्पादन नुवाकोट बाहेकका अन्य केही जिल्लामा फाट्टफुट्ट हुने गरेको छ। विशेषगरी यसको खेती ओखरपौवा मै सीमित छ भन्दा फरक पर्दैन। नेपालमा स्ट्रबेरीको विकास र विस्तार गर्न सके हजारौं युवालाई रोजगारी दिन सकिन्छ। यही तथ्यलाई मनन गरेर नेपाली कृषि वैज्ञानिकहरुले नेपालकै विभिन्न ठाउँमा यसको खेतीका लागि अनुसन्धान सुरु गरेका छन्। 

बजारमा माग हुँदाहुँदै पनि नेपालमा यसको खेती विस्तार किन हुन सकेन भन्ने प्रश्नको जवाफ खोज्न जरुरी छ। यसो हुनुका मुख्य दुई कारण छन्। पहिलो, हाल नेपालमा खेती हुँदै आएका जात जापानी हुन र यी जातले तुलनात्मक हिसाबले चिसो हावापानी मन पराउँछन्। गर्मी ठाउमा उत्पादन गर्दा यी जातका फलको स्वाद खल्लो हुन्छ। त्यसैले यी जातलाई कम उचाइ भएका ठाउँमा लगाउन उपयुक्त हुँदैन। दोस्रो कारण हो, यसको प्रसारण वनस्पतीय विधिबाट गरिन्छ। प्रसारण गर्दा प्रयोग गरिने माउ बोट जातीय रुपले शुद्ध हुनुका साथै रोग र किराबाट मुक्त हुन जरुरी छ। 

नेपालका कृषकले आफ्नो खेतबारीमा फल उत्पादनका लागि प्रयोग गरेको बिरुवालाई नै नयाँ बिरुवा उत्पादनका लागि प्रयोग गर्ने प्रचलन छ। यसो गरिँदा एकातिर जातीय गुणहरु क्रमशः क्षय हुँदै जान्छन् भने अर्कोतिर रोग र कीराको पनि प्रसारण भई फल उत्पादनमा उल्लेख्य कमि आउने समस्या हुन्छ। यसैले फल दिने बोटबाट नभएर तन्तु प्रजननबाट तयार गरिएका स्वस्थ माउ बोटलाई बिरुवा उत्पादन गर्ने अत्याधुनिक नर्सरीमा प्रसारण सम्बन्धी प्राविधिक ज्ञान भएको विज्ञबाट गर्नुपर्ने हुन्छ। भौगोलिक अवस्थिति र वातावरण सुहाउँदो जात उपलब्ध नहुनु र यसको खेतीका लागि आवस्यक प्राविधिक सेवा उपलब्ध नहुन नै  नेपालमा स्ट्रबेरीको विस्तार हुन नसक्नुका मुख्य कारण हुन्।  

नेपालमा यसको सम्भावनाको अध्ययन गर्दा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान र प्रविधिको विकास कहाँ पुगेको छ भनेर चर्चा गर्नु जरुरी हुन्छ। दुई दशकलाई नियालेर हेर्ने हो भने जैविक प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएका छन्। जसले हिजो असम्भव नभएका थुप्रै कुरालाई आज सम्भव बनाइदिएको छ। स्ट्रबेरी आफैंमा चिसो हावापानीमा फस्टाउने बाली भए पनि जैविक प्रविधि विकासले यसका विभिन्न जातलाई तुलनात्मक रुपमा गर्मी मानिएका ठाउँमा समेत उत्पादन गर्न सम्भव हुने बनाएको छ। फलस्वरुप वातावरणीय दृष्टिकोणले उष्ण मानिएका विश्वका कैयौं ठाउँमा स्ट्रबरी उत्पादन सफल भएको छ। विश्वका अन्य ठाउँमा भएको उत्पादनलाई हेर्ने हो भने नेपालका भित्री मधेस, उपत्यकालगायत तराईमा पनि यसको उत्पादन गर्न सकिने सम्भावना छ।

यही सम्भावनालाई हेरेर विभिन्न संस्थाको सहकार्यमा नेपालमा स्ट्रबेरीको अनुसन्धान अगाडि बढिराखेको छ। यो अनुसन्धानमा कृषि तथा वन विश्वविद्यालय, रामपुर पनि संलग्न छ। अनुसन्धानमा संयुक्त राज्य अमेरिकामा विकास गरिएका तीन जात र उरुग्वेमा खेती गरिएका दुई जात समावेश छन्। यी जातहरु नेपालको मध्य पहाडी भेग र कम उचाइ भएको भूगोलको हावापानी सुहाउँदो जात हुन्। यो अनुसन्धान ललितपुर, पोखरा, धरान र बिराटनगर गरेर चार ठाउँमा जारी छ।

यो अनुसन्धानको नतिजा हेरेर अहिले नै कुनै अन्तिम निस्कर्ष निकाल्ने समय भएको छैन। हालसम्मको अवस्था हेर्दा केही निस्कर्ष भने पक्कै निकाल्न सकिन्छ। अनुसन्धानमा संलग्न पाच जातमध्ये दुईवटा जातले अत्यन्त राम्रो नतिजा देखाएका छन्। ती दुई जातमा नेपालमा खेती गरिएको जापानी जातको तुलनामा रोग र किरासँग लड्न सक्ने क्षमता बढी देखिएको छ। हालसम्मको अवस्थामा यी दुई जातले काठमाडौं र पोखराको तुलनामा बिराटनगर र धरानमा राम्रो नतिजा देखिएको छ। बिस्तारै तापक्रम बढ्दै जाँदा काठमाडौंमा पनि यी जातहरुले राम्रो नतिजा दिने अपेक्षा गरिएको छ। यस अनुसधानको प्रारम्भिक नतिजाले ओखरपौवामा मात्र सीमित भएको भुइकाफललाई नेपालको मध्य पहाडी भूभागलगायत तराईमा समेत खेती गर्न सकिने गरी नयाँ सम्भावनाको ढोका खोलिरहेको छ।

अनुसन्धानको सफलतासँगै भोलिका दिनमा स्वस्थ र जातीय रुपले शुद्ध बिरुवाको आवश्यकता बढ्दै जाने देखिन्छ। यसका बिरुवा विदेशबाट ल्याउनुपर्ने बाध्यता भएका कारण नेपाली कृषकको परनिर्भरता पनि अझ बढ्दै जाने सम्भावना देखिन्छ र त्यही अवस्थालाई मध्यनजर गरेर अनुसन्धानमा संलग्न दुई कम्पनीले छिटै नर्सरी स्थापना गरी कृषकलाई सुपथ मूल्यमा स्वास्थ बिरुवा प्रदान गर्ने लक्ष्य छ। नेपालमा यसको उद्योगको विकासका निम्ति अनुसन्धान सबैभन्दा महŒवपूर्ण पाटो हो र यो निरन्तर हुन जरुरी हुन्छ।

प्रकाशित: १२ फाल्गुन २०७५ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App