१६ चैत्र २०८० शुक्रबार
अर्थ

वन्यजन्तुले किसान आजित

रौतहट - धर्मपुरका गहुँ किसान राम विनय यादव वन्यजन्तुले बालीनाली खाइदिएर हैरान पारेको भन्दै नियन्त्रण गरिदिन आग्रह गर्दै गढीमाई नगरपालिका प्रमुखको कार्यकक्षमा पुगे। नगर प्रमुख श्यामप्रसाद यादवले नगरपालिकाको सीमाक्षेत्रमा कतै पनि वनजंगल नभएकाले प्रमुख जिल्ला अधिकारी र वन कार्यालयलाई नसोधी केही गर्न नसक्ने बताए।

धर्मपुरभन्दा कम्तीमा १० किलोमिटर टाढा राष्ट्रिय वन रहेको छ। उक्त वनबाट नीलगाई र बँदेल आएर भारतको सीमासम्मका किसानका खेतमा गएर बाली खाइदिन थालेका छन्। विशेषगरी बागमती र लालबकैया नदीको किनारै किनार भएर भारतको सीमासम्म पुगेर वन्यजन्तुले बालीनाली नष्ट गर्न थालेपछि स्थानीय सरकारदेखि प्रदेशसभा सांसद र संघीय सांसदसम्मलाई बालीनाली जोगाइदिन हारगुहार गर्न थालेका छन्।

धर्मपुरका राम विनय यादव त एकजना प्रतिनिधि पात्र मात्र हुन्। बागमती नदी किनारको वृन्दावन, गढीमाई, माधवनारायण, राजदेवी नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका साथै लालबकैया नदी किनारका फतुवा विजयपुर, गुजरा, कटहरिया, मौलापुर, बौद्धीमाई, देवाही गोनाही, परोहा, ईशनाथ, राजपुर, परोहा तथा गौर नगरपालिकाका हजारौं किसानलाई वन्यजन्तुले सताउन थालेको छ। दुईदेखि ५० सम्मको झुन्डमा आउने नीलगाईले एक पटकमा १० कट्ठा खेतमा लगाएको बाली खाइदिने गरेको बौद्धिमाई नगरपालिकाका अमन पटेलले बताए।

नदी किनारको गहुँ, मसुरो, खेसरी तथा तरकारी बालीमा नीलगाईले ठूलो क्षति पु-याइरहेको छ। त्यस्तै बँदेलले आलु बाली खोजीखोजी खाने गरेको वृन्दावन नगरपालिकाका बैजु पटेलको भनाइ छ। गढीमाई नगरपालिका नरेन्द्र ठाकुरले चार कट्ठा खेतमा लगाएको आलु बँदेलले नष्ट पारेको बताउँछन्। दिउँसो नीलगाई र राती बँदेलले किसानको खेतमा बाली खाइदिन थालेपछि किसान हैरान छन्।

किसानको चिन्ताप्रति स्थानीय सरकार उदासिन रहेको आरोप किसानले लगाएका छन्। धर्मपुरका राम विनय नगरपालिकाले आफ्नो खेतको मालपोत र खरिद–बिक्री कर लिने गरेकाले खेतको सुरक्षा पनि नगरपालिकाले नै गर्नुपर्ने बताउँछन्। स्थानीय सरकार वन्यजन्तुले बाली विनाश गरिरहेको देखेर पनि नियन्त्रणका लागि कुनै पहल नगरेकामा किसान आक्रोशित छन्। किसान र स्थानीय सरकारले पनि पटक पटक वन्यजन्तुले किसानको परिश्रम र लगानी खाइदिने गरेको गुनासो आएपछि प्रदेशसभा साँसद कुन्दन कुशवाहाले प्रदेशसभामा आफूले आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। किसानको बालीको सुरक्षा गर्ने काम पनि सरकारको भएकाले जनप्रतिनिधिको नाताले सम्बन्धित निकायलाई नियन्त्रणका लागि पहल गर्न भनेको र प्रदेशसभामा पनि आवाज उठाउने बताए।

वन्यजन्तु नियन्त्रण गर्नु वन कार्यालयको काम भएको भन्दै किसानको खेतको बालीमा वन्यजन्तुले पु-याएको क्षतिपूर्ति पनि वनले नै तिर्ने कानुनी व्यवस्था रहेको छ। कानुनी व्यवस्था भए पनि सर्वसाधारण किसानको पहुँचभन्दा टाढाको नियम कानुन भएकाले किसानलाई अत्यधिक क्षति बेहोर्नु परेको प्रदेशसभा साँसद कुशवाहाले बताए।

किसानको समस्या अति नै महत्वपूर्ण रहेकाले वन कार्यालय तथा सरकारका अन्य निकायले जसरी पनि वन्यजन्तु नियन्त्रण गर्नुपर्ने नेकपा प्रदेश २ अध्यक्ष एवं साँसद प्रभु साहले बताए। किसानका समस्याबाट सरकार पन्छिन नसक्ने बताउँदै साँसद साहले समस्या समाधान गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। हजारौंको संख्यामा वन्यजन्तु वन क्षेत्रबाट टाढा पुगेर बालीनाली नष्ट गरिरहँदा पनि नियन्त्रण गर्ने निकाय आँखा चिम्लेर बस्न नमिल्ने बताउँदै साँसद साहले सम्बन्धित निकायले नियन्त्रण नगरे किसानले आन्दोलन गर्ने चेतावनी दिए।किसानको खेतबारी दिनदहाडै उजाड पार्दा समेत चुप लागेर बस्ने सरकारले देशमा कृषि उत्पादन नबढेकामा चिन्ता गर्न नसुहाउने काँग्रेसका नेताको भनाइ छ। सरकारले कृषि उत्पादनमा जोड दिनु राम्रो हो तर किसानको बालीनालीको संरक्षण पनि गर्नुपर्ने सरकारको नैतिक दायित्व भएको नेताहरुको भनाइ छ।

प्रकाशित: १२ फाल्गुन २०७५ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App