८ वैशाख २०८१ शनिबार
अर्थ

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

काठमाडौं – बिहीबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ६३ हजार तीन सय थियो। अहिले बढेको सुनको मूल्य ५ वर्ष पछिको उच्च मूल्य हो। २०७० भदौ १२ गते यसरी नै सुनको मूल्य ६३ हजार तीन सय पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा घरेलु बजारमा यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। चाइना र अमेरिकाको व्यापारिक युद्ध र अमेरिकामा लागेको संकटकालका कारण डलर कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य  बढेको हो।

‘पछिल्लो समय अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताहरू सुनमा लगानी गर्न आकर्षित भएका छन’, उनले भने, ‘अन्तर्राष्ट्रिय ट्रेड बजारमा पछिल्लो समय सुन सुरक्षित लगानीको क्षेत्र बनेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन साढे १३ सयसम्म पुग्ने अनुमान गरिएको छ । यस्तो भएमा र अमेरिकी डलरको मूल्य यही अवस्था रहे भारतीय रुपैयाँ कमजोर नबने अझै चार–पाँच सयले सुनको मूल्य थपिने छ।

अमेरिकामा लागेको संकटकालले अन्य आर्थिक परिसूचकसमेत कमजोर बनाएको छ। बुधबार एक्कै दिन प्रतिऔंस सुनको मूल्य १४ डलरले बढेर एक हजार तीन सय ४३ डलर पुगेको थियो। आज बिहीबार सुनको मूल्य चार अमेरिकी डलरले घटेको छ भने अमेरिकी डलर सटहीदर पनि घटेको छ। सोही कारण बुधबारभन्दा आज दुई सय रुपैयाँले मूल्य घटेको हो।

सुन महँगो हुँदा बजार सुनसान
पछिल्लो समय बजारमा सुनको मूल्य बढ्न थालेपछि सुन बजार सुनसान भएको व्यवसायीहरूले बताएका छन् । फागुन विवाहको सिजन भए पनि दैनिक कोटाको सुनले नै धानेको पूर्वअध्यक्ष शाक्यले बताए। ‘अघिल्ला वर्षहरूमा यति बेला दैनिक ६० किलो जति सुन बिक्री हुन्थ्यो,’ उनले भने ‘अहिले बजार आधामा खुम्चिएको छ।’ आठ–१० तोला सुन बजारमा पुरानो सुन पनि आउने गरेको उनले बताए। मूल्य बढेका कारण बजारमा कारोबार   मन्दी आएको छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App