१६ चैत्र २०८० शुक्रबार
अर्थ

अनुमति नपाउँदा जापान उडान सर्‍यो

फाइल तस्बिर

काठमाडौं – जापानले अनुमति दिन ढिलाइ गरेपछि नेपाल वायुसेवा निगमको नेपाल–जापान उडान पछाडि धकेलिएको छ। निगमले फेब्रुअरी पहिलो सातादेखि वाइड बडी विमान काठमाडौं–ओसाका उडान गर्ने योजना गत कात्तिकमा सार्वजनिक गरेको थियो। 

त्यसैगरी निगमका कार्यकारी अध्यक्ष मदन खरेलले मंसिर ९ गतेको  संघीय संसदको सार्वजनिक लेखा समितिमा समेत फेब्रुअरी पहिलो साता वाइड बडी विमान जापान उडाउने प्रतिवद्धता गरेका थिए। निगमले सोहीअनुरुप काम गरे पनि जापानले अनुमति दिन ढिलाइ गरेपछि जापान उडान अन्योल भएको छ।

‘जापानबाट उडान अनुमति नपाउँदा उडानमा ढिलाइ भइरहेको हो,’ निगमका प्रवक्ता नवराज कोइरालाले भने, ‘जापानले अहिले कागजपत्र पुनरवलोकनको काम गरिरहेको छ।’ उनका अनुसार जापानले फेब्रुअरीभित्र कागजपत्र पुनरवलोकन सकेर अनुमति दिन्छ। अनुमति पाएको करिब एक महिना निगमलाई आन्तरिक तयारी गर्न लाग्छ। त्यसैले निगमको जहाज मार्च अन्तिम वा अप्रिल पहिलो साता मात्रै जापान उडाउन सकिने अनुमान निगमले गरेको छ।

जापानसँगै गन्तव्य विस्तारको क्रममा निगमले चीनको ग्वान्झाओमा पनि उडान गर्ने योजना अघि सारेको थियो। जापान उडाएलगत्तै ग्वन्जाओ उडान गर्ने योजना बनाएको निगम त्यहाँको पनि अनुमतिकै पर्खाइमा छ।

निगमले चीनको ग्वन्जाओमा उडान अनुमतिका लागि मंसिर १६ गते औपचारिक निवेदन पेस गरिएको थियो। त्यस्तै जापानको ओसाकामा उडान अनुमतिका लागि पुस ३ गते औपचारिक निवेदन दिइएको थियो। जापान उडानका लागि यसअघि ओसाका अन्तर्राष्ट्रिय विमानस्थलका एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउले सहितको टोली र निगमका पदाधिकारीबीच गत मंसिरमा छलफल भएको थियो। त्यसबेला उक्त टोलीसँग सकारात्मक वार्ता भएकाले उडान अनुमति सजिलै पाउनेमा निगम ढुक्क रहेको कार्यकारी अध्यक्ष मदन खरेलले बताउँदै आएका थिए। सोही अनुसार निगमले जापानको ओसाकाका लागि स्टेसन खोल्नेदेखि कर्मचारी नियुुक्तिसम्मको काम गरेको थियो। तर, पछिल्लो समय जापानले उडान अनुमति दिन ढिलाइ गरेपछि निगमको योजना नै अन्योलमा परेको छ। जापानको ओसाकामा निगमले यसअघि पनि उडान गरेको थियो।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्ने दुई सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, एक सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन्। दुईवटा वाइड बडी भने गत असार र साउन खरिद गरेर ल्याइएको हो। लामो अन्तर्राष्ट्रिय दूरीमा उडान गर्न ल्याइएका यी जहाज गन्तव्य नपाउँदा न्यारो बडी जहाजले उडान गरिरहेको ठाँउमा उडान गरिरहेका छन्।
हाल यी जहाज दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्लीलगायत छोटो दूरीका गन्तव्यमा उडिरहेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App