coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री

सोलुखुम्बुको पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री राई। तस्बिर : नागरिक

सोलुखुम्बु –  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्तालेमा भ्यू टावर निर्माणका लागि एक करोड विनियोजन गर्ने आश्वासन दिएका छन्। गत माघ २७ गते हिउँ खेल्नका पत्ताले आइपुगेका राईले पत्तालेको बृहत्तर विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए। 

करिब एक घण्टाको बसाइमा हिउँमा फोटो खिचाएका राईले पत्तालेको सम्भावनाबारे स्थलगत रुपमा बुझ्न पाएको र पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा नै एक करोड रकम भ्यू टावर निर्माणका लागि विनियोजन गर्ने आश्वासन दिएको हिमाली होमस्टेका संचालक प्रकाश मगरले बताए। मगरले भने, ‘मुख्यमन्त्रीले पत्तालेको संभावना र सुन्दरता बुझेर प्रदेशलले सहयोग गर्छौ भन्नुभएको छ। हामी आशाबादी छौ।’ भ्यूटावर निर्माण हुन सके आन्तरिक तथा बाह्रय पर्यटनकलाई पत्तालेले अझ लोभ्याउन सक्ने मगरको भनाई छ। मुख्यमन्त्री राई ओखलढुंगाको एक व्यवसायको उद्घाटनको क्रममा हिमाली दृष्य निहाल्नका लागि पत्ताले ओर्लिएका थिए।
तत्कालिन जिल्ला विकास समितिले तयार पारेको पर्यटन गुरुयोजनामा पत्तालेमा भ्यू टावर बनाउने विषय समाबेश गरिएपनि योजना अघि बढ्न सकेको छैन्। पर्यटकीय संरचनाको हिसावले पत्ताले कमजोर देखिएको छ। भ्यू टावर निर्माण हुन सके दर्जनौ हिमाल आँखै अघि देख्न सकिन्छ भने चैत्र–बैशाखमा विभिन्न रंगमा फुल्ने लालीगुराँससंग रम्न पाईन्छ।

ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सिमानामा अवस्थित पत्ताले नजिकबाट सर्वोच्च शिखर सगरमाथालाई नियाल्न सकिने सीमित स्थानमध्येको एक हो। आँखै अघिल्तीर सगरमाथा लगायतका हिमश्रृखंला देख्न सकिने भएकाले पनि अघिल्लो वर्षको तुलनामा यो बर्ष पत्ताले पुग्ने आन्तरिक पर्यटक बढेको छ।  यो बर्ष चार पटक हिउँ परेकाले पनि आन्तरिक पर्यटकलाई हिउँले पत्तालेसम्म पुर्‍याएको हो। 

पत्तालेमा मात्र दुई दर्जनभन्दा बढी होटेल तथा लज सञ्चालनमा छन्। व्यवस्थित खान बस्नको प्रबन्ध नभएको गुनासो आएपछि स्थानीय यूवाहरुको लगानीमा हिमाली होमस्टे संचालनको अन्तिम चरणमा ट। नजिकका जिल्लाबाट बिदा मनाउन निस्कने पर्यटकका लागि पत्ताले आकर्षक गन्तव्य बनेको छ। त्यसबाहेक सोलुखुम्बु, ओखलढुंगा र खोटाङलगायत जिल्लाका चर्चित गन्तव्यमा आएका मानिस यहाँ पुग्ने गर्छन्। 

पत्तालेबाट सगरमाथा, मकालु, कन्चनजंगा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु लगायत हिमाल देख्न सकिन्छ।  विभिन्न प्रजातिका लालीगुराँस र जडीबुटी पाइने पत्तालेमा धार्मिक पर्यटक पनि पुग्ने गर्छन्। नजिकै रहेको गौरीटाप डाँडा र लौरेश्वर धाम तथा पाँच करोडको  लगानीमा बुद्धपार्क निर्माणले पनि संभावना थपिदै आएको छ। 

सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट करिब २ सय ५० किलोमिटर सडक यात्रापछि पुगिने पत्तालेमा शेर्पा, मगरलगायत जाति बसोवास गर्छन्। तराईबाट उदयपुरको कटारी–घुर्मी सडक खण्ड हुँदै पनि पत्ताले सहिजै पुग्न सकिन्छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App