४ वैशाख २०८१ मंगलबार
अर्थ

कृषिमा पनि ‘स्मार्ट’ प्रविधि

काठमाडौं- अरुण काफ्ले आफ्नो कार्यकक्षमा इन्टरनेट चलाउँछन्। उनले इन्टरनेटमा सामाजिक सञ्जाल होइन, मोबाइलबाटै नर्सरीको रेखदेख गर्छन्।

तरकारी बाली विकास केन्द्र ललितपुरका प्रमुख काफ्लेले ग्रिन हाउसमा हुर्किंदै गरेका बिरुवामा मोबाइल एप्सको माध्यमबाट आवश्यक पानी दिन्छन्। तापक्रम, आद्रता नियन्त्रण गर्छन्। पानीको मात्रा कम भएमा बढाउँछन्। तापक्रम धेरै भएमा घटाउँछन्। मोबाइलबाटै नर्सरीको मनिटरिङ गर्छन् उनी।

फिल्डमा नपुगी यो कसरी सम्भव हुन्छ त ? अचम्म लाग्न सक्छ। प्रविधि प्रयोगमा आएको फड्कोसँगै ‘स्मार्ट फार्मिङ’ ले यो सम्भव तुल्याएको हो।

ललितपुर खुमलटारमा रहेको तरकारी बाली विकास केन्द्रमा संसारको जुनसुकै इन्टरनेटको पहुँच भएको ठाउँमा बसेर ग्रिनहाउस अनुगमन गर्न सकिने प्रणाली जडान गरिएको छ।

 

सबै क्षेत्रमा स्मार्टको चर्चा चलिरहेका बेला तरकारी बाली विकास केन्द्रमा पहिलोपटक तरकारी उत्पादनमा ‘स्मार्ट’ प्रविधि प्रयोग गरिएको छ। इन्टरनेटमार्फत अत्याधुनिक प्रविधि प्रयोग गरेर ग्रिन हाउसभित्रको नर्सरीमा बिरुवा उत्पादन सुरु गरिएको हो।

ललितपुर खुमलटारमा रहेको डेमोफार्ममा सोलार तथा विद्युतीय हाइब्रिड प्रविधिबाट चल्ने फोहरा, तापक्रम तथा आद्रता नियन्त्रण गर्न सक्ने प्रविधि प्रयोगमा ल्याइएको छ। केन्द्रमा संसारको जुनसुकै इन्टरनेटको पहुँच भएको ठाउँमा बसेर ग्रिनहाउस अनुगमन गर्न सकिने प्रणाली जडान गरिएको हो।

नेपालमा पहिलोपटक यो प्रविधि प्रयोगमा ल्याएको केन्द्रका प्रमुख काफ्लेले बताए। ‘मुलुकमै पहिलोपटक कृषि क्षेत्रमा नयाँ प्रविधि प्रयोगमा ल्याएका छौं,’ काफ्लेले भने, ‘परीक्षणका रूपमा प्रयोग गरेको प्रविधि सफल भएको छ।’

ग्रिन हाउसभित्र डिभाइस, पानीको ट्यांक, एयर कन्डिसन जडान गरिएको छ। यो प्रविधि प्रयोग गरेर लौका, कांक्रा, करेला, फर्सी, घिरांैलाका बिरुवा उत्पादन गरिएको हो। नर्सरीमा नपुगी इन्टरनेट सुविधा भएको जुनसुकै ठाउँबाट हिटिङ, कुलिङ, इरिगेसन गर्न सकिने नयाँ प्रविधि प्रयोगमा ल्याएर कृषि क्षेत्रलाई स्मार्ट बनाइएको प्रमुख काफ्लेले बताए। ‘मोबाइलको एप्सबाट सबै नियन्त्रण र थपघट हुन्छ,’ काफ्लेले नागरिकसँग भने, ‘जहाँ बसेर पनि नर्सरीको रेखदेख गर्न सकिन्छ।’

केन्द्रले सिसी क्यामराबाट हेर्नका लागि वाइवाई पिटुपी, डेटा रेकर्डका लागि सेन्सर पुस सफ्टवेयर प्रयोगमा ल्याएको छ। सामान्य अवस्था भन्दा स्मार्ट फार्मिङबाट छिटो बिरुवा तयार हुने केन्द्रका प्रमुख काफ्लेले बताए। ‘३० देखि ४० दिनमा हुर्किने बिरुवा १५ देखि २० दिनमै तयार हुन्छ,’ उनले भने, ‘आधा कम समयमा बिरुवा तयार हुने भएकाले व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिन्छ।’

यो प्रविधि प्रयोगका लागि हिमालयन कलेज अफ इन्जिनियरिङका विज्ञले सघाएका छन्। विदेशमा प्रयोग भए पनि नेपालमा पहिलोपटक यो स्मार्ट प्रविधि प्रयोग गरेको हिमालयन कलेज अफ इन्जिनियरिङ कलेजका उपप्राध्यापक इजार खानले बताए। यसमा ग्रिन हाउसभित्र डिभाइस जडान गरेर कन्ट्रोल मेकानिजक सिस्टम विकास गरिएको उनले बताए। ‘ग्रिनहाउसभित्र जडान गरिएको डिभाइसले सबै डेटा रेकर्ड गरेर पठाउने पद्धतिको विकास गरिएको छ,’ खानले भने, ‘डिभाइसले पठाएको डाटाका आधारमा एप्सले सबै कन्ट्रोल गर्छ।’ ग्रिनहाउसभित्र हिटर सिस्टमबाट न्यूनतम र अधिकतम तापक्रम सेटिङ गरिएको छ। ‘बिरुवालाई चाहिने भन्दा कम र चाहिनेभन्दा बढी तापक्रम भएमा मोबाइलमै वार्निङ आउँछ,’ उनले भने, ‘इन्टरनेटका माध्यमबाट कन्ट्रोल गर्ने सिस्टम जडान गरेका हौं।

केन्द्रको एउटा ग्रिन हाउसमा एकपटकमा करिब ३० हजार बिरुवा उत्पादन गर्ने क्षमता छ। केन्द्रले करिब २९ हजार दुई सय बिरुवा उत्पादन गरिसकेको छ। यसका लागि १४ लाख ३० हजार रुपैयाँ खर्च गरिएको छ।

छिटो बिरुवा तयार हुने भएकाले किसानले अर्डर दिएको १०÷१५ दिनमै बिरुवा दिन सकिने उनले बताए। ‘किसानको मागअनुसार तुरुन्त बिरुवा उत्पादन गर्न सक्छौं,’ उनले भने। यहाँ उत्पादित बिरुवा निरोगी हुने भएकाले रोगकिराको जोखिम पनि नभएको केन्द्रले जनाएको छ। ९४ वर्गमिटरमा परीक्षण गरिएको यो प्रविधि सफल भएको छ। वर्षमा १० लाख बिरुवा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ। ‘किसानको मागका आधारमा तरकारीका बिरुवा तयार गर्न सकिन्छ,’ उनले भने, ‘लागत पनि महँगो छैन।’ केन्द्रले १४ लाख ३० हजार रुपैयाँ खर्चिएर यो प्रविधिको विकास गरेको हो।

कृषिमा आधुनिकीकरण गर्ने तयारी भएकाले अन्य फार्ममा पनि यो प्रविधि विस्तार गर्न सकिने कृषि विभागका सहसचिव प्रकाश सञ्जेलले बताए। सञ्जेलका अनुसार बेर्ना उत्पादनका लागि यो प्रविधि उपयोगी देखिएको छ। ‘अन्य सरकारी फार्ममा पनि यो नुमना प्रविधि विस्तार गर्ने सोचमा छौं,’ उनले भने, ‘कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न स्मार्ट प्रविधिको प्रयोग गर्नुपर्छ।’

आलु तरकारी तथा मसला बाली विकास केन्द्रअन्तर्गत रहेको फार्मले केन्द्रले १४.५ रोपनी जग्गामा बिउ तथा बेर्ना उत्पादन गर्दै आएको छ। केन्द्रले काउली, मूला, सलगम, सिमी, गोलभेंडा, खुर्सानीलगायत तरकारीका बिउ तथा बेर्ना उत्पादन गर्दै आएको छ। केन्द्रले बेर्ना माग गर्नका लागि अनलाइन प्रणालीको विकास गरेको छ। केन्द्रमा माटो विनाको खेती प्रविधि भिœयाएर साना नमुना प्रदर्शनी गर्दै आएको छ। अन्य सरकारी केन्द्रको तुलनामा यो केन्द्रमा नयाँ–नयाँ काम गरिरहेको सरोकारवाला बताउँछन्। केन्द्रले विकास गरेका प्रविधि अवलोकन गर्न र सिक्न विभिन्न जिल्लाका किसान त्यहाँ आउने गरेका छन्।

प्रकाशित: ६ फाल्गुन २०७५ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App