coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

भरतपुर महानगरपालिकामा गरिएको कुखुरापालनन।  तस्बिरः सविता / नागरिक

चितवन – खैरहनी नगरपालिका–१ ज्यामिरेका अर्जुन अर्यालले कुखुरापालन गर्न थालेको १८ वर्ष भयो। अहिले उनको खोरमा अण्डा दिने लेयर्स प्रजातिका ८० हजार कुखुरा छन्। पाँच हजार कुखुरा राखेर कुखुरा पाल्न सुरु गरेका उनीसँग एक लाख कुखुरापालन गर्ने क्षमताको खोर छ। वार्षिक २० प्रतिशत लगानी बढाउँदै व्यवसाय विस्तार गर्दै लगेको उनको भनाइ छ। 

कुखुरा फार्मबाट दैनिक दुई सय पेटी अण्डा उत्पादन हुने अर्जुनले बताए। कुखुरालाई आवश्यक पर्ने दाना उनी फार्ममै तयार गर्छन्। आफैंले दाना बनाउने गरे पनि कुखुरापालन व्यवसायबाट उनले आम्दानी गर्न सकेका छैनन्। अहिले उनको फार्मबाट दुई सय ४५ रुपैयाँ क्रेटमा अण्डा बिक्री भइराखेको छ। अण्डा उत्पादन गर्दा लाग्ने लागतको तुलनामा आम्दानी न्यून भएको उनले बताए। बैंकबाट ऋण लिएर कुखुरापालन व्यवसाय सञ्चालन गरिरहेको उनी बताउँछन्। ‘कुखुरापालन व्यवसायमा सरकारको सहयोग र सहभागिता छैन,’ उनले भने, ‘बैंकबाट ऋण लिएर घाटाको व्यवसाय गरिरहेको छौं।’ 

अण्डाको मूल्य धेरै घटेपछि किसानले चितवन नवलपुर दाना वितरक संघको कार्यालयमा समेत तालाबन्दी गरिदिएका थिए। नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको समन्वयमा माघ २६ गते शनिबार अण्डा उत्पादक किसान र अण्डा बिक्रेताको भेला भएको थियो। भेलामा अण्डाको लागत मूल्य बढेकाले मूल्य निर्धारण गरेर मूल्य नघटाई कारोबार गर्ने सहमति भएको छ। यसअघि अण्डा प्रतिक्रेट दुई सय ३० रुपैयाँ कारोबार हुँदै आएको थियो। भेलाबाट प्रतिक्रेट १५ रुपैयाँ मूल्यवृद्धि गरिएको संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। 

भेलाबाट अण्डाको मूल्य निर्धारण तथा बजार अनुगमनका लागि समिति गठन गर्ने, अण्डा उठाउनुभन्दा पहिले सप्लायर्सले अण्डाको रेट किसानलाई एसएमएसबाट जानकारी गराउने, अण्डाको मूल्य १० दिनमा पुनर्निर्धारण गर्ने निर्णय गरिएका छन्। सहमतिपछि कुखुरापालक किसानले तालाबन्दी फिर्ता लिएका छन्। संघका अध्यक्ष कँडेल अहिले किसानले पाएको अण्डाको मूल्य लागत अनुसार घाटामा रहेको बताउँछन्। 

‘एउटा अण्डा उत्पादन गर्न किसानको न्युनतम १० रुपैयाँ लाग्छ’ उनले भने, ‘अहिले एउटा अण्डामा किसानले दुई रुपैयाँ घाटा खाईरहेका छन्।’ एक हजार कुखुरापालन गर्ने किसानले वार्षिक तीन लाख रुपैयाँसम्म घाटा खाईरहेका छन्। किसानले सँधै घाटा खाएर व्यवसाय गर्न नसक्ने उनको भनाई छ। राज्यले अण्डा जस्तो आत्मनिर्भर भएको पेशाको उत्पादनलाई ध्यान दिएर किसानको हितमा हुने गरि केही काम गर्न नसकेको उनले बताए। 

सरकारले दानाजन्य पदार्थ ल्याउँदा लगाउने भन्सार दर यो आर्थिक वर्षबाट धेरै बढाएको उनी बताउँछन्। पहिले रहेको १.६ प्रतिशत दरलाई ५ प्रतिशत बढाएर ६.६ प्रतिशत बढाईएको छ। यसले दानाको लागत मूल्य बढाएको उनले बताए। दानामा प्रयोग हुने औषधीमा पनि मूल्य अभिवृद्धि कर बढेको उनले जानकारी दिए। औषधीमा दुई सय प्रतिशतसम्म मूल्य बढेको पाईएको उनी बताउँछन्। अघिल्लो वर्षहरुमा यो समयमा अधिकतम २५ रुपैयाँ किलोमा मकै पाइन्थ्यो। अहिले ४० देखी ४२ रुपैयाँ किलो रहेको उनी बताउँछन्।

एक वर्ष अघि नेपालमा करीब २३ लाख लेयर्स कुखुरा पालिएको तथ्यांक रहेकोमा अहिले करीब ३५ देखी ३० लाखको संख्यामा कुखुरापालन गरिएको उनले बताए। अण्डा उत्पादक संघले उत्पादक र विक्रेतासँगको समन्वयमा अण्डाको रेट निर्धारण गर्दै आएको छ। अण्डा स्टक गरेर राख्न नमिल्ने भएकाले पनि सप्लायर्सले भनेकै भाउमा किसानले अण्डा बिक्री गर्न बाध्य रहेका छन्। संघले निर्धारण गरेको रेट पनि कार्यान्वयन नहुने समस्या समेत रहेको अध्यक्ष कँडेल बताउँछन्। 

बजारीकरणको अवस्थाको अनुगमन र मूल्यांकन समेत भएको छैन। किसानले ८ रुपैयाँमा बेच्नु परेको अण्डा उपभोक्ताले ४ देखी ७ रुपैयाँसम्म बढी तिरेर खानुपरेको छ। किसानले उत्पादन गरेको अण्डा छ वटा तह पार गरेर मात्र उपभोक्ताकोमा पुगिराखेको छ। किसानकोबाट सप्लायर्सले लिएको अण्डा अरु शहरका सप्लायर्सलाई बिक्री गर्छन्। त्यहाँका सप्लायर्सले सब डिलरलाई दिन्छ। सब डिलरले खुद्रा रुपमा बेच्ने भ्यान, साईकल, मोटरसाईकलवालालाई बेच्छ। 

त्यसपछि अण्डा किराना पसललाई बेचिन्छ। किराना पसलबाट मात्र उपभोक्ताले उत्पादन खरिद गर्ने भएकाले किसानले घाटा खाएर बेच्नु परेको उत्पादन उपभोक्ताले महङ्गोमा किन्नु परिराखेको छ। उत्पादन गर्नेबाट  उपभोक्तासम्म उत्पादन पुर्‍याउन बीचमा रहेका बिचौलियाका कारण बजारमा ठूलो समस्या रहेको अध्यक्ष कँडेल बताउँछन्। ‘राज्यले अण्डाको बजारीकरणमा ध्यान दिनुपर्ने हामी किसानको माग हो’ उनी भन्छन्, ‘लागत मूल्यको आधारमा राज्यले अण्डाको मूल्य निर्धारण गरिदिनुपर्छ।’

प्रकाशित: २९ माघ २०७५ ००:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App