२५ असार २०७७ बिहीबार
अर्थ

दूधको गुणस्तर कायम राख्ने प्रतिबद्ध

पनौती–३, कुशादेवीस्थित चिस्यान केन्द्रमा दूध खन्याउँदै कृषक।  फाइल तस्बिर : नागरिक

बनेपा - अघिल्लो वर्ष दूध तथा दुग्धजन्य पदार्थको धेरै खपत हुने सिजनमा दूधको गुणस्तरबारे धेरै कुराहरु सतहमा आए। यसबाट उपभोक्ताहरु दूध र दुग्धजन्य उत्पादनहरुको सेवनमा हच्किए। अवस्था गम्भीर देखेपछि नीति बनाउने कृषि मन्त्री स्वयं नै आक्रामक शैलीमा डेरी उद्योग अनुगमनमा निस्किए। 

त्यसलगत्तै यसै वर्षको असोजमा दुग्ध शृंखला (भ्यालु चेन)का सबै सरोकारवालालाई लागू हुने गरी सरकारले निर्देशिका जारी ग¥यो। निर्देशिकाले उत्पादक किसान, संकलक, चिस्यान केन्द्र, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणमा संलग्न सबैलाई समेटेको छ। ‘निर्देशिका जारी भएको ६ महिनापछि लागू हुने भएकाले हामीले दूध शृंखला(भ्यालु चेन)का सबै सरोकारवालाहरुलाई बेलैमा जानकारी गराउन थालेका हांै। दूधजस्तो संवेदनशील खाद्यको गुणस्तर बिगारेर अखाद्य बनाउने अनि एकले अर्कालाई देखाएर पन्छने दिन अब गए,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने।

काभ्रेका किसानदेखि प्रशोधक र बिक्रेताहरुलाई समेत दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिकाको जानकारी र असल उत्पादन अभ्यासमा प्रेरित गर्न विभागले पनौतीमा प्रशिक्षण राखेको हो। काभ्रे जिल्लालाई काठमाडौं उपत्यकाको प्रमुख दूध आपूर्तिकर्ता जिल्ला भनेर चिनिन्छ।  ‘पहिलो पटक सबैक्षेत्रका विज्ञहरुको सहभागितामा निर्देशिका तयार भएको हो। एकै पटक अन्तर्राष्ट्रिय मापदण्डमा जाँदा सबै सरोकारवालाले पालना गर्न कठिनाइ हुने भएकाले सबैलाई सुधारको मौका हुने गरी निर्देशिका ल्याइएको हो,’ कर्णले थपे।

निर्देशिकाले दुग्ध व्यवसाय फस्टाउने अवसरसमेत दिएको हुँदा दूध शृंखला (भ्यालु चेन)का सबैले लागू गर्नमा अप्ठ्यारो नआउने उनको भनाइ छ। ‘निर्देशिकामा प्रत्येक सरोकारवालाले आफैंले जाँच्न सकिने (सेल्फ अडिट) चेक लिस्ट राखिएको छ। दिनहुँ चेक लिस्ट हेर्दै सुधार गर्नुहोस्। उपभोक्ताले तपाईंको कार्य विवरण हेरेर विश्वास गर्नेछन्,’ कर्णले आश्वस्त बनाए। विभागकी उपमहानिर्देशक मतिना जोशी वैद्यले अन्य खाद्यवस्तुको दाँजोमा उचित तापक्रम  र सही भाँडावर्तन प्रयोग नहुँदा दूध चाँडो बिग्रने भएकाले दुई घण्टामै चिस्यान केन्द्रमा पु¥याउन जोड दिइएको बताइन्। ‘अझैसम्म अखाद्य ग्रेडका प्लास्टिक क्यान÷ट्यांकीमा दूध संकलन र ढुवानी भइरहेको छ, अब यसरी ढुवानी गर्न पाइन्न। अल्मुनियम या स्टेनलेस स्टिलका क्यान या ट्याँकीमा राखेर दुई घण्टाभित्रै चिस्यान केन्द्रमा पु¥याउन अनिवार्य गरिएको छ,’ उनले थपिन्। 
पछिल्लो समय गाइभैंसीले खाने दाना, ढुटो र चोकरजस्ता आहारासमेत न्यून गुणस्तरको हुन थालेको किसानको गुनासो रहँदै आएको छ। ‘बस्तुभाउले न्यून गुणस्तरका दाना खाएर उत्पादित दूधको गुणस्तर बिग्रन्छ नै। यस्तो दूध सेवनले मानिसलाई समेत समस्या आउने भएकाले दानाको गुणस्तरमा कडाइ गर्ने योजना छ,’ खाद्य तथा दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखाकी प्रमुखसमेत रहेकी वैद्यले भनिन्।

काभ्रे दूधमा आत्मनिर्भर घोषित जिल्ला हो। तत्कालीन पशु सेवा कार्यालय र स्थानीय तहले समेत दूध र दुग्धजन्य पदार्थ उत्पादनमा असल अभ्यास लागू गर्न प्रेरित गर्दै आएको छ। यति हुँदाहुँदै पछिल्लो समय काभ्रेको दूधलाई लिएर विभिन्न भ्रम फैलाइएकोमा सहभागीले आपत्ति जनाए। ‘अधिकांश किसानले अल्मुनियम या स्टिलका बाल्टिनमा दूध दुहुँदै बानी परिवर्तन गरिसकेका छन्। संकलन केन्द्रमा समेत यिनै भाँडामा दूध ल्याउन थालेका छन्,’ खरीबोट दूध संकलन केन्द्रका सञ्चालक गुरुराज बन्जाराले भने, ‘हामीले संकलित दूध दुई घण्टाअगावै चिस्यान केन्द्रमा पु¥याउन थालेका छौं। अनि कहाँ बिग्रियो, काभ्रेको दूध?’

दूध शृंखलाको महत्वपूर्ण कडी मानिएको चिस्यान केन्द्रमा यदाकदा यान्त्रिक गडबडीको अवस्था बाहेक अधिकांश समयमा दूधको तोकिएको गुणस्तर कायम हुने भएकाले काभ्रेको दूधमा शंका नगरिदिन व्यवसायीले आग्रह गरे। ‘काभ्रेका चिस्यान केन्द्रबाट एकदेखि बढीमा तीन घण्टाभित्र तोकिएका ट्यांकरबाट काठमाडौंमा दूध पुग्छ। बाहिरबाट दुईदेखि चार दिनसम्म अघिको दूध आउँछ। उद्योगीले पनि दूध किनिदिँदा काभ्रेको दूधलाई प्राथमिकता दिनुप-यो,’ पनौती उद्योग वाणिज्य संघका सदस्य एवं हिमालय दूध चिस्यान केन्द्रका सञ्चालक रबिन्द्र हुमागाईंले अनुरोध गरे।
काभ्रेमै रहेका दुग्ध प्रशोधन उद्योगले समेत स्थानीय दूध नलिएर चितवन र सर्लाहीदेखि ल्याएर असहयोग गरिरहेको कुशादेवीका दुग्ध संकलक यम तामाङले आक्रोश पोखे। ‘पनौतीमै उद्योग राखेका केही डेरी उद्योगले सबै दूध काभ्रे बाहिरबाट ल्याउँछ। यहाँ उत्पादित दूध २० प्रतिशत पनि नकिन्ने यस्ता उद्योगले स्थानीय किसानहरुलाई कसरी सहयोग गरेको मानिन्छ,’ उनले थपे।

पनौतीमा हालै स्थापना भएको अनुप डेरीका सञ्चालक विष्णुप्रसाद लम्साल पनि यहाँको दूधले उद्योग चलाउन समस्या हुँदा मात्रै बाहिरबाट ल्याएर प्रशोधित दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको बताउँछन्। ‘काभ्रेकै दूधलाई प्राथमिकता दिएका छौं। यहाँ दूध नपाएपछि सर्लाहीबाट नल्याउँदासम्म उद्योग नै चल्दैन। यो हाम्रो रहर होइन, बाध्यता हो,’ उनले थपे। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलको संयोजनमा सम्पन्न पनौतीको प्रशिक्षणमा पनौती, बनेपा, नाला, बेथानचोकका दूध संकलक, चिस्यान केन्द्र, उद्योग तथा डेरी पसल गरी ६० जना सहभागी थिए। कार्यक्रमको अन्तिम दिन उनीहरुले आ–आफ्नो क्षेत्रगत समस्या र समाधानका उपायबारे विभागलाई सुझाव दिँदै चैत ५ गतेदेखि लागू हुने निर्देशिकाको पूर्ण पालना गर्दै दूधमा सरकारले तोकेको गुणस्तर कायम राख्ने सामुहिक प्रतिबद्धता जनाएका थिए। विभागले यस अघि इलाम, बिराटनगर, हेटौंडा, भैरहवा, नेपालगञ्जमा दुग्ध उत्पादनमा असल अभ्यास प्रशिक्षण सम्पन्न गरिसकेको छ।

‘टुप्पी दूध’को चर्चा
मुलुकमा ठूला, मझौला, साना र अति साना गरी चार किसिमका डेरी उद्योग सञ्चालनमा छन्। अति साना डेरीबाट विना प्रशोधन प्लास्टिकका पोकामा खुल्ला बिक्री हुने दूधलाई ठूला डेरीले चुनौतीका रुपमा देखेका छन्। दूध राखेर प्लास्टिकमा मेसिनले सिल गर्नुको साटो रबरले बाँध्दा प्लास्टिकको भाग चुच्चो देखिने भएकाले यो दूधलाई ‘टुप्पी दूध’ पनि भन्न थालिएको हो।
‘दूध संकलन गरेर सोझै बेच्न हुँदैन। दूध उद्योगमै पुग्नुपर्छ र त्यहाँ निरोगीकरण (पास्चुराइजेसन) पछिमात्रै उपभोक्ताले सेवन गर्नुपर्छ। संसारमै पास्चुराइजेसन नभएको दूध उपभोगयोग्य मानिन्न। नेपालमा पनि यही विधिलाई जोड दिएका हौं,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘यतिखेर प्रशोधनका क्रममा आवश्यक पानीको गुणस्तरको समेत मापदण्ड तोकिएको छ। दूधको मापदण्डमा त कुनै सम्झौता हुँदैन,’ उनले थपे।

प्रकाशित: २७ माघ २०७५ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App