coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतीय पाहुनाका लागि ‘नाका’मा प्रवर्द्धन

पोखरामा भारतीय पाहुना पठाउनका लागि भारतको सिलिगुढीमा आयोजना गरिएको पत्रकार भेटघाट। तस्बिर: नागरिक

पोखरा –  भारतको उत्तरपूर्वी भेगबाट पोखरामा पाहुना ल्याउन यहाँका व्यवसायीले  प्रवर्द्धन थालेका छन्। भारतसहित बंगलादेश र भुटानबाट समेत पाहुना पोखरा भित्र्याउन सकिने व्यवसायीको विश्वास छ। 

पोखरामा पछिल्लो समय उत्तरपूर्वी भारतीयसहित बंगलादेश र भुटानबाट पनि पर्यटक आउन थालेका छन्। त्यसैले भारतको सिलिगुढीलाई ‘गेट वे’ ठानेर पोखरेली व्यवसायीले प्रवर्द्धन सुरु गरेका हुन्। यसअघिको प्रवर्द्धनले पोखरामा त्यस क्षेत्रबाट आउने भारतीय र बंगलादेशी पर्यटकको संख्या बढ्न थालेपछि व्यवसायीले पछिल्लो समय सिलिगुढीलाई आधार मानेर प्रवद्र्धन थालेका हुन्। 

पर्यटन बोर्ड पोखराका म्यानेजर सूर्य थपलियाले सिलिगुढीमा गरेको प्रचारप्रसारपछि पोखराले पाहुना पाउन थालेपछि प्रवर्द्धन आवश्यक परेको बताए। चारवर्ष अघिदेखि पोखरा पर्यटन परिषद् (पिटिसी) को संयोजनमा सिलिगुढीमा हुने बंगाल ट्राभल मार्ट मार्फत त्यस क्षेत्रमा प्रवर्द्धन थालिएको थियो। त्यही प्रवर्द्धनले पोखरालाई उत्तरपूर्वी भारत र बंगलादेशमा बढी चिनाउन थालेको थपलियाले बताए।

‘चारवर्ष अघिदेखिको प्रवर्द्धनले भारतीय पर्यटक पोखरामा बढेका छन्। उत्तरपूर्वी भारतीय पर्यटक अहिले पोखरा पुग्न थाले। प्रवर्द्धनअघि त्यस भेगका पर्यटक कमै मात्रामा पोखरा जान्थे,’ प्रवर्द्धनको क्रममा सिलिगुढीमा रहेका थपलियाले भने, ‘जब यस (सिलिगुढी) भेगका पर्यटक पोखरा जान थाले, त्यसपछि बल्ल पोखरेली व्यवसायीले यहाँको महत्व बुझेका हुन् र प्रवर्द्धनलाई निरन्तरता दिन थालेका हुन्।’

बंगलादेश, नेपाल र भारतले संयुक्त रूपमा अघि बढाएको एसियन हाइवेको ट्रान्जिट पनि सिलिगुढी पर्ने भएकोले यहाँको प्रवर्द्धन महत्वपूर्ण रहेको उनले बताए। ‘सिलिगुढीको प्रवर्द्धन भारतीका लागि मात्र होइन। बंगलादेश र भुटानका पाहुना पनि बोलाउन सकिन्छ,’ उनले भने, ‘पोखरेली व्यवसायीले भुटानीभन्दा पनि भारतीय र बंगलादेशी पाहुना यहाँबाट बढी संख्यामा भित्र्याउन सक्छन्।’ अहिले बंगलादेशबाट वार्षिक करिब ३० हजारजना पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ। भुटानीको नेपाल आगमन संख्या भने निकै नै कम रहेको छ। तर पनि ट्रान्जिट प्वाइन्टको रूपमा सिलिगुढीलाई मानिएको उनले बताए।

नेपालमा पछिल्लो समय भारतीय पर्यटकको आगमन निकै नै बढेको छ। भारतबाट भित्रिएका सबै पर्यटक पोखरा र काठमाडौं घुम्न नपुगे पनि नाकाबाट भित्रिएर नेपालका पर्यटकीय गन्तव्य घुम्नेको संख्या बाक्लो रहेको थपलियाले बताए। ‘सबै भारतीय पाहुना पोखरा, काठमाडौं र चितवन पुग्छन् भन्ने होइन। तर, नेपालमा भारतीय पर्यटकको आउजाउ निकै नै बाक्लो छ,’ उनले भने। पूर्वी नाकाबाट छिरेर इलाम, जनकपुरसम्म घुम्ने, सुनौलीबाट छिरेर लुम्बिनी, पोखरा र सौराहा घुम्ने, रक्सौल नाकाबाट छिरेर सौराहा पुग्ने भारतीय पर्यटकको संख्या बढिरहेको थपलियाले बताए। ‘सबै नाकाबाट नेपाल छिरेर घुमी फर्किने भारतीय पर्यटक धेरै छन्। सबैको यकिन तथ्यांक नभए पनि वर्षमा झन्डै १० लाख भारतीय पाहुना कुनै न कुनै रूपमा नेपाल घुम्ने गरेको अनुमान छ,’ उनले भने, ‘त्यसैले पनि भारतीयका लागि नियमित प्रवर्द्धन जरुरी छ।’ 

पोखरा प्रवर्द्धन गर्न गएको टोलीले सिलिगुढीका टुर अपरेटर्ससँग व्यापारिक भेटघाट (बिटुबी) गर्नेछ। त्यस्तै बुधबार नेपाल नाइट कार्यक्रम गरेर नेपालको कला संस्कृति प्रदर्शन गर्नेछ। शुक्रबार भारतकै अर्काे सहर गुहावटीमा पनि बिटुबी आयोजना गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले बताए। उनका अनुसार बंगलादेशी र भुटानका टुर अपरेटर्स बंगाल ट्राभल मार्टमा सहभागी हुनेछन्। बंगाल ट्राभल मार्टमा भारतका ४० जना टुर अपरेटर आउनेछन्। बंगलादेश, भुटानबाट पनि व्यवसायीको सहभागिता रहने उनले बताए। 

पोखरेलले उत्तरपूर्वी भारतसँग सम्बन्ध बढाउन पनि प्रवर्द्धन जरुरी रहेको बताए। प्रवद्र्धनात्मक गतिविधिले नेपाल र भारत दुवैलाई पर्यटन क्षेत्रमा टेवा पुग्ने पोखरेलले बताए। ‘पोखराबारे धेरैलाई थाहा नभएको अवस्थामा हामीले प्रवर्द्धन गर्दा त्यसले आउजाउलाई प्रभावकारी बनाउँछ,’ पोखरेलले भने, ‘पर्यटकीय क्षेत्रमा बढीभन्दा बढी प्रवर्द्धन जरुरी पर्छ। त्यही भएर हामीले निरन्तरता दिएका हौं।’

कार्यक्रम संयोजक एवं नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले उत्तरपूर्वी भारतका सिलगुढी, डुअर्स, ग्याङटोकका साथै सिक्किम, दार्जिलिङ हुँदै मणिपुर, आसाम लगायतका स्थानबाट धेरै भारतीय पर्यटक नेपाल भित्रिने भएकाले प्रवर्द्धनलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

उनका अनुसार प्रवर्द्धननात्मक भ्रमणका क्रममा उत्तरपूर्वी भारतीय ६ वटा राज्यमा पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर एसोसिएसनका साथै पर्यटन सम्बद्ध व्यवसायीसँग अन्तरक्रिया गरिने उनले बताए। बोर्डका अनुसार नेपाल आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाइ मार्ग हुँदै भित्रिएको तथ्यांक छ। सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।

प्रकाशित: २३ माघ २०७५ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App