१६ चैत्र २०८० शुक्रबार
अर्थ

बिजुली चुहावट पाँच प्रतिशत बिन्दुले घट्यो

काठमाडौं – चालु आर्थिक वर्षको मंसिरसम्म बिजुली चुहावट पाँच प्रतिशत बिन्दुले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म २०.४५ प्रतिशत रहेको चुहावट चालु आर्थिक वर्षको मंसिरमा घटेर १५.४५ प्रतिशत प्रतिशतमा आएको हो। 

चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गरेकाले यो सफलता हात लागेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। प्राधिकरणले बिजुली चुहावटबाट चालु आर्थिक वर्षको पाँच महिनामा चार अर्ब ८० करोड नोक्सानी बेहोरेको छ। प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार अहिले सबैभन्दा बढी बिजुली चुहावट कलैयामा छ। कलैयामा ४१ प्रतिशत चुहावट छ। दोस्रो बढी चुहावट हुने ठाउँ राजविराज हो। राजविराजमा ३९ प्रतिशत बिजुली चोरी हुने गरेको प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए।

रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको प्राधिकरणको भनाइ छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव तथा वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोजराय यादवले घरमा चोरीको बिजुली प्रयोग गरेको फेला पारेको हो।

मिटर रिडर र ग्राहकको मिलेमतोमा बिजुली खपत गरे पनि कम बिल देखाउने गरेको, हुकिङबाट अत्यधिक बिजुली चुहावट हुने गरेको, प्राविधिक गडबडी लगायत कारणले प्राधिकरणले नोक्सानी बेहोर्नुपरेको छ। चुहावट कम हुँदै गएपछि प्राधिकरणको नोक्सानी पनि कम हुँदै गएको अधिकारीको भनाइ छ।  

प्राधिकरणका अनुसार, हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो र प्राविधिक गडबडीले ठूलो परिणामको बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसलाई नियन्त्रण गरेका कारण चुहावटमा कमी आएको अधिकारीको भनाइ छ। प्राविधिक चुहावट पनि कम गरिएको उनले जानकारी दिए।

देशैभर प्राविधिक तथा अप्राविधिक चुहावट नियन्त्रण गर्ने क्रम जारी रहेको अधिकारीले बताए। ‘चुहावट नियन्त्रण गर्न अभियान चलाएका कारण बिजुली चुहिनबाट रोक्न सफल भएका हौं,’ उनले भने, ‘लोडसेडिङ नभएका कारण पनि चुहावट कम भएको हो।’

हुकिङबाट बिजुली चुहावट हुने गरेकोमा त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको उनको दाबी छ। ‘अप्राविधिक रुपमा हुने चुहावटलाई कर्मचारी खटाएर नियन्त्रण गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा हुने चुहावटलाई पनि क्षमता बढाएर कम गरिरहेका छौं।’

‘चुहावट नियन्त्रण गर्ने काम विगतदेखि नै जारी छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अहिले विशेष ‘फोकस’ गरेरै सबै वितरण केन्द्रमा कार्यक्रम अघि बढाएका छौं।’

प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य सम्भव नभए पनि लुकी–चोरी गरिएको चुहावट घटाउन सकिने विज्ञहरुको भनाइ छ। प्राधिकरणले चुहावट नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ। प्राधिकरणले कर्मचारीको मिलेमतो र हुकिङ गरी बिजुली चोर्ने एक–दुईजनालाई दिनहुँजसो पक्राउ गर्छ। 

विशेष गरी, बारा, पर्सा, रौतहट, नेपालगन्ज, जनकपुर, इनरुवा, सिरहा, जलेश्वर, लालबन्दी, मलंगवा, कलैया, भरतपुरलगायत क्षेत्रका व्यक्ति पक्राउ परेको प्रधिकरणको भनाइ छ।  चुहावट घटाउन २०६८ सालमा पाँचवर्षे रणनीति बनाइएको थियो। त्यतिबेला चुहावट २८.३५  प्रतिशत थियो। 

विद्युत् चुहावट नियन्त्रणलाई उत्पादनभन्दा बढी महत्व दिनुपर्ने विज्ञहरुको सुझाव छ। चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ। यसैगरी, प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारणको रुपमा औंल्याउने गरिन्छ। 

चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत प्राधिकरणले पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा बिजुली चोर्नेमाथि कारबाही गरेको छ।

प्राधिकरण प्रमुखमा कुलमान घिसिङ आएपछि चोरी नियन्त्रणमा आक्रामक कारबाही सुरु गरिएको हो। उनले चुहावट नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिएका छन्। मिटर नभएका ठाउँमा तत्काल जडान गर्नसमेत उनको निर्देशन छ। घिसिङ कार्यकारी निर्देशकमा आउनेबित्तिकै सुकुम्बासीलाई समेत मिटर दिन मिल्ने गरी प्राधिकरणबाट निर्णय गराएका थिए। यो निर्णयसँगै मिटर जडान गर्नेको संख्या बढिरहेको प्राधिकरणको भनाइ छ। विद्युत् महसुल तिर्न बाँकी भएकाको लाइन काट्ने कार्य जारी राख्दै चुहावट नियन्त्रण गर्ने अभियानमा प्राधिकरण लागेको छ।

प्रकाशित: २३ माघ २०७५ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App