coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खेतमै सुक्न थाल्यो उखु

फाइल फाेटाे

बुटवल – सरकारले उखुको मूल्य तोकेसँगै चिनी उद्योग सञ्चालन हुने आशमा नवलपरासीको प्रतापपुर–६ गुठीप्रशौनीका बच्चाराज भरले गत बुधबारदेखि उखु काट्न सुरु गरे। १५ कट्ठामा लगाइएको उखुमध्ये बच्चाराजले सात–आठ कट्ठाको उखु काटिसकेका छन्। खहुरेर तयारी अवस्थामा राखिएका करिब १० क्विन्टल उखु उनले बिक्रीका लागि लैजान पाएका छैनन्। ‘उद्योग खुलेकै छैनन्, काटेको उखु खेतमै सुक्ने भयो,’ भरले दुखेसो पोखे। 

सुस्ता गाउँपालिका पक्लिहवाका अर्का किसान नगेन्द्र कुर्मीले पनि आधाजसो उखु काटिसकेका छन्। ‘चिनी मिल खुल्छन् भन्ने सुनेपछि उखु काट्न थालेका हौं। तर उद्योगीले मिलै चलाइदिएनन्,’ कुर्मीले अध्याँरो मुख लगाउँदै भने। उद्योग नचल्ने  सुनेपछि उनका हातगोडा छाडिएका छन्। खेतमा एक तमासले काटेर सोत्तर पारिएको उखु उनका लागि खुन पसिना सबै हो। आठ जनाको परिवार पाल्ने मुख्य आयस्रोत हो। दुई–चार दिनमै उद्योग चलेनन् भने वर्ष दिनको मेहनत खेतमै सुकेर जाने र परिवारको बिचल्ली हुने दुखेसो कुर्मीको छ। चिनी उद्योग नचलेपछि केही उखु भेली उद्योगका लािग आधा मूल्यमा बेचेको उनले बताए।

सरकारले गत आइतबार उखुको मूल्य तोकेको थियो। सरकार, चिनी उद्योगी र उखु उत्पादक किसान संघको त्रिपक्षीय वार्ताबाटै प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ मूल्य तोकिएको हो। जसमध्ये ६५ रुपैयाँ ५० पैसा सरकारी अनुदान र चार सय ७१ रुपैयाँ चिनी मिलले भुक्तान गर्नुपर्ने मूल्य हो।

मूल्य तोकेसँगै चिनी उद्योग सञ्चालन हुने भनिएको थियो। तर, पूर्वका केही उद्योग चले पनि  नवलपरासीका चिनी मिलले भने अझै उखु क्रसिङ सुरु गरेका छैनन्। जिल्लामा तीनवटा चिनी उद्योग छन्। सुनवल नगरपालिकामा लुम्बिनी चिनी कारखाना, सुस्ता गाउँपालिकाको कुँडीयामा बागमाती सुगर मिल र प्रतापुरको गंगापुरमा इन्दिरा सुगर मिल छन्। करिब एक सय भेली उद्योग छन्। जिल्लामा करिब साढे सति हजार हेक्टर क्षेत्रफलमा उखु लगाइएको उखु उत्पादक कृषक समितिले जनाएको छ। उखु उत्पादक कृषक तदर्थ समितिका अध्यक्ष दुधनाथ गुप्ताका अनुसार जिल्लामा करिब २० लाख क्विन्टल उखु उत्पादन हुन्छ। जिल्लाका १० हजार किसान परिवार उखुमा आश्रित छन्।

मंसिरदेखि पुस दोस्रो सातासम्म काटिसक्नु पर्ने उखु खेतमै सुक्न थालेपछि एक हजारभन्दा बढी किसान परिवार मर्कामा परेका छन्। प्रतापपुरका किसान सुदामा कोइरीले १५ कट्ठामा लगाएको उखु ठाडै सुक्दा समेत काट्ने हिम्मत जुटाउन नसकेको बताए। ‘चिनी मिल खुलेका छैनन्। कहिले खुल्ने हुन त्यो पनि थाहा छैन। उखु काट्ने, उद्योग नचल्ने भयो भने हामी त बर्बादै हुन्छौं,’ सुदामाले दुखेसो पोखे। जिल्लाका अगुवा किसान दुधनाथ गुप्ताका अनुसार उखु काट्ने मुख्य सिजन मंसिर हो। उनका अनुसार १२ महिना पार गरेपछि उखु फुल्न थाल्छ। फुलेपछि उखुको डाख्लामा रस सुक्दै जान्छ। मंसिरमै काटिसक्नु पर्ने उखु माघ दोस्रो सातासम्म नकाट्दा आधाजसो बारीमै फुलिसेको छ। माघभित्रै उखु नकाटे सुकेर पूरै नोक्सान हुने गुप्ताले बताए। वर्षदिनको लगानी र मेहनत खेतमै सुक्न थालेपछि उखुमै आश्रित करिब १० हजार किसानलाई अहिले दिनको भोक न रातको निन्द्रा भएको छ।

उद्योगीले सरकारले तोकेको मूल्यमा उखु किनेर चिनी उत्पादन गर्दा करोडौं घाटा हुने बताउँदै आएका छन्। करोडौं घाटा खाएर उद्योग धरासायी बनाउनुभन्दा नचलाउने निर्णय गरेको उद्योगीको भनाइ छ। यता उखु किसान भने उद्योगी र सरकारी निकायकै मिलेमतोमा  उद्योग सञ्चालनमा ढिलाइ गरी कम मूल्यमा उखु किन्ने रणनीति अपनाएको आरोप लगाउँछन्। खेतमै सुक्न थालेपछि किसानले सस्तैमा बिक्री गर्छन् भन्ने दाउमा उद्योगी लागेको उखु उत्पादक कृषक तदर्थ समितिका प्रवक्ता धिरज त्रिपाठीले बताए। 

किसानले कात्तिकदेखि नै समयमै उखुको मूल्य निर्धारण गर्न सरकारलाई पटक पटक आग्रह गरेका थिए। तर, सरकारले भने माघ लागेपछि बल्ल उखुको समर्थन मूल्य निर्धारण गर्यो। उद्योगीसँगकै छलफलपछि सरकारले उखुको मूल्य तोकेको हो। तर, उद्योगीले अहिले मूल्यमा असहमति जनाउँदै उद्योग बन्द गरेर बसेका छन्। सरकार रमिते बनेको छ। उद्योगी एकातिर किसानलाई सस्तोमा उखु बेच्न बाध्य बनाउने र अर्कोतिर चिनीको मूल्य बढाउन किसानमार्फत सरकारलाई दबाब दिने दोहोरो रणनीतिमा देखिन्छन्। ‘उद्योगीले सरकारलाई कसरी नचाइरहेका छन् भन्ने कुराको प्रमाण हो यो,’ अगुवा किसान त्रिपाठीले रोष प्रकट गरे। तीन तहका सरकारसमक्ष आफ्ना समस्या राखे पनि सरकार मूकदर्शक भएर बसेको गुनासो किसानको छ। अब पनि छिटै उद्योग सञ्चालन  नभए आफूहरु सडकमा आउने चेतावनी नवलपारीका किसानले दिएका छन्। तीनवटै सरकारसँग हारगुहार गर्दा पनि हाम्रो क्रन्दन सुनेनन्। ‘हाम्रा बालबच्चा भोकै हुँदा नांगै पर्दा सरकारले देख्दैन भने सडकमा नआएर के गर्नु ?’ त्रिपाठीले भने।

६ करोड भुक्तानी पाउन बाँकी
सिजन सुरु भएपछि मूल्यको किचलो झिकेर उद्योग नचलाइदिँदा उद्योगी र सरकारसँग बर्सेनि हारगुहार गर्नुपर्ने बाध्यतासँगै उधारोमा उखु बेच्नुपर्ने अर्को नियती पनि यहाँका किसानले भोग्दै आएका छन्। गत वर्षकै उखुको भुक्तानी किसानले अहिलेसम्म पाएका छैनन्। उखु उत्पादक संघका अनुसार गत वर्षको झन्डै ६ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ। इन्दिरा सुगर मिलले मात्रै किसानलाई साढे चार करोड बढी पोहोरको भुक्तानी दिन बाँकी भएको त्रिपाठीले बताए। त्यस्तै बाग्मती चिनी मिलको करिब आधा करोड र सुनवल चिनी मिलको २०–२५ लाख भुक्तानी बाँकी रहेको उखु उत्पादक कृषक तदर्थ समितिले जनाएको छ। उखुको भुक्तानी नपाउँदा ऋण खोजेर घरखर्च चलाइरहेका किसानलाई अब ऋण खोज्न कहाँ जाने भन्ने चिन्ता थपिएको छ।

प्रकाशित: १६ माघ २०७५ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App