६ वैशाख २०८१ बिहीबार
अर्थ

मूल्य नपाएपछि बन्दामा डोजर लगाउँदै किसान

खैरहनीका किसान पुरन चौधरीले लगाएको बन्दा डोजर लगाएर बारीबाट हटाइँदै।  तस्बिर : नागरिक

चितवन – तरकारीले मूल्य नपाएपछि किसानले बारीमा डोजर चलाएका छन्। खैरहनी नगरपालिका–६, तुलसीपुरका कृषक पुरन चौधरीले बिहीबार बारीमा डोजर लगाएका हुन्। उनले बारीमा लगाएका बन्दा, काउली, मुला अहिले बेच्ने बेला भएको छ। उत्पादन बेच्ने बेलामा लागत मूल्य पनि नपाउँदा डोजर लगाएर तरकारी उत्पादन हटाएको उनी बताउँछन्। 

उनले १६ कट्ठामा लगाएको बन्दा र मुला डोजर लगाएर हटाएका  हुन्। पुख्र्यौली पेसाको रुपमा उनले तरकारी खेती गर्दै आइरहेका छन्। हजुरबुवाले सुरु गरेको व्यावसायिक तरकारी खेतीलाई नै निरन्तरता दिएको उनी बताउँछन्। उनले जग्गा भाडामा लिएर पाँच बिघामा खेती गर्दै आएका छन्। गत वर्ष तरकारी फलाएर राम्रै उत्पादन लिन उनी सफल भएका थिए। यो वर्ष भने गएको वर्षको जस्तो अवस्था भएन। यो सिजनमा भएको उत्पादनले उनको लागत मूल्य पनि उठाएन। 

बन्दा, मुला प्रतिकलो दुई रुपैयाँमा पनि बिक्री भएन। तरकारीको भाउ आउँछ कि भनेर केही दिन पर्खिए। ‘दुई रुपैयाँ किलो लैजाऊ भन्दा पनि लगेनन्,’ उनी भन्छन्, ‘बारीमै राखेर के गर्नु भनेर बारी खाली गर्न डोजर लगाएँ।’ तरकारी बिक्रीको बजार बुझ्न उनी काठमाडौं समेत पुगेका थिए। कालीमाटी तरकारी बजारमा बुझ्दा बन्दा, काउली र मुला नलिने जवाफ उनले व्यवसायीबाट पाए। 

उनको बारीमा अझै १० कट्ठामा बन्दा छ। बेच्ने बेला भएको बन्दा मूल्य नपाएर त्यसै हटाउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्। उनले यसपालि बन्दा एउटा पनि बेचेका छैनन्। ‘एक साता कुरेर हेर्छु,’ उनले भने, ‘त्यसभित्र बिक्री भएन भने बारी खाली गर्न हटाउनुपर्छ।’ डोजरले नहटाएकोे बन्दा कामदार लगाएर बारी खाली गरे। बन्दालाई बारीमा कुहिन दिँदा अर्को बालीमा असर गर्ने भएकाले बारीबाट बन्दा हटाएको उनले बताए।  

लामो समयसम्म तरकारी बिक्री नभएको पहिलो पटक भोगेको उनी बताउँछन्। यसअघिका वर्षमा तरकारी खेतीबाट वार्षिक करिब सात लाख रुपैयाँसम्म उनले मुनाफा लिने गरेका थिए। यो वर्ष उत्पादन राम्रो हुँदा उनी हौसिएका थिए। उत्पादन राम्रो भए पनि बिक्री हुन सकेको छैन। यो वर्ष उनको लागत मूल्य पनि उठेन। आफ्नो बारीबाट बिक्री नभएको बन्दा उपभोक्ताले भने किलोको १५ रुपैयाँभन्दा बढी तिरेर खानुपरेको उनी बताउँछन्। 

‘किसानले बेच्न पाउँदैन, बेचिहाले पनि मूल्य पाउँदैन,’ उनी भन्छन्, ‘उपभोक्ताले त्यही उत्पादन महंगोमा किन्नुपर्छ।’ तरकारी बिक्री गर्न बजारको समस्या भोग्ने गरेको उनले बताए। चौधरीले सिजन अनुसार बन्दा, काउली, भेन्टा, खुर्सानी, राजमा, बोडी, आलु, केराउ, मुला लगायत तरकारी खेती लगाउँछन्। डोजर लगाएर खाली गरिएको जग्गामा बोडी र भेन्टा लगाउने उनले तयारी गरेका छन्। 

प्रकाशित: १३ माघ २०७५ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App