८ वैशाख २०८१ शनिबार
अर्थ

महाकुलुङमा कृषि मेला

महाकुलुङको पेल्माङमा आयोजित कृषि मेलामा आफ्ना उत्पादन प्रदर्शन गर्दै कृषक। तस्बिर : नागरिक

सोलुखुम्बु - पछिल्लो समय कृषकलाई व्यवसायिकतातर्फ उन्मुख गराउनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट कृषि मेलाको आयोजना गर्ने र उत्पादनको आधारमा पुरस्कृत गर्ने क्रम बढ्दै गएको छ। यहि संस्कारलाई पछ्याउँदै महाकुलुङ गाउँपालिकाले पनि गत शुक्रबार पेल्माङमा कृषि मेला आयोजना गरेको थियो।

मेलामा आफ्ना कृषि उत्पादन बोकेर आएका कृषकहरु निकै उत्साहित देखिन्थे। छेस्काम, गुदेल र बुङ क्षेत्रका कृषकको परिश्रम भेला गरिएको मेलामा उनीहरुले दर्जन प्रकारका आफ्ना उत्पादन प्रदर्शन गरेका थिए। छेस्कामका अमृत बहादुर राईले आफूले परिश्रमले फलाएको मकैको झोट्टा बोकेर मेलामा सहभागी भएको थिए। उनले भने, ‘मेलामा कृषकले आफ्ना उत्पादनलाई मात्र देखाएर हुँदैन। सरकारले कृषि उत्पादनलाई व्यवस्थित बनाउन सक्नुपर्छ।’ मेलाले कृषकको मनोवल बढ्ने उनले बताए।

गजेन्द्र कुमार राईले भोगटे, सुन्तला, अम्बा, टमाटर, कागती लगायत उत्पादन बोकेर कृषि मेलामा सहभागी भएका थिए। पुरस्कार पनि पाइने भनेपछि आफ्नो उत्पादन प्रदर्शनमा ल्याएको उनको भनाइ छ। बुङकी संगीता राई पनि सुन्तला, रायो साग, बन्दा, अदुवा, धनिँया, मूला लगायत उत्पादन बोकेर मेलामा पुगेकी थिइन्। अघिल्ला वर्षहरुमा पनि सोताङ, बुङमा भएका कृषि मेलामा पुरस्कृत भइसकेका राईलाई पुरस्कारले कृषि उत्पादनमा लाग्न ऊर्जा मिलेको बताइन्।

गाउँपालिका अन्तर्गतको कृषि शाखाले शुक्रबार आयोजना गरेको मेलामा ५२ जना कृषकले ३० भन्दा बढी प्रकारका कृषि उत्पादन प्रदर्शनीमा राखेका थिए। कृषकमा देखिएको उत्साहले कृषि क्षेत्रका कर्मचारी पनि खुसी देखिन्थे। कृषि प्राविधिक निरकुमार कुलुङले कृषि मेलाले एक कृषकले अर्को कृषकबाट सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। कुलुङले मेलामा बालीको आधारमा पुरस्कृत गर्ने भए पनि उत्पादनका आधारमा पुरस्कृत गरिएको बताए। प्रदर्शनीमा राखिएका उत्पादनलाई गुणस्तरका आधारमा मूल्यांकन गरी २७ प्रकारका उत्पादनमा एक सय आठ कृषकलाई पुरस्कृत गरिएको छ। वडा नं २ पेल्माङका वडाअध्यक्ष प्रदीप राईले कृषकको सहभागिताले आगामी दिनमा उत्पादनबीच प्रतिस्प्रर्धाका लागि प्रोत्साहित गरेको बताए। काउली, बन्दादेखि अलैंची र उखुसम्मका उत्पादन लिएर मेलामा आएकाहरु आफ्नै मेहनतको आधारमा पुरस्कृत भएपछि प्रशन्न मुद्रामा घर फर्किएका थिए।

प्रकाशित: ८ माघ २०७५ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App