२९ श्रावण २०७७ बिहीबार
अर्थ

पुनर्निर्माणमा व्यस्त दलित समुदाय

भूकम्पपछि विस्थापित दलित समुदायको बाह्रविसे खुर्सानीबारीस्थित कान्ले खेतमा निर्माणाधीन बस्ती। तस्बिर : ध्रुव/नागरिक

बाह्रविसे (सिन्धुपाल्चोक) - भूकम्पले थातथलोबाट खेदिएका नयनबहादुर बिक बाह्रविसेको खुर्साबारीस्थित कान्लेखेतमा घर बनाउन व्यस्त छन्। पुनर्निर्माण अन्तिम चरणमा पुग्दा घरले आकार लिएपछि उनी फुरुंग देखिन्छन्। नयनबहादुर गातीको कुखुरे गाउँका हुन्। भुँइचालोले घर मात्रै भत्काएन, बस्तीको चारैतिरबाट पहिरो लागेपछि उनी गाउँबाटै विस्थापित हुन बाध्य भए।

दलित परिवारका नयनबहादुरको घँडेरीबाहेक अरु जग्गा थिएन। भूकम्प गएको साढे दुई वर्षपछि खुर्सानीबारीमा बल्लतल्ल चार आना जग्गा किन्न सकेका उनले गत फागुनदेखि घर बनाउन सुरु गरे। यहाँ पनि सजिलै पुनर्निर्माणलाई अघि बढाउन नसकेको सुनाउँछन् उनी। पहिरोले लखेटेका उनलाई यहाँ पनि पहिरोले नै सास्ती दियो। ‘घरको आधा संरचना बनिसकेका बेला बर्खामा पहिरो लाग्यो,’ उनले भने, ‘घर नै लछार्‍यो।’

बाह्रविसे नगरपालिकाले पहिरो नियन्त्रणमा सघाएपछि क्षतिग्रस्त घर मर्मत गर्दै पुनर्निर्माण अघि बढाएका हुन् नयनबहादुरले। ‘पहिरोले दुःख नदिएको भए नयाँ घरमा सरिसकेका हुन्थ्यौं,’ उनी भन्छन्। पहिरो नियन्त्रणपछि रोकिएको पुननिर्माण अघि बढाउन पाउनुमै उनी रमाएका छन्। नयनबहादुर जस्तै १८ दलित परिवार सास्ती पन्छाउँदै कान्ले खेतमा पुनर्निर्माणमा जुटेका छन्। उनीहरु सबै एकै गाउँका हुन्। जग्गाको नाममा भएको घँडेरीमा पहिरो लागेपछि उनीहरु गाउँ छोड्न बाध्य भए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कुखुरे गाउँलाई जोखिमस्थलमा सूचिकृत गरेपछि दलित समुदाय लामो समय तनावमा परे। चाहेर पनि घर बनाउने विकल्प नहुँदा उनीहरु पुनर्निर्माणमा जुट्न सकिरहेका थिएनन्।  

जग्गा नहुने भूकम्प पीडितलाई घँडेरी किन्न थप दुई लाख रुपैयाँ अनुदान दिने प्राधिकरणको निर्णय उनीहरुका लागि खुसीको बहार बनेर आयो। अनुदानमा ऋणधन थप गरी घँडेरी खरिद गरेपछि उनीहरु पुनर्निर्माणमा जुटिरहेका हुन्। दलित समुदायको बस्ती ठडिँदै गएपछि विद्युत प्राधिकरणले बिजुली पुर्‍याउन काम थालिसकेको छ। ‘भूकम्पले गाउँबाट खेदे पनि सिँगै बस्तीका दाजुभाइ एकै ठाउँमा बस्न पाउँदा खुसी छौं,’ अर्का पीडित राज बिकले भने। उनले दलित बस्ती पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताए। ‘पुनर्निर्माण सकेर यो वर्षभित्र नयाँ घर सर्ने सल्लाह छ,’ राजले सुनाए। पुनर्निर्माण अघि बढिरहँदा गत असारमा निम्तिएको पहिरोले बनिरहेका पाँच घरमा क्षति पुर्‍याएको थियो। निर्माणाधीन थप घरमा समेत क्षति पुर्‍याउने देखिएपछि बाह्रविसे नगरका मेयर निमफुञ्जो शेर्पाले पहिरो नियन्त्रण गर्न तत्कालै १० लाख रुपैयाँ बजेट व्यवस्था गरिदिएका थिए। बनिरहेका घर छाडेर पहिरो नियन्त्रणमा जुट्नु पर्दा पुनर्निर्माण लम्बिएको दलित समुदाय बताउँछन्। क्षतिग्रस्त घरको मर्मत र बाँकी पुनर्निर्माण एकसाथ भइरहेको छ।

निर्माणाधीनमध्ये ६ घर बनाउन अक्सफाम नामक गैरसरकारी संस्थाले सघाइरहेको छ। स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समितिले पुनर्निर्माणमा सहजीकरण गरिरहेको छ। एकै मोडलका यी घरको पुनर्निर्माण यसै महिनाभित्र सम्पन्न गर्न पीडित कस्सिएर लागेका छन्। पाँच घर तयार भइसकेका छन्। सात घरको पुनर्निर्माण तीव्र छ। १२ दलित परिवारले भने संस्थाको सहयोग नरोजेर आफैं घर बनाउने निधो गरेका थिए। दलित परिवार पुनर्निर्माण सकेपछि नयाँ बस्तीमै परम्परागत आरन पेसा अघि बढाउने सुरुसारमा छन्। दैनिकी चलाउन उनीहरुलाई यही पेसा अघि बढाउनु वा मजदुरी गर्नुको विकल्प छैन। पुरानो व्यापारिक केन्द्र बाह्रविसे बजार नजिकै रहेकाले परम्परागत पेसामा भविश्य देखेको दलित समुदाय बताउँछन्। ‘बरु पुरानो पेसालाई आधुनिक बनाउने सोचाइ आएको छ,’ नयनबहादुरले छिमेकीसँगको सल्लाह सुनाए।

प्रकाशित: ७ माघ २०७५ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App