८ वैशाख २०८१ शनिबार
अर्थ

स्थानीयले गर्दा आयातित आलु विस्थापित

वीरगन्ज - जाडो याममा निस्किने ‘लोकल’ आलुको उत्पादन मध्य तराईमा यसपालि राम्रो छ। नगदेबालीको रुपमा भरपर्दो मानिने आलु उत्पादन राम्रो भएपछि किसान हर्षित छन्। वीरगन्जको थोक तरकारी बजारमा अहिले स्थानीय आलुले भारतीय आलुलाई बिस्थापन गरेको छ। 

बाराको महागढीमाई नगरपालिका–७ सिसहनियाबाट ट्याक्टरमा आलु लिएर वीरगन्ज थोकमण्डीमा बेच्न आइपुगेका किसान मनोजप्रसाद कानुले यसपालि आलु उत्पादन अघिल्ला वर्षहरुको तुलनामा राम्रो भएको बताए। उनले १६ सय रुपैयाँ क्विन्टलको दरमा थोकमा आलु बेचे। ‘यसपालि कट्ठामा पाँचदेखि सात क्विन्टलसम्म आलु उत्पादन भएको छ,’ कानुले भने, ‘आलु खेतीबाट खर्च कटाएर कट्ठाको लगभग पाँच हजार रुपैयाँ आम्दनी छ।’ किसानका अनुसार एक कट्ठा आलु खेतीमा २५ सयदेखि तीन हजारसम्म रुपैयाँ खर्च हुन्छ। 

लगभग चार महिनामा भिœयाइने आलु खेतीमा बिउ, मल र मजदुर ज्याला खर्च लाग्छ। आलुको आम्दानीबाट अर्को बालीको खेतीमा टेवा पुग्ने कानुले बताए। आलु लिएर वीरगन्ज बजारमा बेच्न आएका बराको बगही–३ का किसान मदन मुखियाले यो वर्ष सात कट्ठाबाट अहिलेसम्म आलु बेचेर २८ हजार रुपैयाँ हात पारेका छन्। घर खर्चको लागि आलु निकालेर भएको यो आम्दनीलाई उनले सन्तोषजनक भने। कट्ठाका ५ क्विन्टलभन्दा बढीको दरले खेतमा आलु उत्पादन भएको उनले बताए। यसको श्रेय उनी मौसमलाई दिन्छन्। ‘मौसम अनुकूल भयो त्यसकारण आलु राम्रो भएको हो,’ उनले भने, ‘मौसम बिग्रेको वर्ष कहिलेकहीं आलु खेतीमा घाटासमेत बेहोर्नु परेको हुन्छ।’ 

आलु निकालेपछि खालि भएको खेतमा उनी मकै रोप्ने तयारीमा छन्। मकै काटेपछि जेठमा धान रोप्ने उनले बताए। यसरी पुसमा आलु निकाल्न सफल भएका किसान एउटै खेतबाट तीन बालीको लाभ लिन सफल हुन्छन्। वीरगन्ज मिना बजारनजिक कृष्णा आलु–प्याज भण्डारको नामबाट थोक कारोबार सञ्चालन गर्ने शिव जयसवालले आफूहरुले किसानबाट किनेको आलु स्थानीय बजारमै खपत हुने गरेको बताए। 

स्थानीय आलु बजारमा आएपछि भारतबाट आलु भित्रिन बन्द हुने गरेको उनले बताए। शिव–४० र केतु गरी २ जातका आलु अहिले स्थानीय किसानले उत्पादन गरेको उनले जानकारी दिए। शिव–४० भनिने सेतो आलु थोक बजारमा प्रतिकिलो १३ रुपैयाँमा किसानले बेच्न पाएका छन् केतु भनिने रातो आलुको थोक भाउ प्रतिकिलो १६ रुपैयाँ छ। खुद्रामा आलुको किनबेच ३० रुपैयाँ प्रतिकिलोसम्म छ। सधैं नयाँ आलु नै ग्राहकले रुचाउने गरेकोले स्थानीय आलु नआएको सिजनमा बाहिरबाट मँगाएर स्थानीय माग अनुसार धान्ने गरेको कारोबारी बताउँछन्। पहाडको आलु जेठदेखि भदौसम्म वीरगन्ज बजारमा आउने गरेको जयसवालले बताए। त्यस्तै कात्तिकमा काठमाडौंबाट आलु मगाउने गरेको उनले जानकारी दिए।

मंसिरमा भारतबाट भित्रिने आलु पुसमा स्थानीय आलु निस्केपछि विस्थापित हुन्छ। मध्य तराईको आलु एकैपटक धेरै र भाउ सस्तो भएको बेला उत्पादन हुने भएकोले चाहिए अनुसार आम्दानी हुन नसकेको किसान बताउँछन्। भण्डारणको लागि उचित व्यवस्था नरहेको उनीहरुको गुनासो छ। यस सिजनमा धेरैजसो ठाउँमा एकैसाथ आलु निस्किन्छ। बाराको सिम्रौनगढ क्षेत्रको आलु मुख्य रुपमा वीरगन्ज बजारमा आउँछ। अहिले दैनिक रुपमा दुई–तीन ट्याक्टर आलु किसानबाट किनेर खुद्रा बिक्रेतालाई बेच्ने यहाँ दुई दर्जनभन्दा बढी थोक पसल छन्। 

प्रकाशित: २ माघ २०७५ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App