coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मिल सञ्चालनसँगै किसानलाई उखु काट्ने चटारो

सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग। तस्बिर : टंक/नागरिक

सर्लाही - जिल्लाको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण गरेको छ। चलान पूर्जी पाएसँगै किसानले धमाधम उखु काट्न सुरु गरेका छन्। उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण सुरु गरिएको ईन्दुशंकरका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। ‘हामीले हिजोदेखि किसानलाई चलान पूर्जी वितरण सुरु गरिसक्यौं,’ रजकले भने, ‘भोलीदेखि यार्डमा उखु आयो भने पर्सीदेखि उद्योग चलाउन सुरु गर्छौं।’ ईन्दुशंकरमा गत पुस ९ गते नै डोंगा पूजा गरेर उद्योग सञ्चालनका लागि तयारी भइसकेको थियो।

चालू सिजनमा करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको रजकले जानकारी दिए। गत वर्ष पुस ३ गते नै सञ्चालन भएको उक्त उद्योगले ३९ लाख ९९ हजार एक सय २२ क्विन्टल उखु क्रसिङ गरेको थियो। सरकारले केही दिनअघि नै चालु सिजनका लागि उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोक्दै चिनी उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा तथा सरकारले अनुदानबापत किसानलाई ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय गरेको थियो। तर चिनी उद्योगीले चिनीको मूल्य अत्यन्त कम भएकाले किसानलाई उक्त मूल्य दिन नसकिने भन्दै उद्योग चलाउन आलटाल गर्दै आएका थिए। 

गत बुधबार महोत्तरीको बर्दीबासमा उद्योगपति र किसान प्रतिनिधिबीचको बैठकमा सहमति भएपछि ईन्दुशंकरले उद्योग सञ्चालनको तयारी गरेको हो। चिनीको उचित मूल्य तय गराउन किसान प्रतिनिधिले समेत सरकारलाई दबाब दिनेलगायत विभिन्न बुँदामा सहमत भएपछि उद्योगी चिनी उद्योग चलाउन राजी भएका हुन्।

त्यस्तै जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर उद्योग सञ्चालन हुन भने अझै केही दिन लाग्ने भएको छ। अझै एउटा उपकरण जडान गर्न बाँकी रहेकाले उद्योग सञ्चालनमा केही दिन ढिलाइ हुने उद्योगका स्टोर प्रबन्धक हरिहरप्रसादले जानकारी दिए। ‘भोलीसम्म उपकरण आइसक्छ होला र उपकरण जडानपछि उद्योग सञ्चालनको तयारी हुन्छ,’ उनले भने, ‘माघ १ गतेतिर डोंगा पूजा गर्ने तयारी गरेका छौं, त्यसपछि मात्र उद्योग सञ्चालन गर्नेछौं।’ उक्त उद्योगले गत वर्ष १२ लाख ८४ हजार पाँच सय ६२ क्विन्टल उखु क्रसिङ गरेको थियो।

त्यस्तै जिल्लाकै बगदहस्थित महालक्ष्मी सुगर मिलले पनि उखु क्रसिङको तयारी गरिरहेको बताइएको छ। दुई वर्षदेखि निर्माणाधीन उक्त उद्योगले यस वर्ष भने ‘पाइलट फेज’का रुपमा उखु क्रसिङ सुरु गर्ने बताइएको छ। नेपाल उखु उत्पादनक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चिनी उद्योग सञ्चालनमा ढिलाइ हुँदा किसान मर्कामा परेको बताए। ‘उद्योग चल्न डेढ महिना ढिला भइसक्यो,’ उनले भने, ‘समयमै उद्योग सञ्चालन नहुँदा यस वर्ष पानीसमेत नपरेकाले खेतमै उखु सुक्न थालेकाले किसान चिन्तित भइसके।’ उद्योगले चलान पूर्जी वितरण गरेसँगै आत्तिएका किसानलाई एकसाथ उखु काट्ने चटारो परेको मैनालीले बताए।

यसवर्ष सर्लाहीमा करिब २६ हजार हेक्टरमा उखु खेती लगाइएको छ। सर्लाही मुलुकमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो। हरिवनको ईन्दुशंकर र धनकौलको अन्नपूर्ण बाहेक बगदहमा नयाँ स्थापना भएको महालक्ष्मी सुगर मिलले समेत यस वर्षदेखि उद्योग सञ्चालनको तयारी गरिरहेको छ। त्यस्तै जिल्लाबाट महोत्तरी, रौतहट, बारा लगायत चिनी उद्योगमा समेत त्यतिकै उखु गएको थियो।


००००००००००००००००००००००००००००००

प्रकाशित: २९ पुस २०७५ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App