१६ चैत्र २०८० शुक्रबार
अर्थ

आन्तरिक पर्यटकका लागि ‘भ्रमण वर्ष’

पोखरा घुम्न आएका आन्तरिक पर्यटक। फाइल तस्बिर : उमेश पुन/नागरिक

पोखरा - गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले भ्रमण वर्षको अभियान सुरुवात गरेको छ। प्रदेश सरकारले सन् २०१९ मा प्रदेशमा बढीभन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ यो वर्षलाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। त्यसै अनुसार यहाँ अभियानको थालनी गरेको हो।

गण्डकी प्रदेशमा आन्तरिक पर्यटकको बलियो उपस्थितिका लागि यो अभियान सुरु गरेको गण्डकी प्रदेश सरकारको भनाइ छ। प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले गण्डकी प्रदेशलाई आन्तरिक पर्यटनमा चलायमान बनाउन अभियान थालेको बताए। संघीय सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइरहँदा गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख विदेशी पाहुना प्रदेशमा भित्र्याउने लक्ष्य राखेको छ। प्रदेश सरकारको त्यो लक्ष्य पूरा गर्न सन् २०१९ मा आन्तरिक पर्यटक भ्रमण वर्ष सुरु गरेको उनले बताए। 
‘आन्तरिक पर्यटकबाट पनि अन्तर्राष्ट्रिय पर्यटनमा सकारात्मक सन्देश प्रवाह हुन्छ,’ उनले भने, ‘एकैपटक सन् २०२२ मा २० लाख पर्यटक भित्रिने होइनन्। त्यसका लागि अहिलेदेखि नै सक्रिय हुनुपर्छ।’ मंगलबार यहाँका पर्यटन व्यवसायीसँग प्रदेश सरकारको यो योजनाबारे सुझाव माग्दै अभियान सफल बनाउन हरेक दिनजसो केही न केही गतिविधि गरिरहने उनले बताए। व्यवसायीका अनुसार यहाँका होटलको वर्षको अकुपेन्सी अनुपात करिब ५० प्रतिशत रहेको छ। 

प्रदेश सरकारले पहिलो चरणमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य पहिचान, पर्यटकले झेल्नुपर्ने सम्भावित समस्या र तीनको उपाय, सरकारले दिनुपर्ने प्राथमिकता र आन्तरिक पर्यटकका लागि ल्याउन सकिने आवश्यक प्याकेजबारे सुझाव मागेको छ। ‘अबको समय आन्तरिक पर्यटकका लागि दिनुपर्छ। आन्तरिक पर्यटकबाट पनि समृद्धि सम्भव छ,’ सुझाव संकलन गर्ने क्रममा मन्त्री लम्सालले भने, ‘सबैको सहयोग मात्र यो अभियान सफल हुन्छ। सफल अभियानले सबैलाई सफलता दिलाउँछ।’ उनले आन्तरिक पर्यटकलाई आकर्षण गर्न तत्काल पाहुनाप्रति हुने मानवीय व्यावहारमा परिवर्तन आवश्यक रहेको बताए। 

‘घुम्न आएका पाहुनालाई ट्याक्सी चालक, बसका सहयोगी, होटल रेस्टुरेन्टका कर्मचारीले कस्तो व्यवहार गर्छन् भन्नेमा पनि भर पर्छ,’ लम्सालले भने, ‘पाहुनालाई राम्रोसँग सत्कार गर्न जान्ने हो भने आन्तरिक पाहुना भित्र्याउने सजिलो छ।’ पर्यटनमन्त्री लम्सालले आन्तरिक पाहुनालाई तान्न ‘नमस्ते पोखरा’ अभियान चलाउन सकिने बताए। 

‘जो कोहीलाई भेट्दा नमस्ते गर्ने अभियान थाल्न जरुरी छ,’ उनले भने, ‘त्यसले पाहुनाप्रति सकारात्मक प्रभाव पार्छ। ट्याक्सी चालकले यात्रुलाई नमस्ते गरेर सवारीमा चढाउने हो भने ठग्नै पर्दैन, यात्रु स्वयं प्रभावित भएर एक–डेढ सय रुपैयाँ बढी दिन्छन्।’ बसका सहयोगीले नमस्ते गरेर यात्रुलाई अनुरोध गर्ने हो भने पाहुना खुसी भएर त्यो सवारी चढ्छन्। राम्रो व्यवहारको फाइदा बसलाई हुन्छ।’ यो अभियान थाल्न पोखरा प्रवेशको मूल नाका मुग्लिन र राम्दी (पाल्पा र स्याङ्जाको सिमाना)मा सूचना केन्द्र स्थापनाको तयारी भइरहेको बताए। ‘पाहुनालाई घुम्न आउ भनिरहन पर्दैन, घुम्ने माहोल बनाइदिनुपर्छ, पाहुना आइहाल्छन्,’ उनले भने, ‘जथाभावि बजेट खर्चेर पाहुना आउने होइनन्। घुम्ने वातावरण बनाउने हो भने पाहुना अभाव हुँदैन।’ 

प्रदेश सरकारले यो अभियान बाहेक सन् २०२० मा भारतीय र चिनियाँ पाहुना तान्न भारत र चीन प्रवद्र्धनको योजना पनि बनाएको छ। संघीय सरकारको योजनालाई पनि गण्डकी प्रदेशको अभियानले सघाउने उनले बताए। यो वर्षका अभियानका लागि आन्तरिक पर्यटकका लागि प्याकेज बनाउने तयारी पनि गरेको उनले बताए। त्यसबाहेक पोखरालाई मुलुकभित्रका विभिन्न गन्तव्य जोड्न सिधा हवाई सेवा सञ्चालनको पहल भइरहेको उनले बताए। ‘अब अरुलाई घुम्न मात्र बोलाउने होइन, हामी आफैं पनि घुम्न निस्कनुपर्छ,’ लम्सालले भने।पर्यटन बोर्डका म्यानेजर सुर्य थपलियाले आन्तरिक पर्यटक लक्षित यो अभियानका लागि अबको केही दिनभित्र विशेष कार्यक्रम घोषणा गर्ने बताए। पोखरा सबैतिरका आन्तरिक पर्यटकको गतिलो गन्तव्य भएकाले पनि यो अभियान सफल बनाउन सहज रहेको उनले बताए। ‘पोखरा आफैंमा आकर्षक गन्तव्य हो। पोखरामा जो कोही आउन चाहन्छन्। आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेज ल्याउने हो भने अभियान सफल बनाउन कठिन छैन,’ उनले भने, ‘व्यवसायीले सक्रियता जनाउँदा प्रभावकारी हुन्छ।’

पोखरामा अहिले वर्षमा कति आन्तरिक पर्यटक भित्रिन्छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन। नेपाल भित्रिएका विदेशीमध्ये करिब ४० प्रतिशत पोखरा भित्रिने तथ्यांक रहे पनि आन्तरिकको लेखाजोखा छैन। पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा भन्छन्, ‘नेपालमा वार्षिक करिब १५ लाख आन्तरिक पाहुना आउजाउ गर्दा त्यसको करिब ७० प्रतिशत पोखरा आउने अनुमान छ। तर, यकिन तथ्यांक नहुँदा यो अनुमान मात्र हो।’ पोखरामा हुने आन्तरिक पाहुनाको चहलपहलले पनि नेपालको मुख्य गन्तव्यको रुपमा रहेको सहजै अनुमान गर्न सकिने सापकोटा बताउँछन्। 

आन्तरिक पाहुनाका कारण होटल तथा रेस्टुुरेन्टले राम्रो आम्दानी गर्न सकेकाले यहाँका व्यवसायी पछिल्लो समय आन्तरिक पाहुनाबाट आशावादी छन्। पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुली भन्छन्, ‘पोखराको पर्यटनमा ५० प्रतिशत हिस्सा आन्तरिक पाहुनाले धानेको छ। वर्षभरिको होटलको अकुपेन्सी हेर्दा ५० प्रतिशत पाहुना आन्तरिक छन्।’उनले बिदाका बेला यहाँ आन्तरिक पाहुना सहजै आउने बताए। ‘चाँडपर्व होस् वा एक–दुई दिनको बिदा, यहाँ आन्तरिक पाहुना आइहाल्छन्। आन्तरिक पाहुनाको पहिलो गन्तव्य नै पोखरा भइसकेको छ,’ पराजुलीले भने, ‘सहज पहुँच नहुँदा अझै आन्तरिक पाहुना आउन सकेका छैनन्। बाटोघाटोको सहज अवस्था हुने हो भने यहाँको अकुपेन्सी ६० प्रतिशत आन्तरिक पाहुनाको पुग्छ। त्यो हुँदा होटल व्यवसाय सहजै धान्न सकिन्छ।’ उनले आन्तरिक पाहुनाका लागि अझै आकर्षक प्याकेजसहित प्रवद्र्धनात्मक गतिविधि जरुरी रहेको बताए। 

प्रकाशित: २६ पुस २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App