८ वैशाख २०८१ शनिबार
अर्थ

संक्रान्तिको फलाहार तरुल खन्न खेतभरी मजदूर

सर्लाहीको बागमती नगरपालिकाअन्तर्गत टेकानी क्षेत्रमा तरुल खन्दै स्थानीय। तस्बिर : टंक / नागरिक

सर्लाही- माघे संक्रान्तिका दिन फलाहारको रुपमा प्रयोग गरिने तरुल निकाल्नका लागि केही दिनयता जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका खेतमा दर्जनौं मजदूर खनिरहेका भेटिन्छन्।

कर्मैया, शंकरपुर, राजघाट, हजरिया, बरहथवालगायत स्थानका खेतमा सातायता तरुल खन्ने लहर नै चलेको छ। यहाँको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगन्ज, इटहरी लगायत मुलुकका प्रमुख सहरमा व्यापारीले पुर्‍याउने गरेका छन्। प्रतिकट्ठा १२ देखि १४ हजार रुपैयाँमा किसानले खेतमा रोपेको तरुल व्यापारीले किन्ने गरेका छन्।

‘तरुल उत्पादन अनुसार प्रतिकट्ठा १२ देखि १४ हजार रुपैयाँमा खेतमै किन्ने गरेको छु,’ तरुल निर्यात गर्दै आएका व्यापारी राजघाटका कमलेश साहले भने,‘अनि प्रतिकिलो ६ देखि सात रुपैयाँमा मजदूरलाई खन्न लगाएर काठमाडौं, पोखरा, धनगढी लगायत बजारमा पठाउने गरेको छु।’ आफ्नो बारीमा समेत तरुल खेती गरेका साहले भने, ‘बारीमा फलेको १६ मेट्रिक टन तथा अन्य किसानसँग किनेर २६ मेट्रिक टन विभिन्न सहरमा पठाइसकें।’ माघे संक्रान्तिमा बढी माग हुने भएकाले अहिले तरुल खनेर निर्यात गर्न भ्याइनभ्याइ भएको उनले बताए।

कतिपय किसानले भने आफैंले खनेर प्रतिकिलो बढीमा ३५ रुपैयाँसम्म तरुल बिक्री गर्ने गरेका छन्। उक्त क्षेत्रमा दुई सय बिघाभन्दा बढी क्षेत्रफलमा तरुल खेती हुने गरेको छ। फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ। तरुल प्रतिबिघा १० मेट्रिक टनसम्म फल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
 

प्रकाशित: २४ पुस २०७५ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App