coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ऋण बोकेर विदेश पलायन हुने क्रम रोक्नुपर्छ : राष्ट्रपति

तस्बिर : चुमन बस्नेत/नागरिक

विराटनगर - राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक पद्धतिमा सुधार गरी ऋणको भारी बोकेर विदेश पलायन हुने क्रम रोक्नुपर्ने बताएकी छिन्। बिहीबार पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवलाई सम्बोधन गर्दै शिक्षालाई समयानुकूल परिवर्तन गरी ऋणको भारी बोकेर विदेशिने क्रम रोक्नुपर्ने बताएकी हुन्।

प्रकृतिक स्रोतसाधनले सम्पन्न हुँदाहुँदै पनि उत्पादनसँग शिक्षा नजोडिँदा समस्या भइरहेको उनको भनाइ थियो।‘रोजगारी र आर्थिक उपार्जनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन पद्धतिसँग शिक्षा नजोडिँदा समस्या देखिएको छ,’ भण्डारीले भनिन्। एकातिर देशमा जनशक्तिको अभाव भइरहेको र अर्कोतिर युवाहरू विदेशिने क्रम बढिरहनुले श्रम र शिक्षा प्रणालीबीच तालमेल नमिलेको उनले बताइन्। भण्डारीले पूर्वाञ्चल अन्नको भण्डार र प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि स्रोतसाधनको सही सदुपयोग गर्ने ज्ञानको अभाव खड्किएको बताइन्।

यहाँको प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्नसके आम नागरिकको जीवनस्तर सजिलै उकास्न सकिने उनको भनाइ थियो। भण्डारीले स्रोतसाधनको सदुपयोग गर्दै समृद्धिको बाटोमा लाग्ने शैक्षिक पद्धतिको विकास गर्न पूर्वाञ्चल विश्वविद्यलायले भूमिका खेल्नुपर्नेमा जोड दिइन्। आफू पूर्वमै जन्मेका कारण यसक्षेत्रसँग भावनात्मक सम्बन्ध पनि रहेको भण्डारीले बताइन्। जल, जंगल र जडिबुटीको सदुपयोगका लागि आवश्यक जनशक्ति उत्पादन गरी प्रदेशलाई समृद्धिको बाटोमा लैजान विश्वविद्यालयले भूमिका खेल्न सक्ने उनको धारणा छ। संघीयता कार्यानवयनका क्रममा रहेको, राजनीतिक स्थायीत्व पनि भएकाले दिगो शान्तिसहितको आर्थिक विकास गर्ने अवसर प्राप्त भएको उनको भनाइ थियो।

‘समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार पार्ने अवसर प्राप्त भएका कारण यो अवसरलाई सदुपयोग गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौं,’ भण्डारीले भनिन्। विश्वविद्यालय विज्ञान, संस्कार, संस्कृति, चिन्तन, अनुसन्धान र ज्ञानको केन्द्र बन्नुपर्नेमा भण्डारीले जोड दिइन्। तर, गुणस्तरीय पठनपाठनको अभाव, आवश्यक शैक्षिक पूर्वाधारको कमी, प्रतिस्पर्धी अध्ययन, अध्यापन पद्धतिको विकास हुन नसक्नु चुनौतीका रूपमा रहेको उनले बताइन्। भण्डारीले मोरङको गोठगाउँमा निर्माण गरिएको विश्वविद्यालयको भौतिक पूर्वाधारसहितका संरचनामा मेडिकल कलेजलगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउन लागेको खबरले आफूलाई खुसी लागेको पनि बताइन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयको रजत स्तम्भको अनावरण पनि गरेकी थिइन्।
सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सामाजिक न्यायसहितका समृद्धिको अजेन्डा अघि सारेको बताए। सरकारले शिक्षालाई उत्पादनसँग जोड्ने खालको नीति तय गर्न लागेको पनि पोखरेलले जानकारी दिए। पूर्वाञ्चल विश्वविद्यालयका १ सय वटा सम्बन्धन प्राप्त कलेज रहेको तर गत वर्ष २३ हजार विद्यार्थी मात्रै भर्ना हुनुले कलेज मर्ज गर्नुपर्ने देखिएको पोखरेलले स्पष्ट पारे। उनले भने, ‘एउटा कलेजमा २ सय विद्यार्थी पनि नभएपछि नया“ कलेज थप्नुभन्दा मर्ज गर्नु जरुरी देखिन्छ।’

उनले पूर्वाञ्चल विश्वविद्यालयले विगत दुई वर्षदेखि परिक्षा प्रणलीमा भने सुधार गरेको बताए। पोखरेलले विश्वविद्यालयले धान, अलैची, चिया उत्पादन र व्यापार प्रबद्र्धनमा सघाउ पुग्ने किसिमका जनशक्ती पनि उत्पादन गर्नुपर्ने धारणा राखे। विश्वविद्यालयले सुशाशन, प्रभावकारी सेवा र गुणस्तरिय शिक्षामा ध्यान केन्द्रीत गर्नुपर्ने बताए। सरकारले संघिय शिक्षा नितीको निर्माण र जनशक्ति प्रक्षेपण गर्न लागेको पनि पोखरेलले जानकारी दिए। २५ वर्षका लागि आवश्यक जनशक्ति प्रक्षेपण गरेर त्यहीअनुसार शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याइने उनले स्पष्ट पारे। यस्तै शिक्षक उत्पादनमा पुनरावलोकन गर्ने, शिक्षालाई उत्पादन र श्रमसँग जोड्ने नीति लिइने पनि उनले जानकारी दिए। पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पोखरेलले गोठगाउ“का संरचना उपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘एकातिर विश्वविद्यालयको पूर्वाधार अलपत्र पार्ने र अर्कोतिर भाडाका घरमा कार्यालय राखेर खर्च बढाउने कार्य उचित हैन।’

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विश्वविद्यालयलाई प्रदेशको शैक्षिक केन्द्रका रूपमा विकास गरिने बताए। विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले विश्वविद्यालयमा देखिएका केही विकृति सुधार्न आफू सफल भएको दाबी गरे। उनले विश्वविद्यालयलाई शैक्षिक धरोहरका रुपमा विकास गर्न आफू क्रियाशील रहेको पनि बताए। यसै क्रममा विश्वविद्यालयको स्थापना र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई सम्मान पनि गरिएको थियो। सम्मानित हुनेहरूमा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी, पूर्व उपकुलपतिहरू तोरणबहादुर कार्की, ध्रुवनारायणलाल दास, विराटनगरका पूर्व प्रमुख अशोक कोइराला र पूवि सेवा आयोगका पूर्व अध्यक्ष प्रा कृष्ण पोखरेल छन्। बिहीबार नै राष्ट्रपति भण्डारीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको अबलोकन भ्रमण गरेकीछिन्। राष्ट्रपति भण्डारीले पढेको र राजनीति पनि सुरू गरेको मोरङ क्याम्पसमा उनको अभिनन्दनसमेत गरिएको थियो।

प्रकाशित: २० पुस २०७५ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App