६ वैशाख २०८१ बिहीबार
अर्थ

धेरै डिम्याट खाता नराख्न स्टकको आग्रह

काठमाडौं – नेपाल स्टक एक्सचेन्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोबार गर्न आग्रह गरेको छ। पूर्ण स्वचालित कारोबार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा मंगलबार स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुईवटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटामात्रै खातामा आबद्ध हुन आग्रह गरेको छ।

कारोबारको द्रुत गति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्न त्यस्तो व्यवस्था गरिएको स्टकले जनाएको छ। स्टकले मंगलबारदेखि नै बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ। तोकिएको राफसाफ बैंकमार्फत कारोबारअघि तथा पछिको रकमान्तर मिलाउने व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास भएको स्टकको भनाइ छ।

तोकिएका राफसाफ बैंकमा धितोपत्र कारोबार प्रयोजनका लागि मात्रै बैंक खाता खोल्न आग्रह गरिएको छ। आगामी दिनमा ‘क’ वर्गका सबै बैंकबाट धितोपत्र कारोबारको राफसाफ हुने गरी व्यवस्था गर्न लागिएको समेत जानकारी दिइएको छ। स्टकले अनलाइन कारोबार पहुँचका लागि लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीसँग अनिवार्य रुपमा सम्झौता गर्नुपर्ने, त्यस्तो सम्झौताले लगानीकर्ता र व्यवसायीबीच वित्तीय सुरक्षा सुनिश्चितता गराउने बताइएको छ।

लगानीकर्ताले कारोबारका लागि युजर नेम र पासवर्ड लिनसमेत पुनःआग्रह गरिएको छ। लगानीकर्ताले आफ्नो लगानी सीमाअनुसार रकम जम्मा गरेपछि कारोबार गर्न पाउने व्यवस्था गरिएको स्टकका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। रासस

प्रकाशित: १८ पुस २०७५ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App