३१ असार २०७७ बुधबार
अर्थ

शोधनान्तर घाटा ५७ अर्ब

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको शोधनान्तर घाटा ५७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही समयमा दुई अर्ब ४० करोडले बचतमा थियो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा दुई करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको छ। 

समीक्षा अवधिमा चालु खाता घाटा ८८ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड सात लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा नगद प्रवाहमा आधारित सरकारको वित्त स्थिति ५१ अर्ब एक करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३२ अर्ब १५ करोड रहेको थियो। कात्तिक मसान्तसम्म सरकारी ढुकुटीमा दुई खर्ब ६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको ७५ अर्ब ७७ करोडसमेत) नगद मौज्दात कायम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

मुलुकको कुल विदेशी विनिमय सञ्चिति गत असार मसान्तको तुलनामा १.८ प्रतिशतले घटेको छ। असार मसान्तमा कुल ११ खर्ब दुई अर्ब ५९ करोड रहेको विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा घटेर १० खर्ब ८२ अर्ब ९१ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तको १० अर्ब ८ करोडबाट ६.५ प्रतिशतले कमी आई कात्तिक मसान्तमा नौ अर्ब ४३ करोड पुुगेको तथ्यांक छ। 

त्यसैगरी, समीक्षा अवधिमा मुद्रास्फीति गत वर्षको तुलनामा बढेको छ। राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालु आवको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो। खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको राष्ट्र बैंकको भनाइ छ।

कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उपसमूहका वस्तुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो। 

यही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको तथ्यांक छ। अघिल्लो वर्षकोे सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाको मूल्य बढेकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकको भनाइ छ।

क्षेत्रगत आधारमा कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६, काठमाडौं उपत्यकामा ४.५, पहाडमा ४.३ र तराईमा ३.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४, ३.२, ४.७ र ३.७ प्रतिशत रहेको थियो। 

थोक मुद्रास्फीति पनि अघिल्लो वर्षको तुलनामा बढेको छ। चालु आवको कात्तिक महिनासम्म वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ। गत वर्ष सोही अवधिमा उक्त मुद्रास्फीति ०.८ प्रतिशत रहेको थियो। गैरखाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोसाक, आधारभूत धातु लगायत वस्तुको मूल्य बढेकाले समग्र थोक मुद्रास्फीति बढ्न गएको प्रतिवेदनमा उल्लेख छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेर तीन खर्ब १२ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो। 

व्यापार घाटा ३७.८% ले बढ्यो
चालु आवको चार महिनामा व्यापार घाटा ३७.८ प्रतिशतले बढेको छ। यस अवधिमा कुल वस्तु व्यापार घाटा चार खर्ब ५४ अर्ब ४८ करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो अनुपात ७.४ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा वस्तु निर्यात ११ प्रतिशतले बढेर २९ अर्ब 

२८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले बढेकोे थियो। यही अवधिमा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो।

गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात बढेको प्रतिवेदनमा उल्लेख छ। वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायत वस्तुको निर्यात बढेको छ। अलैंची, रोजिन, छाला, जुत्ता, जिआइ पाइप लगायत वस्तुको निर्यात घटेको छ। 

त्यसैगरी,  वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारीसाधन तथा पार्टपुर्जा, धान चामल लगायत वस्तुको आयात बढेको छ। यस अवधिमा सिमेन्ट, कच्चा भटमासको तेल, दूूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार लगायत वस्तुको आयात घटेको छ।

प्रकाशित: १० पुस २०७५ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App