coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभामा उपस्थित अर्थमन्त्री युवराज खतिवडालगायत। तस्बिर : नागरिक

नेपालगन्ज - अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै खतिवडाले सरकार एक्लैले चाहेर मात्र आर्थिक अवस्थालाई माथि उठाउन नसक्ने स्पष्ट पारे। ‘आर्थिक विकासका लागि निजी क्षेत्र मेरुदण्ड हो,’ उनले भने, ‘आर्थिक अवस्थालाई माथि उठाउन राज्यलाई तपाईंहरुको साथ चाहिन्छ।’

संघीय संरचना अनुसार राजस्वको दायरामा पनि बढाउँदै लगिएको अर्थमन्त्री खतिवडाले बताए। संविधानले संघ, प्रदेश र स्थानीय तहलाई अधिकार, काम र कर्तव्य तोकिदिएको बताए। राजस्व संकलनको काममा पनि स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नो कार्यक्षेत्र रहेको उनले प्रष्ट्याए। अर्को प्रसंगमा खतिवडाले सिक्टा सिँचाइ आयोजनाभित्र भएका कमी कमजोरी सच्याउँदै दोषीलाई कारबाहीको दायरामा ल्याएर काम अगाडि बढाइने बताए।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समृद्ध नेपाल निर्माणका लागि आर्थिक क्षेत्र बलियो हुनुपर्ने धारणा राखिन्। सरकारले समृद्ध नेपाल बनाउने सपना अगाडि सारेकामा प्रशंसा गर्दै उनले यसका लागि निजी क्षेत्रमा उत्पन्न भएका समस्या समाधान गर्न सरकार गम्भिर बन्नुपर्ने बताइन्। मुलुकमा रोजगारी सिर्जना गर्न टेवा पु-याउने उत्पादनमुलक र सेवामुलक उद्योगको प्रवद्र्धनमा उनले जोड दिइन्। उद्योग, व्यवसाय सञ्चालनका लागि अव्यवहारिक ऐन÷कानुन पनि बाधक बनिरहेकामा उनले गुनासो गरिन्।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले उद्योग, व्यवसाय फस्टाउने वातावरण अझै नबनेकामा गुनासो गरे। उद्घाटन सत्रमा प्रतिनिधि सभाका सांसद महेश्वरजंग गहतराज, प्रदेश सांसद कृष्णा केसी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो।

यसैबीच अर्थमन्त्री खतिवडाले मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै करको दायरा पनि बढाइएको बताएका छन्। आन्तरिक राजस्व कार्यालय नेपालगन्जको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले करदाताको सुविधालाई मध्यनजर गर्दै नयाँ ठाउँमा पनि कर कार्यालय स्थापना गरिएको बताए। यस्तै विगतमा बन्द रहेका छोटी भन्सारलाई पुनः सञ्चालन गर्न सरकारले विशेष जोड दिएको उनले जानकारी गराए।

प्रकाशित: ८ पुस २०७५ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App