७ वैशाख २०८१ शुक्रबार
अर्थ

बेरुजुको चाङमाथि स्थानीय सरकार

रोल्पा - गत आर्थिक वर्ष ०७४/७५ मा रोल्पाका १० स्थानीय तहमा १२ करोड ५१ लाख १३ हजार रुपैयाँँ रकम बेरुजु देखिएको छ। जथाभावी पेस्की लिएर त्यसलाई फच्र्यौट नगर्नु, बिल भर्पाइ नमिलाएरै  भुक्तानी गर्नु र पाउनै नपर्ने भुक्तानि पाएकाहरुबाट असुल उपर गर्नुपर्ने करोडौं रकम बेरुजुका रुपमा देखिएको हो।

सबैभन्दा बढी माडी गाउँपालिकाको चार करोड ५४ लाख ४६ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पालाई दिएको लेखा परीक्षण प्रतिवेदन अनुसार दोस्रोमा लुङ्ग्री गाउँपालिकाको दुई करोड ७० लाख ५५ हजार रुपैयाँ बेरुजु देखिन्छ। त्यस्तै रुन्टीगढी गाउँपालिकाको नाममा दुई करोड १५ लाख ८७ हजार रुपैयाँ बेरुजु देखिएको छ।

उता गंगादेव गाउँपालिकामा एक करोड २३ लाख ६० हजार बेरुजु देखिएको छ भने सुनछहरी गाउँपालिकाको १६ लाख ४२ हजार बेरुजु रहेको छ। रोल्पा नगरपालिकाको नाममा १८ लाख ४१ हजार, थवाङ गाउँपालिकाको ६ लाख ४१ हजार, सुनिल स्मृति गाउँपालिकाको ५० लाख ३८ हजार रुपैयाँ बेरुजु रहेको छ। त्रिवेणी गाउँपालिकाको ९० लाख ७८ हजार र परिवर्तन गाउँपालिकाको चार लाख २० हजार रुपैयाँ बेरुजु देखिएको हो।

‘बेरुजु तीन किसिमको हुन्छ। एउटा नियमित गर्नुपर्ने, एउटा पेस्की फस्र्यौट गर्नुपर्ने र अर्को असुल गर्नुपर्ने हुन्छ। रोल्पाका स्थानीय तहमा देखिएको बेरुजु नियमित गर्नु पर्ने र पेस्की फस्र्यौट गर्नुपर्ने बढी असुली गर्नुपर्ने देखिएको छ।’ कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका कोष नियन्त्रक नरेन्द्र बिष्टले बताए। ‘असुल गर्नुपर्ने बेरुजु खतरनाक हुन्छ। यसको अन्य विकल्प छैन पैसा नै दाखिला गर्नुपर्छ। नियमित गर्ने र पेस्की फस्र्यौट नभएको हकमा कागजात पुग्यो भने वा पेस्की लगेको तर कार्य सम्पादन नभएकाको हकमा काम सक्यो भने बेरुजु घट्न सक्छ।’

सबैभन्दा असहज मानिएको असुल वा दाखिला गर्नुपर्ने बेरुजु रोल्पाका १० स्थानीय तहमा ८४ लाखभन्दा बढी रहेको छ। परिवर्तन गाउँपालिकामा २१ हजार, सुनिल स्मृति गाउँपालिकामा १७ लाख ९७ हजार, रोल्पा नगरपालिकामा ३१ हजार असुल वा दाखिला गर्नुपर्ने बेरुजु रहेको देखिन्छ। त्यस्तै माडी गाउँपालिकामा १३ लाख ६० हजार, रुन्टीगढी गाउँपालिकामा नौ लाख ४५ हजार, सुनछहरी गाउँपालिकामा १५ लाख १९ हजार र गंगादेव गाउँपालिकामा २७ लाख १५ हजार रुपैयाँ असुल गर्नु पर्ने बेरुजु देखिएको हो।

‘डोजरसँग एकातिरको सम्झौता अर्कोतिर भुक्तानि र तेलको भ्याट बिलले पनि बेरुजु बढेको हो। खरिद प्रकृया पूरा नगरेका कारण थपिएको बेरुजु शिक्षाले बिल क्लियर नगर्दा झनै बढेको देखिएको छ।’ एक स्थानीय तहका लेखापाल भन्छन्, ‘जनप्रतिनिधिले प्रकृया नै मिलाउन खोज्दैनन्। हामी नै सरकार प्रमुख हो भन्दै जबरजस्त काम गराउछन् अनि बेरुजु बढ्छ। चार–पाँच मोटरसाइकल एकै पटक किनेर लेखापालसँग भुक्तानि माग्ने जनप्रतिनिधि यतै छन।’ रोल्पामा गत वर्ष विभिन्न १० स्थानीय तहले अर्बौ बजेट खर्चेका थिए। रोल्पा नगरपालिकाले ४६ करोड ७५ लाख २७ हजार बजेट रहेकामा ३८ करोड १२ लाख ६५ हजार रुपैयाँ खर्च गरेको थियो। परिवर्तन गाउँपालिकाले २९ करोड ९७ लाख ७२ हजार पाँच सय ४७ बजेट रहेकोमा २७ करोड ६२ लाख १० हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै त्रिवेणी गाउँपालिकाले ३२ करोड १९ लाख पाँच हजारमध्ये ३१ करोड ७८ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ। महालेखा परीक्षकले कोलेनिकालाई दिएको प्रतिवेदनअनुसार सुनिल स्मृति गाउँपालिकाको ३७ करोड ५० लाख ५९ हजार बजेट रहेकामा ३३ करोड ६१ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ।

उता थवाङ गाउँपालिकाको १९ करोड ४३ लाख ५३ हजार बजेट रहेकामा १४ करोड ४१ लाख ८४ हजार ६ सय ७३ हजार रुपैयाँ खर्च गरेको छ। माडी गाउँपालिकाको २७ करोड ३६ लाख ५६ हजारमध्ये २३ करोड ८८ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ। रुन्टीगढी गाउँपालिकामा ४० करोड चार लाख ४३ हजार रहेकामा ३४ करोड ४१ लाख तीन हजार रुपैयाँ खर्च भएको छ। सुनछहरी गाउँपालिकाको २६ करोड ५७ लाख ३१ हजार रहेकामा २४ करोड ६८ लाख ९४ हजार रुपैयाँ खर्च भएको देखिन्छ।

त्यस्तै गंगादेव गाउँपालिकाको कुल बजेट २७ करोड ४४ लाख १२ हजार रहेकामा २१ करोड ३७ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ। लुङ्ग्री गाउँपालिकाको ३० करोड २६ लाख ७७ हजार बजेट रहेकामा २७ करोड ५२ लाख २८ हजार रुपैयाँ खर्च भएको छ।

प्रकाशित: ८ पुस २०७५ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App