८ वैशाख २०८१ शनिबार
अर्थ

हृदयेश त्रिपाठीद्वारा अर्थमन्त्रीको आलोचना, तत्काल आयोग गठन गर्न माग

काठमाडौं– स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदयेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गरेका छन्। शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सांसद त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले गर्दा वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गरे। 

अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढी अर्थ मन्त्रालयको गतिविधिमा निर्भर रहने भन्दै उनले भने, ‘बजेट जुन दिन प्रस्तुत हुन्छ, त्यही बेलादेखि चर्चा सुरु हुन्छ। तर, ठाउँमा पुग्न चार–पाँच महिना लाग्छ।’
नेपालको अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसक्नु रहेको उनको भनाई छ। त्रिपाठीले थपे, ‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यै पनि पूरा गर्न सकेनौं। जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्ने काम गर्न सक्दैन्।’  

संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदै पनि विकास खर्च गर्न नसकेको उनले आरोप लगाए। अहिलेसम्म विकास खर्च ५/६ प्रतिशतमै अलमलिएर बसेको भन्दै त्रिपाठीले यो स्थिती कायमै रहे सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुने उनले चेतावनी दिए।

नेता त्रिपाठीले सरकारको गतिविधिबारे स्वयम सत्तारुढ दल नेकपाका नेताहरुपनि सन्तुष्ट नरहेको स्थायी समितिको बैठकबाट प्रष्ट भैसकेको बताए। सरकारसँग समय र संख्याको अनुकुलता रहेकोले आगामी दिनमा यसले आफ्नो प्रस्तुतिलाई सच्याएर सही दिशामा अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ। 

फरक प्रसँगमा नेता त्रिपाठीले स्वतन्त्र राजनीतिक समूहलाई कसरी अघि बढाउने भन्नेबारे गत मंसिर २८ गते काठमाडौंमा आफूहरुले छलफल गरेको सुनाए। आफूहरुबीच यही समूहलाई नै विस्तार गरेर अघि बढाउने कि नेकपासँगको एकता वार्तालाई सार्थकता दिने विषयमा छलफल भएको उनले स्पष्ट पारे। 

‘फोरम र राजपाले मधेसलाई निराश बनाए’

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तराई÷मधेशका जनता निराश भएको पनि उनले टिप्पणी गरे। उनले भने, ‘फोरम अहिले सरकारमा छ, तर उसको प्रस्तुतिले गर्दा जनता निराश छन्। उता, राजपा पनि आन्तरिक विवादमा फसेको छ। दुवै पार्टीले मधेशका जनतालाई निराश बनाए।’ 

आफूहरु अब यो समुहलाई जनतासँग जोड्ने पक्षमा रहेको पनि उनले विश्वास दिलाए। सँगसँगै नेकपासँगको वार्तापनि सकारात्मक रहेकोले यसलाई तार्किक निश्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भीर रहेको उनले स्पष्ट पारे। 

सांसद त्रिपाठीले किसानले उत्पादन गरेका कृषिउपजको मुल्य निर्धारण गर्नको लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गरे। उनले विगत २०३४ सालयताको तथ्यांक हेर्दा कृषि मन्त्रालयको कुल बजेटको १८ प्रतिशतमात्रै किसानको लागि खर्च हुने गरेको र बाँकी ८२ प्रतिशत बजेट किसानको नाममा तामझाममा सिध्याउने गरेको आरोप लगाए। सरकार र कुनैपनि दलहरुको प्राथमिकतामा किसान वर्ग पर्न नसकेको उनले गुनासो पोखे। 

किसान असंगठित भएकाले दलहरुले प्राथमिकता नदिएको उनको टिप्पणी छ। उनले भने, ‘सबैभन्दा ठूलो संख्यामा रहेको किसान वर्ग, जो ६४ प्रतिशत छन्, कांग्रेस र नेकपा दुवैको प्राथमिकतामा किसान परेनन्। यो दुःखदायी कुरा हो।’ कृषिमा विचौलियाका कारण किसान र उपभोक्ता दुवै वर्ग मारमा परेको पनि उनले बताए। किसानले आफ्नो उत्पादनको मूल्य तोक्न पाउनुपर्ने गरि आफूले संसदमा संकल्प प्रस्तावसमेत दर्ता गराईसकेको उनले जानकारी दिए। 
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सकिने उनको दाबी छ  उनले भने, ‘चिनी, दुध, चियापती, दाल, चामल, तोरीको तेल, फलफलु, अदुवालगायत अन्य कृषि उपजमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ।’ गत वर्ष नेपालमा ९४ करोडको ‘टोम्याटो–सस’ आयात गरिएको तथ्यांक पेश गर्दै त्रिपाठीले नेपालमा भने किसानले टमाटरको उचित मूल्य नपाएर सडकमै फाल्नु परेको दुरावास्था सुनाए। 

किसानको अवस्थामा सुधार नआएसम्म मुलुकको समृद्धि हुनै नसक्ने उनको ठोकुवा छ। उनले भने, ‘नेपाललाई समृद्ध बनाउनको लागि पनि किसानको अवस्थामा सुधार ल्याउनुपर्छ। यसको लागि सरकारले अब ठोस कदम चाल्नुपर्छ।

प्रकाशित: ७ पुस २०७५ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App