७ वैशाख २०८१ शुक्रबार
अर्थ

भ्रमण वर्षलाई नयाँ पर्यटन दूत

काठमाडौं - नेपाल पर्यटन बोर्डले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विभिन्न देशमा नयाँ पर्यटन दूत (जनसम्पर्क प्रतिनिधि) नियुक्त गर्ने भएको छ। बोर्डले यसअघि ती देशमा खटाइएका पर्यटन दूतलाई चित्तबुझ्दो काम नगरेको भन्दै तीन महिनाअघि हटाएको थियो।  बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार पर्यटन दूत बनेर नेपालको प्रचार गर्नुको सट्टा आफ्नै स्वार्थमा काम गर्न थालेपछि सबै मुलुकका पर्यटन दूत  हटाइएको हो। 

त्यससँगै नयाँ मापदण्ड र जिम्मेवारीसहित पर्यटन दूत नियुक्त गर्न लागिएको उनले बताए।  ‘अब मापदण्ड बनाएर पर्यटन दूत नियुक्ति गर्दैछौं,’ उनले भने, ‘समिति बनाएर मापदण्ड तयारी गर्ने काम भइरहेको छ। ’ जोशीका अनुसार बोर्ड र मन्त्रालयले संयुक्तरुपमा बनाएको समितिले तयार पार्ने मापदण्ड अनुसार पर्यटन दूत नियुक्त गरिनेछ।  त्यसरी नियुक्त हुने दूतले तोकिएको मापदण्डभित्र रहेर काम गर्नुपर्नेछ।  यसअघि राजनीतिक पहुँचका आधारमा पर्यटन दूत नियुक्ति गरिन्थ्यो। 

प्रमुख कार्यकारी अधिकृत जोशीले भ्रमण वर्षलाई लक्षित गरेर पर्यटन दूत नियुक्ति गर्न लागिको बताए।  उनका अनुसार पर्यटन दूत सुरुमा विदेशी राख्ने चलन थियो।  तर, विदेशमा नेपालीको बसोबास बढ्दै गएपछि नेपाली मुलको तर उक्त देशको नागरिकता लिएकालाई पर्यटन दूतको रुपमा राख्न थालियो।  त्यसरी पर्यटन दूतको नियुक्ति लिएर पर्यटन प्रवद्र्धनको कामभन्दा आफूलाई लाभ हुने काम बढी गर्न थाले।  त्यसपछि सबै देशका पर्यटन दूतको नियुक्ति खारेज गरेर मापदण्ड बनाउन थालिएको जोशीले जानकारी दिए।  ‘अब नियुक्त हुने पर्यटन दूत मापदण्ड अनुसार हुनेछन्।  त्यस्ता दूत राजनीतिमा संलग्न नभएको हुनुपर्नेछ,’ उनले भने, ‘आफ्नै स्रोतसाधन खर्च गर्नसक्ने र बसोबास गर्दै आएको देशमा ‘पोर्टफोलियो’ बनाएका व्यक्तिलाई दूत बनाउने मापदण्ड बनाउँदैछौं। ’

राजनीतिक पहुँचका आधारमा नियुक्ति पाएका पर्यटन दूतले प्रभावकारी काम गर्न नसकेपछि मापदण्ड बनाएर नयाँ दूत नियुक्त गर्न लागिएको छ। 

पर्यटन दूतले नियुक्त भएका व्यक्तिले कुनै प्रकारको सरकारी सुविधा पाउँदैनन्।  बोर्डका अनुसार ती दूतले मुलुकको लागि स्वतःस्फूर्त भएर पर्यटन प्रर्वद्धनको काम गर्नुपर्ने हुन्छ।  बोर्डले उपलब्ध गराएको प्रचार सामग्रीसहित सम्बन्धित देशका हवाई कम्पनी, कलेज तथा वैदेशिक नियोगहरुमा नेपालको प्रचार गर्ने, नेपाल जानुपर्छ भनेर उत्प्रेरणा जगाउने, भिसा प्रक्रियाका विषयमा सहयोग गर्ने प्रमुख जिम्मेवारी उनीहरुमा रहन्छ।

पर्यटन दूत बन्नका लागि सम्बन्धित मुलुकको राजदूतावासको सिफारिस अनिवार्य छ।  उक्त देशमा दूत आफैंले सचिवालय स्थापना गर्नुपर्छ।  पर्यटन बोर्डले क्यानडा, कतार, आयरल्यान्ड, बेलायत, थाइल्यान्ड, न्युजिल्यान्ड, कोरिया, पोर्चुगल, नर्वेलगायत मुलुकमा एक–एक जना पर्यटन दूत राख्दै आएको छ।  

चीन, डेनमार्क, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड लगायतका देशमा दुई–दुई जना तथा जर्मनी, जापान, रसिया र स्वीडेनमा भने तीन–तीन जना पर्यटन दूत नियुक्त गर्ने प्रावधान छ।  सबैभन्दा बढी अमेरिकामा आठ जना दूत रहन्छन्।  स्पेन र अष्ट्रेलियामा क्रमशः चार र पाँच पर्यटन दूत नियुक्ति गर्ने व्यवस्था छ।  बोर्डका अनुसार विभिन्न देशमा आवश्यकता अनुसार दूत थपिन सक्छन्।  दूत नभएका मुलुकमा पनि नियुक्त गर्न प्रयास थालिने बोर्डले जानकारी दिएको छ। 

प्रकाशित: ६ पुस २०७५ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App