१५ चैत्र २०८० बिहीबार
अर्थ

दुई करोड लगानीमा अगरबत्ती उद्योग

उद्योगमा काम गर्दै महिलाहरु। तस्बिर : योगेश/नागरिक

टीकापुर - आचार्य मल्टी बिजनेस (एएमबी) ग्रुप प्रालिले टीकापुरमा दुई करोड लागतमा अगरबत्ती उद्योग सञ्चालनमा ल्याएको छ। सञ्चालक प्रेम आचार्यले आफै उत्पादन गर्ने नेपालको पहिलो अगरबत्ती उद्योग भएको दाबी गरे। उनका अनुसार अन्यले भारतीय उत्पादनलाई आफ्नो ब्रान्डका नाममा बिक्री गर्ने गरेका छन्। 

अगरबत्ती उद्योगले कच्चा पदार्थ भारतका कानपुर, लखनउ लगायतका बजारबाट ल्याउने गरेको छ। उसले आफ्नै गोदावरी ब्रान्डको विभिन्न किसिमको अगरबत्ती बजारमा ल्याएको छ। ती अगरबत्ती १० देखि सय रुपैयाँसम्ममा बिक्री गर्न सकिने सञ्चालक आचार्यले जानकारी दिए। उत्पादनको केही दिनमै गोदावरी ब्रान्डको अगरबत्तीले बजारमा राम्रो प्रतिक्रिया बटुलेको छ। 

अगरबत्ती उद्योगले एक दिनमा सातदेखि १० लाख ‘स्टिक’ उत्पादन गर्ने क्षमता राख्दछ। अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन केही महिना लाग्ने बताईएको छ। अगरबत्ती उद्योग स्थापनासँगै ३० जनाले रोजगारी पाएका छन्। सञ्चालक आचार्यले उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा थप २० जनाले रोजगारी प्राप्त गर्ने बताए। 

उद्योगमा स्थानीय महिलाले रोजगारीको अवसर प्राप्त गरेका छन। घरगृहस्थी सम्हालेर बसेका महिलाहरुले समेत उद्योगमा रोजगारी प्राप्त गरी आयआर्जनसँग जोडिने सञ्चालक आचार्य बताउँछन्। ‘रोजगारीमा महिलालाई प्राथमिकता राखेका छौं’ उनले भने–‘हामी गृहणी महिलालाई आयआर्जनसँग जोड्न चाहन्छौं।’ 

उनले तत्काल साविक सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा मात्रै बजार विस्तार गर्ने लक्ष्य लिईएको बताए। उनले बिस्तारै आफ्नो उत्पादनले भारतीय अगरबत्ती पूर्ण रुपमा विस्थापित हुने दावी गरे। उनका अनुसार आफ्नो उत्पादनमा गुणस्तरलाई ध्यान दिईएको छ। ‘भारतीय उत्पादन भन्दा निकै गुणस्तरीय छ,’ उनले भने, ‘केही समयमा हाम्रो उत्पादनले देशभरको बजार ओगट्नेछ।’

उनले आगामी दिनमा अगरबत्तीमा प्रयोग हुने बाँसको सिन्का समेत आफै उत्पादन गर्ने योजना रहेको सुनाए। जसका लागि सिप सिक्न एकजनालाई चीन पठाउने तयारीमा छन। उनी अगरबत्तीमा प्रयोग हुने बाँस खेतीका लागि जग्गाको खोजीमा समेत छन। 

‘कच्चा पदार्थ समेत बाहिरबाट नल्याउने गरी उद्योग सञ्चालन गर्ने सोचमा छुँ’ उनले भने–‘यसका लागि चुनौती भने धेरै छन।’

उनी रिचार्ज कार्ड र डिस होमको थोक बिक्रेता हुन। उनले अर्काको काम गर्नुभन्दा आफै उत्पादनसँग जोडिन अगरबत्ती उद्योग सुरु गरेको बताए। उनले उद्योगले उत्पादन पनि दिने र रोजगारी समेत सिर्जना गर्ने भएकाले यसतर्फ आकर्षित भएको बताए।  

प्रकाशित: ५ पुस २०७५ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App