९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

दुई दशकदेखि भन्सारविहीन तिंकर नाका, घट्दै तिब्बत व्यापार

समुद्र सतहबाट ३७०० मिटर उचाइमा रहेको उत्तर–पश्चिममा पर्ने तिंकर गाउँ। यही गाउँमा दुई दशकअघिसम्म तिंकर छोटी भन्सार कार्यालय थियाे। तस्बिर : प्रेम/नागरिक

दार्चुला – दार्चुलाको नेपाल–भारत र चीन जोड्ने त्रिदेशीय व्यापारिक नाकाको सीतापुल तिंकर छोटी भन्सार दुई दशकदेखि विस्थापित अवस्थामा छ। नेपाल, भारत र चीनको सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दै आएको छ।

भारत र चीनबीच चल्दै आएको यस्तो कारोबार चीनको ताक्लाकोट बजारमा हुन्छ। भारत र चीनको व्यापार भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र भएर हुन्छ। सीमा नाकामा भन्सार नहुँदा नेपाल–चीन व्यापारबाट आउने राजस्व गुमिरहेको छ।

राज्यको पहुँच पुग्न नसकेको यस क्षेत्रमा ६ महिना मात्र सुरक्षा निकायको उपस्थिति हुने गरेको छ।  द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय अझै पुनस्र्थापना हुन सकेको छैन। अहिले व्यास क्षेत्र स्थानीय शौका समुदाय र प्रहरी बेसी झरेसँगै त्यो क्षेत्र राज्यविहीन रहेको छ।

व्यास गाउँपालिकाको वडा नं १ साबिकको व्यास गाविस चीन र भारतसँग जोडिएको त्रिदेशीय बिन्दु भए पनि नेपालको राज्य संयन्त्रको पहुँचबाहिर रहेकाले त्यस क्षेत्रमा बेलाबेलामा अवाञ्छित गातिविधि समेत हुने गरेका छन्।

दार्चुला जिल्लाको उत्तरी तिंकर नाकाबाट वन्यजन्तु तस्करी भइरहेको भनी जिल्ला नै बदनाम भइरहेको छ। तिंकर नाका प्रयोग गरी विभिन्न दुर्लभ वन्यजन्तुका अंग र बहुमूल्य जडीबुटी तस्करी हुने चर्चा बेलाबेलामा सुनिन्छ। भौगोलिक विकटता र राज्यको पहुँच नभएका कारण तस्करले यो नाका निर्वाध प्रयोग गरिरहेका छन्।

प्रहरी वर्षभरी नै तिंकरमा बस्न सक्दैन। यही मौकामा तस्करको चहलपहल बढ्ने गर्छ। भारत र चीनसँग सीमा जोडिएको व्यासमा ६ महिनामात्र नेपाल प्रहरीले सुरक्षा दिन्छ। भारत र चीनले भने उक्त सीमा क्षेत्रमा चार–पाँच प्रकारका सुरक्षा निकाय राखेको छ।

द्वन्द्व टुंगिएको १२ वर्ष पुग्दा समेत राज्यले उक्त क्षेत्रमा छोटी भन्सार पुनस्र्थापना र १२ महिनै सुरक्षाकर्मी राख्ने व्यवस्था नगरेकामा स्थानीय खिन्न छन्। ‘छिमेकी देशले सीमामा कस्तो राम्रो व्यवस्था गरेको छ, हाम्रो भने पञ्चायतकालभन्दा गएगुज्रेको अवस्थामा छ,’ तिंकरका स्थानीय  दानसिंह तिंकरीले भने, ‘सीमामा राज्यको उपस्थिति खासै नहुँदा बेलाबेलामा अप्ठेरो महसुस।’

व्यास गाउँपालिकाको तिंकर र छाङरु गाउमा गरी दुई मात्र शौका समुदायको बस्ती रहेको छ। उक्त क्षेत्रमा शौका समुदायका मानिसहरु परम्परादेखि नै ६ महिना हिमाल र ६ महिना बेंसी खलंगा बसोबास गर्दै आएका छन्। व्यासजस्तो सामरिक महŒव बोकेको क्षेत्र राज्यबाट टाढा रहेको त छदैछ ६ महिना मानवविहीन हुन पुग्छ। उक्त ६ महिना सुरक्षा र मानवविहीन हुँदै गएपछि चोरी निकासी काम गर्नेका लागि राम्रो रुट बन्दै आएको स्थानीयको भनाइ छ।

लामो समयपछि स्थानीय तहले नेतृत्व पाएपछि व्यास गाउपालिकाका निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले तिंकर र तिग्रममा छोटी भन्सार राख्न सम्बन्धित निकायलाई अनुरोध गरिसकेको व्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताए। गाउँपालिकाबाट व्यास गाउपालिका–१ मा रहेको तिंकर र ५ मा रहेको तिग्रममा छोटी भन्सार कार्यालय सुचारु गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।यसँगै दार्चुला जिल्लाका भारतसँग सीमा जोडिएका अन्य दत्तु र जौलजीबी छोटी भन्सार पनि हालसम्म विस्थापित अवस्थामा छन्।

भारतको तुलनामा चिनियाँ व्यापार न्यून
चीनको त्रिदेशीय नाका क्षेत्रमा हुने व्यापार भारत–चीन सरकारले गरेको व्यापार सम्झौतापछि भारतसँग बढेको छ भने नेपालसँग विगतमा हुने गरेको परम्परागत व्यापारमा समेत कमी आएको छ। दुई देशबीच व्यापार सम्झौता भएदेखि पाँच महिनासम्म भारतीय र चीनियाँ व्यापारबीच व्यापार हुने गर्छ भने नेपाली व्यापारीले विगत झन्डै १० वर्षदेखि चिनियाँ सामान दार्चुला ल्याउन सकेका छैनन्।

‘चिनियाँ सीमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो नभएका कारण ताक्लाकोट दार्चुला व्यापार सून्यमा झरेको छ।’ विगत २५ वर्षदेखि ताक्लोकाटको गुत्गाउँमा व्यापार गर्दै आएका दार्चुलाका दानसिंह तिंकरीले बताए। पञ्चायत कालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बहादुरसिंह ऐतवालको पालामा निर्माण भएको दार्चुला तिंकर गोरेटो बाटोको मर्मत र पुनर्निर्माण नहुँदा ताक्लाकोट दार्चुला व्यापार बन्द नै भएको विगतमा ताक्लाकोटबाट सरसामान ल्याई व्यापार गर्ने दार्चुला खलंगाका व्यापारी मोहन बडालले बताए।

‘बाटो नै छैन, भरिया लगाएर समान ल्याउन खोज्यो भने पनि नेपालतिर भन्सार नहुँदा ताक्लाकोटबाट खलंगा समान ल्याउन सकिन्न,’ तयारी पोषाकका व्यापारीसमेत रहेका बडालले भने। १० वर्ष पहिलेसम्म पनि चिनियाँ समानका लागि सीमावर्ती भारतीय नागरिक खलंगा आउने गरेकामा अहिले भारत जानुपर्ने अवस्था रहेको छ।२०५६ देखि दार्चुला तिंकर गोरेटो बाटो पूर्ण रुपमा बन्द भएको भए पनि २०६३ सम्म भरियामार्फत चिनियाँ सामान खलंगा ल्याउने गरेको बताउँदै उनले त्यसपछि भने भन्सार नतिरेको भन्दै प्रहरीले ताक्लाकोटको समानमा कडाइ गरेपछि ताक्लाकोटसँगको व्यापार पूर्ण रुपमा बन्द गरेको बताए।

प्रकाशित: २६ मंसिर २०७५ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App