coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भ्रष्टाचार मुद्दापछि सिक्टाको काममा अन्योल

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा साढे आठ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको अभियोग लगाउँदै भ्रष्टाचार मुद्दा दर्ता गरेपछि भइरहेको काम के हुने भन्नेमा अन्योल देखिएको छ ।

सिँचाइ विभागले सञ्चालन गरिरहेका विभिन्न आयोजनामध्ये सिक्दामा हालसम्मकै धेरै भ्रष्टाचार भएको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेपछि यस्तो अन्योल देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले ठूलो संख्याका कर्मचारी र निर्माण व्यवसायीविरुद्ध आयोगले मुद्दा दायर गरेपछि केही कर्मचारी अन्योलमा परेको बताए । ‘मुद्दा दर्तापछि देखिएको अन्योल प्रधानमन्त्री, मन्त्री तथा आयोगबीच नै छलफल भएर अन्त्य गर्नुपर्छ,’ तिवारीले भने । आयोगले मुद्दा दर्ता गरेपछि मन्त्रालयले सिक्टा आयोजनाबारे छलफल गरेको छैन । सिँचाइ मन्त्री वर्षमान पुनको व्यस्तताका कारण छलफल हुन नसकेको बताइएको छ ।

विगतमा भएको काममा अनियमितता देखिएकाले त्यसको टुंगो अदालतबाट नलागुन्जेल बाँकी खण्डको काममा अवरोध नआओस् भनेर आयोगले सहयोग गर्नुपर्ने अपेक्षा छआ

योगले सिक्टामा आठ अर्ब ५९ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै शुक्रबार ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जसमा सिक्टा आयोजनाका पूर्वप्रमुख तथा हालका सिँचाइ विभागका महानिर्देशक सरोजचन्द्र पण्डितसहित आयोजनाका चारजना पूर्वप्रमुख छन् । मुद्दा दर्तासँगै पण्डित निलम्बनमा परेपछि विभाग महानिर्देशकविहीन भएको छ ।

आयोगले सिक्टामा हालसम्म गरिएको लगानी शून्यमा पुगेको ठहर गर्दै मुद्दा दर्ता गरेको जनाएको छ । आर्थिक वर्ष २०६१/६२ मा सुरु गरिएको सिक्टामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । जसमध्ये आठ अर्ब ५९ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै ठेकेदार, परामर्शदाता र कर्मचारीसँग बिगो असुल गर्नुपर्ने आयोगको माग दाबी छ ।

चालु आर्थिक वर्षमा सिक्टामा पूर्वी खण्डको नहर र विभिन्न शाखा नहरको काम गर्न करिब चार अर्बमा ठेक्का लागेको छ । यीबाहेक डुडुवा शाखा नहरको काम गर्ने ठेक्का लिएको कोस्टाल पप्पु कन्स्ट्रक्सनले तोकिएको अवधिमा निकै थोरै काम गरेपछि उसलाई कारबाही प्रक्रिया अघि बढेको छ । २३ किलोमिटर डुडुवा शाखा नहर निर्माण गर्न कोस्टाल पप्पुले करिब ९८ करोड रुपैयाँमा ठेक्का लिएको थियो । २८ महिनामा निर्माण कार्य सक्ने गरी सम्झौता गरेको कोस्टाल पप्पुले त्यस अवधिमा जम्मा सात प्रतिशत काम गरेपछि अघिल्लो महिनादेखि कारबाहीको प्रक्रिया थालिएको हो ।

मन्त्रालय कर्मचारीका अनुसार यतिखेर सिक्टामा देखिएको मुख्य समस्या ठेक्का प्रक्रियामा गइसकेका खण्डको काम कसरी अघि बढाउने भन्ने हो । विगतमा भएको काममा अनियमितता देखिएकाले त्यसको टुंगो अदालतबाट नलागुन्जेल बाँकी खण्डको काममा अवरोध नआओस् भनेर आयोगले सहयोग गर्नुपर्ने कर्मचारी बताउँछन् ।

‘सिक्टा राष्ट्रिय गौरवको आयोजना हो,’ सहसचिव तिवारीले भने, ‘कुनै पनि हालतमा उक्त आयोजना असफल हुनु हुँदैन भन्ने मन्त्रालयको चाहना छ । यस्तो बेला राम्रो नियतले काम गर्नेलाई केही हुँदैन भनेर विश्वासमा लिई ठेक्का लागेको कामलाई निरन्तरता दिने वातावरण बनाउन आवश्यक छ ।’

सिक्टामा काम गरेका ठूलो संख्याका कर्मचारीलाई मुद्दा लागेपछि केहीले डर, त्रास महसुस गरेको बताइन्छ । ‘गलत काम गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कार दिइन्छ भन्ने मान्यतालाई जोड दिने बेला आएको छ,’ एक कर्मचारीले भने, ‘जिम्मेवार तहमा रहेका व्यक्ति र निकायले सहजीकरण गर्नुपर्ने भयो ।’ बाँकेको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी सुरु भएको उक्त आयोजना कहिले सम्पन्न होला भनेर वर्षौंदेखि किसान प्रतीक्षारत छन् । अबको दुई वर्षमा सिक्टाको निर्माण कार्य पूरा गर्ने लक्ष्य थियो ।
भ्रष्टाचार गर्नेलाई कारबाहीको प्रक्रियामा लैजानु निकै सकारात्मक रहेको उल्लेख

गर्दै अर्का कर्मचारीले भने, ‘मुद्दा दर्ता भएपछि आयोजनालाई कसैले पनि अलमलमा पार्नु हुँदैन ।’ सिक्टा सम्पन्न गर्न सकिएन भने राज्यको ठूलो रकम गुम्छ । अर्कोतर्फ नेपालको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत हुने धेरैको भनाइ छ । ‘सिक्टामा नेपाली इन्जिनियरिङ क्षेत्रका विज्ञ कहलिएका थुप्रै व्यक्तिको मेहनत र अनुभव प्रयोग भएको छ,’ ती अधिकारीले भने ।

आयोगले सिटिसिई कालिका कन्स्ट्रक्नसले निर्माण गरेको पश्चिम खण्डको मूल नहरमा भ्रष्टाचार भएको ठहर गरेको हो । पश्चिम खण्डको ४५ किलोमिटर लामो मूल नहरमध्ये ४२ किलोमिटर सिटिसिई कालिकाले निर्माण गरेको हो । जुन नहर परीक्षणको क्रममा पटकपटक भत्कने गरेको छ । स्थानीयले विगतदेखि नै मूल नहरको निर्माण कार्य गुणस्तरीय हुन नसकेको बताउँदै आएका छन् । पछिल्लोपटक साउन ७ गते मूल नहरमा पाँच क्युमेक्स जति पानी पठाएर परीक्षण गर्दा भत्किएको थियो । यो ५० क्युमेक्स पानी अटाउने गरी बनाइएको हो ।

प्रकाशित: २४ मंसिर २०७५ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App