१६ चैत्र २०८० शुक्रबार
अर्थ

सुन्तला खेतीले किसानको मुहारमा चमक

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बामा फलेको सुन्तला। तस्बिर : गिरिराज/नागरिक

कुरुम्बा (पाँचथर) – दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका तेजबहादुर लावतीले आफ्नो बगानको सुन्तलाको दाम ६ लाख ५० हजार थापेका छन्। उनको घरैको छेउदेखि फैलिएको बगानमा लटरम्म सुन्तला फलेको छ।

सुन्तला टिप्ने बेला हुनुभन्दा केही हप्ताअगाडि नै बगानमै व्यापारीले किनिदिए। उत्पादन जोखेर भन्दा पनि बगान हेरेको भरमा उनले यतिको दाम हात पारेका हुन्। सुन्तला बोटैमै छ तर आकर्षक दाम उनको गोजीमा परिसकेको छ।

२०६० देखि व्यावसायिक सुन्तला खेती लगाएका उनको बगानमा ६ सय बोट सुन्तलाका बोट छन्। केही बोटबाट अझै उत्पादन दिन बाँकी छ। ‘यसपालि केही कम सुन्तला फले पनि सन्तोषपूर्ण आम्दानी हासिल भयो। बोटले नै नथाम्ने गरी सुन्तला फलेको छ।

नयाँ बिरुवा फस्टाउदै छन्। अगामी वर्षमा झन धेरै फल्ने आश गरेको छु,’ शिक्षकसमेत रहेका लावतीले नागरिकसँग भने, ‘गाउँभरी यसरी नै सुन्तला फलेको छ। परम्परागत खेतीलाई आधुनिकीकरण गर्दा आम्दानीको लोभलाग्दो माध्यम बन्यो।’

तेजबहादुरको जस्तै पहेलो सुन्तलाले कुरुम्बाका किसानको अनुहारमा चमक आएको छ। साविक कुरुम्बा गाविसको २, ३ र ४ नम्बर वडाका हरेक घरमा सुन्तला खेती लगाइएको छ। धान फल्ने खेत र मकै कोदो  छाडेर ६० को दशकको प्रारम्भदेखि यहाँका किसानले व्यावसायिक रुपमा सुन्तला खेती लगाएका छन्।

यतिबेला सुन्तला पाकेर हेरिरहु लाग्ने पहेलपुर भएको छ। सुन्तला बेच्ने चिन्ता किसानलाई पटक्कै छैन। केही साताअघि नै व्यापारीले बगानका बगान किनिसकेका छन्। पहाडको भिरालो जमिनमा लटरम्म फलेको सुन्तलाले आकर्षण दिएको छ। नयाँ बिरुवा उत्तिकै मात्रामा थपिँदै छ।

हरेक घरमा लगाइएको सुन्तलाको दिएको आम्दानीले किसानका अनुहारमा खुसी देखिन्छ। यस्तै खुसी सुनाउछिन् इन्द्रकुमारी लावती। सुन्तला खेती गरेवापत नै राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरिसकेकी इन्द्रकुमारी नयाँ बिरुवाबाट पनि फल दिन थाल्दा आम्दानी दोब्बर हुने बताउँछिन्।

यसपालि पाँच लाखको सुन्तला बेचेकी उनले सबै बिरुवाले फल दिन थाल्दा वार्षिक १० गुणा बढी आम्दानी गर्ने सुनाइन्। सुन्तलामा मेहनतका साथ काम गरिरहेको बताउदै आम्दानी र सम्मान दुवै पाएको उनको भनाइ छ। २० रोपानीमा आफ्नो खेती भएका उनले बताइन्।

यहाँ गाउँमै बिरुवा उत्पादन हुन्छ। यो गाउँमा परम्परादेखि नै सुन्तला फल्ने भए पनि  व्यवसायिक रुपमा खेती थालिएको डेढ दशक भयो। विगतमा खाएर तथा कोसेली पठाएर सकिने सुन्तला यतिबेला कमाइको माध्यम बनेको छ। सुरुमा बाहिरबाट बिरुवा ल्याए पनि अहिले गाउँमै बिरुवा उत्पादन गरेर बेच्न समेत थालिएको किसानहरुले सुनाए।

यतिबेला व्यापारीले सुन्तला टिप्न थालेका छन्। ठूलो आकारमा फलेको सुन्तला स्वादिष्ट समेत भएको बताइन्छ। पूर्वका विभिन्न बजारमा यहाँको सुन्तला रुचाइएकाले बगान किन्न व्यापारीले प्रतिस्पर्धा नै गर्ने गर्छन्। किसानले निक्कै मेहेनतले सुन्तला हुर्काएको पाइन्छ।

सुन्तलामा रोग देखिन खोजे पनि यसबाट जोगाउने प्रविधि अपनाएको किसान तेजबहादुरले बताए। सडक बनेसँग बगानबाटै व्यापारीले सुन्तला उठाउने गरेका छन्। ‘बगानबाट सुन्तला टिप्न थालेका छौं। मागअनुसार तराईका बजारमा पुर्याउछौं,’ व्यापारी धनकुमार लावतीले भने, ‘बगानमै आएर किन्छौं। अघिल्लो वर्ष एक करोड १० लाख रुपैयाँबराबरको सुन्तला यहाँबाट बिक्रीका लागि लगेको थिए।’

यस क्षेत्रका किसानले सुन्तला खेतीलाई नै आम्दानीको मुख्य माध्यम बनाउने गरेका छन्। सुन्तला खेतीमार्फत आर्थिक अवस्थामा सुधार ल्याउन स्थानीय किसान मेहनत गरेर लागेका छन्। यहि मेहेनतले बोट नथाम्ने गरी किसानको बगानमा सुन्तला फलेका छन्। सुन्तला खेतीले किसानलाई आम्दानी दिनुका साथै गाउँको पहिचानसमेत स्थापित गरेको वडाध्यक्ष अविशेक लावती बताउँछन्। किसानले पाउने मूल्य अनुमानित डेढ करोडभन्दा बढी रहेको उनले बताए। बजार मूल्य भने साढे दुई करोडभन्दा धेरै हुने उनको भनाइ छ। गाउँपालिकाबाट पनि किसानलाई सहयोग भइरहेको उनको भनाइ छ। यो ठाउँ सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको छ।

सुन्तला फसल विगतको भन्दा अलि लेकतिर राम्रो हुन थालेको किसानको अनुभव छ। पुराना ठाउँभन्दा पनि माथिल्लो बस्तीमा सुन्तला राम्रो देखिएको स्थानीय इन्द्रकुमारीले जानकारी दिइन्। कुरुम्बाको सुन्तला भन्ने छुट्टै पहिचानसमेत रहेको छ। किसानले नयाँ खेती विस्तार गरेका छन् भने बिरुवाहरु फसल दिने बेला पुग्दै गरेको पनि देखिन्छ। सुन्तला खेतीलाई टिकाई राख्न र थप विस्तार गर्न गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने काम अघि बढाएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखिले बताए।

प्रकाशित: २३ मंसिर २०७५ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App