२७ श्रावण २०७७ मंगलबार
अर्थ

विषादीविरुद्ध नालाका किसान

विषादीविरुद्धको अभियानमा संलग्न नालाका महिला घरधुरी सर्वेक्षण सार्वजनिकीकरण कार्यक्रममा। तस्बिर : नागरिक

बनेपा – रासायनिक विषादी नहालिकन तरकारी फल्दैन भन्ने मान्यता बोकेका काभ्रे, बनेपा नगरपालिका (साबिक उग्रचण्डी र टुकुचा नाला गाविस)का महिला यतिखेर विषादीविरुद्ध उभिन थालेका छन्।

‘केही वर्ष अघिसम्म तरकारी बालीमा रोगकीरा देखिनेबित्तिकै दिदी बहिनीहरु कडा विषादी छर्कन थालिहाल्नुहुन्थ्यो। अहिले सकेसम्म विषादी छर्कनै नपरोस् भन्ने चाहना राख्ने र छर्कनैपर्ने अवस्था आए सकभर जैविक र सुरक्षित विषादी रोज्न थाल्नुभएको छ,’ महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठले भनिन्।

लामो समयसम्म खेतबारीमा छरेको विषादीको कारण क्यान्सरले गाँजेकी श्रेष्ठ नियमित उपचारपछि स्वस्थ भएकी छिन्। आफू स्वस्थ भएलगत्तै विषादीको जोखिममा रहेका महिलालाई यसको असरबाट जोगाउन अभियान नै सञ्चालन गर्दै आएकी हुन्।

‘म आफू क्यान्सरपीडित भएर पनि बाँच्न सफल भएँ, तर क्यान्सरपीडित कैयौं मेरा दौंतरीले ज्यान गुमाइसकेका छन्। अब पनि सचेत भएर विषादी न्यूनीकरण अभियान सुरु गरिएन भने विषादीको अन्धाधुन्ध प्रयोगले खेतीमा संलग्न किसानलाई मात्र नभई उपभोक्तालाई र वातावरणीय प्रदूषणले समाज र राष्ट्रलाई नै हानि पुर्याउने भयो,’ श्रेष्ठले थपिन्।

पछिल्लो समय तरकारी उत्पादनमा ख्याति कमाएको नालालाई रासायनिक विषादीको प्रयोगबाट मुक्त गराउने उद्देश्यले श्रेष्ठसहितका महिला जागरण समूहमा आवद्ध भएर पर्यावरणीय न्याय र अधिकारमा महिलाको क्षमता अभिवृद्धिका लागि क्रियाशील बन्न थालेका छन्।

‘नालामा विषादीको बढी प्रयोग हुने गरेको हल्ला थियो। तर, कति र कसरी प्रयोग भइरहेको छ भन्नेमा अध्ययन र अनुसन्धान भएको थिएन। हामीले टेवा नेपालको सहयोगमा साबिक उग्रचण्डी गाविसको विभिन्न टोलका एक सय २८ घरधुरीमा सर्वेक्षण गरेका छौं,’ श्रेष्ठले थपिन्।

सर्वेक्षणले रासायनिक र हानिकारक विषादीको प्रयोग घटेको मात्रै नभई रासायनिक मलको विकल्पमा समेत किसानले सोच्दै व्यापक रुपमा जैविक मल प्रयोगमा ध्यान दिन थालेको उनको भनाइ छ। ‘रासायनिक विषादीका साथै रासायनिक मलको प्रयोगलाई क्रमशः कम गर्दै लगेको पायौं। घरेलु वानस्पतिक विषादी र जैविक मलको उपयोगसमेत बढाउन थालेका छन्,’ श्रेष्ठले भनिन्।

विषादी छर्ने क्रममा किसानले सुरक्षित पोसाक (मास्क, पञ्जा र चस्मा, रेनकोट या पूरै जीउ ढाक्ने लुगा)को प्रयोग गर्न थालेको पनि सर्वेक्षणले देखाएको छ। ‘घरपरिवारका अधिकांश पुरुष सदस्य रोजगारी र अध्ययनमा व्यस्त भएकाले विषादी छर्ने काममा महिला संलग्न छन्। महिलाले जाने–बुझेसम्म सावधानी अपनाए पनि विषादीबारे उनीहरुलाई अझै बढी ज्ञान र सीप प्रदान गर्ने लक्ष लिइएको हो,’ उनले भनिन्।

बनेपा नगरपालिका कृषि शाखाका अनुसार नगरमा करिब दुई हजार घरपरिवार तरकारी खेतीमा संलग्न छन्। अधिकांश किसानले नगदे बालीका रुपमा आलु, गोलभेंडा, काउली र मूला खेती गर्दै आएका छन्। ‘हिजो हामी फिल्डमा जाँदा किसान रोगकीराका लागि सबैभन्दा कडा विषादी लेखिदिन अनुरोध गर्थे, आज सकेसम्म जैविक विषादी नभए सुरक्षित विषादी लेखिदिन भन्न थालेका छन्,’ शाखाका कृषि प्राविधिक मुकुन्द केसीले भने।

विषादी छर्केपछि पर्खनुपर्ने अवधि (वेटिङ पिरियड)लाई समेत किसानले ध्यानमा राख्न थालेकाले नालाबाट जाने तरकारीमा विषादीको अवशेष तोकिएको मात्राभन्दा नबढेको उनको भनाइ छ। ‘किसानलाई रोग कीरा नियन्त्रणका लागि सम्भव भएसम्म जैविक र वानस्पतिक विषादी सिफारिस गर्दै आएका छौं। सम्भव नभए सुरक्षित विषादीको ठिक्क मात्रासहित वेटिङ पिरियडसमेत बुझाएर पठाउने गरेका छौं। यसबाट पनि सकभर रासायनिक विषादी प्रयोग नगर्ने र आवश्यक भइहालेमा जैविक तथा वानस्पतिक विषादी नै खोज्ने किसानमा बानी बसेको पाइएको छ,’ केसीले भने।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय (हाल कृषि ज्ञान केन्द्र) काभ्रेले नालालगायत व्यावसायिक तरकारी खेती हुने पकेट क्षेत्रमा पछिल्ला वर्षमा रासायनिक विषादीको प्रयोग घट्दै गएको देखाएको छ। पाँच वर्षअघि काभ्रे जिल्लामा ८६ टन विषादीको खपत भएकोमा यो परिमाण क्रमशः घट्दै आव ०७३÷७४ मा ७०.२५ टनमा आइपुगेको छ।

‘अझै तथ्यांकमा धेरै देखिए पनि काभ्रे जिल्लामा खपत भएको विषादीको आधा परिणाम मध्यपहाडका छिमेकी जिल्लामा थोक बिक्रेतामार्फत जाने भएकाले वार्षिक ३५ टन हाराहारी मात्रै यहाँ खपत हुने गरेको छ। यसबाट समेत तरकारी खेती हुने क्षेत्रमा क्रमशः विषादी प्रयोग घट्दै गएको देखिन्छ,’ काभ्रे एग्रोभेट एसोसिएसनका महासचिव सुवासकुमार धितालले भने।

प्रकाशित: २३ मंसिर २०७५ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App