२२ असार २०७७ सोमबार
अर्थ

धानबाली खडेरी र बाढीकाे चपेटामा

बर्दिया - यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ। धान उत्पादनका हिसाबले अब्बल मानिने जिल्लाका किसान भने निराश छन्। सरकारी तथ्याकंमा १० वर्षको अवधिमा खेतीयोग्य जग्गाको क्षेत्रफल ३० हजार हेक्टर घटेको छ। तथ्याकंले  खेतीयोग्य जग्गाको क्षेत्रफल घट्दा धान उत्पादन ह्रास भइरहेको पुष्टि गर्छ।

१० वर्षअघि ७५ हजार हुने धानखेती यस वर्ष ४५ हजार पाँच सय हेक्टरमा रोपाई भएको पाइएको छ। यस वर्ष पनि धान उत्पादन घटेको किसानको अनुमान छ। क्षेत्रफल घटे पनि धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक कमल तामाङले बताए। ‘यस वर्ष बाढी आएन,’ उनले भने, ‘डुवानमा नपरेकाले धान उत्पादन बढ्ने हाम्रो अनुमान छ।’

कहिले धान खेत डुवानमा पर्ने समस्या त कहिले सिँचाइ नहुँदा खेत सुक्खा हुने। यो विडम्बना मुलुककै अन्न उत्पादन हुने क्षेत्र भनेर चिनिने बर्दिया जिल्लाको हो। बेमौसममा पर्ने अधिक वर्षाका कारण आउँने बाढी प्रकोपले यहाँका किसान तनावमा हुने गरेको खैरीचन्दनपुरका पूर्वगाविस अध्यक्ष   देवीप्रसाद घिमिरेले बताए।

‘सातासम्मको फरकमा असार र साउन महिनामा झरी पथ्र्र्योे,’ उनले भने, ‘यस वर्ष लामो समय खडेरी प¥यो, रोपाइका बेला बाढी आउने त्रास भयो परम्परागत खेती गर्ने किसान प्रतिकुल मौसमका कारण चपेटामा परे।’ उनका अनुसार एक दशक अघिदेखि नगदे बालीमा आत्मनिर्भर भएका किसान वैकल्पिक पेसामा संलग्न छन्। बर्सेनि धान उत्पादन ह्रास हुनुमा मौसम परिवर्तलाई उनी दोस दिन्छन्।
‘मौसममा देखिने स्थिरताले उत्साहित किसानले सयौं बिघामा खेती गर्थे,’ उनले भने ‘यतिबेला अधिक वर्षा र समयमा पानी नपर्दा नगदे बालीको उत्पादन घट्दो क्रममा छ।’

२०७१ देखि लगातार २०७४ साउन अन्तिममा कर्णाली र बबई नदीमा आएको बाढीले एक हजार बिघाभन्दा बढी खेत डुवानमा परेको प्रशासनमा तथ्याकं छ।

कृषि पेसामा आश्रित उनी मौसम प्रतिकूल नहुँदा खेतीयोग्य जग्गा वैकल्पिक काममा प्रयोग गर्न बाँधय भएका हुन्।

पानी नपरे धानको बीउ राख्न आकासतिर हेरेर बस्नुपर्छ । धेरै परे लालाबाला र घर जोगाउन मुस्किल पर्छ ।  वर्षा भए गाउँका सबै घर डुवानमा पर्छन्। धानखेती मात्र होइन, बेमौसी वर्षाका कारण स्थानीयले गहुँखेती गर्दा पनि डुबानको समस्या झेल्नु परेको उनले स्मरण गरे।

किसानको  बसोबास रहेको यस क्षेत्रमा बाढीको डुबान र कटानका कारण जीवनयापन झन् कष्टकर बन्दै गएको उनले बताए । ‘पानी नपर्दा सिँचाइ गर्न बोरिङ गरेर रोपाई गर्नुपर्छ, कहिले अधिक वर्षाले धान बाली नष्ट गर्छ,’ किसान छोटलाल थारुले भने।

जिल्ला भएर बग्ने कर्णाली र बबईमा आउँने बाढीले यहाँका किसान पीडित भएको शिक्षक माधव निगमले बताए। ‘साउन अन्तिम नजिँकिदा डर लाग्छ, बर्सेनि आउँने बाढीले खेतीयोग्य जग्गा बगरमा परिणत गरिरहेको छ,’ उनले भने।

‘यहाँका एक बिघा खेतमा मनग्य धान फल्छ, यसैगरी हिउँदमा गहुँ, मसुरो, तोरी प्रशस्त उत्पादन हुन्छ,’ उनले भने, ‘प्रतिकूल मौसमले किसान समस्यामा पर्छन्।’ दुवै सिजनमा नगदेबाली हुने खेत बगरमा परिणत भइरहेकोे उनले सुनाए।

२०५८ मा पहिलो पटक मकवानपुर जातको धान राजापुर क्षेत्रबाट सुरुआत भएको हो। यस धानबाट चिउरा बन्ने हुनाले मकवानपुर धानको उच्च माग छ। तर, उर्वर भूमि हुँदाहुँदै पनि यहाँ किसान लाभान्वित हुन सेकेका छैनन्। मकवानपुर जातको धान अधिकांश किसानले लगाए पनि विस्तार गर्न नसकेको उनको भनाइ छ।

सडक सञ्जालले नजोडिनु, नदी कटान, सरकार हेर्ने विभेदकारी दृष्टिकोण कृषिमा यो क्षेत्रपछि परेको स्थानीयले औल्याउँछन्।

कृषि विकास कार्यालयका अनुसार बर्दियामा धानखेती हुन योग्य जमिन ७५ हजार हेक्टर हो। तर, ४५ हजार पाँच सय हेक्टर मात्र धानखेती भइरहेको छ। एक दशकअघिसम्म धान उत्पादन गर्ने किसान अन्य खेतीतर्फ आकर्षित भएको कृषि विकास कार्यालयका प्राविधिक सहायक तामाङले बताए।

उनका अनुसार बर्खे धानमा सिँचाइ र डुवान हुँदा किसान उत्साहित हुन नसकेका हुन्। ‘डुवान र सिँचाइ नहुने समस्या किसानलाई छ,’ उनले भने, ‘डुवानमा पर्दा किरा लाग्ने समस्या उत्पादमा ह्रास आइरहेको छ, मनसुन बेलैमा सुरु नहुँदा बोरिङ लगाएर रोपाई गर्दा किसानको खर्च बढिरहेको छ ।’ बाढीकै कारण रोग भित्रिएको उनले जानकारी दिए। विकासका दृष्टिकोणले निकै पछाडि रहेको तराईको यो जिल्ला कृषिजन्य बस्तु उत्पादनका हिसाबले अब्बल मानिन्छ।

बर्सेनि बबई र कर्णाली नदीमा बाढी आउँन थालेपछि उर्वर भूमि बगरमा परिणत हुँदा पनि राज्यको विभेदकारी नीतिका कारण पछाडि परेको किसानको आरोप छ। बर्सेनि नदीमा आउँने बाढीले खेतीयोग्य जग्गा कटान गर्दा उत्पादमा ह्रास हुँदै गएको हो।

अन्नकोे भण्डार भनेर चिनिने पश्चिम र पूर्वी बेल्टका किसान कहिले बाढी र खडेरीको चपेटामा पर्ने गरेको उनले बताए। देशभरमा एकसाथ मनसुन प्रणाली सक्रिय नहुँदा खण्ड वृष्टिले बाढीको समस्या निम्त्याएको मौसम पूर्वाअनुमान शाखाका मौसमविद निमकुमार अर्यालले बताए।

‘मौसमको तौरतरिका बदलिरहेको छ,’ उनले भने, ‘कहिले पानी पर्दा जमिन चिसिन सक्दैन, लगातार पानी पर्दा बाढी आउने गर्छ।’ उनका अनुसार मनसुन प्रणाली देशभर एकसाथ सुरु हुनुपर्नेमा केही वर्ष अघिदेखि मनसुनले तौरतरिकामा बदलेको देखिन्छ।

नदी नियन्त्रणका लागि सञ्चालित आयोजना अधुरै
सरकारले चार वर्षअघि स्थापना गरेको कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाले पाँच वर्षभित्र ४३ किलोमिटर पक्की तटबन्ध निर्माण गर्ने लक्ष्य लिएको छ। पाँच वर्षे आयोजनाको चार वर्ष बितिसकेको छ। तर, उक्त आयोजनाले लक्ष्य अनुसार कार्य प्रगति गर्न नसक्दा अझै राजापुर क्षेत्र सुरक्षित बन्न सकेको छैन। आयोजना कार्य प्रगति ३० प्रतिशत मात्र रेकर्डमा देखिन्छ।

यस्तै, बबई नियन्त्रणका लागि बबई सिँचाइ मूल नहर र शाखा नहर निर्माण गरेर ४० हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने उद्देश्यले २०४५ सालदेखि काम सुरु गरेको हो। यो आयोजना सञ्चालन भएको तीन दशक बितिसकेको छ। अहिलेसम्म मूल नहरको काम सम्पन्न नभएको बबई नहर जलउपभोक्ता समितिका अध्यक्ष बलिराम थारुले बताए। ‘मूल नहरको काम अझै पूरा भएको छैन,’ उनले भने, ‘नदीमा पनि कहिले बाढी आउने र किसानलाई पानी चाहिने बेला नदी सुक्खा हुने गर्छ।’  

२०४४ देखि सुरु भएको नदी कटान बढ्दो क्रममा रहेको स्थानीय बताउँछन्। कर्णाली नदी दुई भंगालामा विभाजित छ। कैलाली छुट्याउने अर्को भंगालो छ भने  बबई नदीका दुई शाखा भादा र मानखोलाले जिल्लालाई चार खण्डमा विभाजन गरेको छ। यसले बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत गरिरहेको छ।

कृषिमै भविष्य देखेका पदनाहाका रामलौटन चौधरीले नयाँ–नयाँ जातका धानको बीउ भित्र्याएको बताए। ‘सिँचाइ अभाव र डुवानको समस्या बर्सेेनि भइरहेको छ,’ उनले भने। दक्षिणतर्फ भारतले निर्माण गरेको बाँधका कारण नेपाली किसान समस्यामा पर्दै आएको उनको गुनासो छ। ‘नदीमा पानीको सतह बढ्ने बित्तिकै भारतले बाँध बन्द गर्छ, नेपालमा डुवान पर्छ,’ उनले भने, ‘अरु बेला भारतीय पक्षले नहरबाट पानी लैजान्छ, यहाँ सिँचाइ हुन सक्दैन।’

खेतीयोग्य जग्गा घट्दै
धानको भण्डारको रुपमा परिचित बर्दियामा बर्सेनि धान उत्पादन हुने जग्गा घट्दै गएको छ। मुख्य रुपमा धानखेती गरिने उर्वर भूमिमा वर्षमा तीन खेती गरिन्छ। पुरानो व्यापारिक केन्द्रको रुपमा रहेको यो जिल्ला प्रदेश ५ को उर्वर भूमिमा पर्छ। यसअघि परम्परागत धान खेतीमा आश्रित किसान पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग र सरकारले सुपर जोन घोषणा गरेसँगै नगदे बालीप्रति आकर्षित देखिएका छन्। तर, प्रतिकूल मौसमका कारण किसानमा उत्साह देखिएको छैन।

आर्थिक वर्ष २०६४/६५ सम्म बर्दियामा करिब ७५ हजार हेक्टरमा तीन लाख मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ। तर, आव २०६८/६९ मा धानखेती ४५ हजार पाँच सय हेक्टरमा झरेको छ। २०७/७२ आर्थिक वर्षसम्म ४५ हजार पाँच हेक्टरमा एक लाख ७६ हजार मेट्रिक टन धान उत्पादन भएको छ। २०७३/७४ मा ४५ हजार हेक्टरमा धान खेती गरिएको तथ्यांक छ।

माथि उल्लेखित तथ्याकंले धानखेती गर्ने क्षेत्रफल घट्दै गइरहेको पुष्टि गर्छ। प्रतिहेक्टर साढे चार टन धान उत्पादन हुने गरेको प्राविधिक सहायक तामाङले बताए। उनका अनुसार जिल्लामा बर्सेनि ७५ हजार हेक्टर धानखेती गर्न सकिने खेतीयोग्य जमिन छ। यतिबेला ४५ हजार पाँच सय  हेक्टरमा धानखेती गरिन्छ। धानको विकल्पमा माछापालन ,केरा लगायत अन्य बालीमा किसानको आकर्षण बढेको उनी तामाङको भनाइ छ।

प्रकाशित: ९ मंसिर २०७५ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App