८ वैशाख २०८१ शनिबार
अर्थ

सल्यानमा विमानस्थल बन्दै

विमानस्थल निर्माण हुने लेखपोखरा । तस्बिर : नागरिक

नेपालगन्ज – सल्यानमा विमानस्थल निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा विमानस्थल निर्माण हुन लागेको हो । विमानस्थलको सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अनुमानित ८१ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण हुने गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए।

विमानस्थलका लागि ६ सय ३० मिटर जमिन आवश्यक पर्ने उनले बताए । यसका लागि यहाँ प्रशस्त जमिन रहेको उनको भनाइ छ । सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करिब तीन लाख ५० हजार जनसंख्यालाई लक्षित गरी अध्ययन थालिएको विमानस्थलमा १९ सिटे टुइनटर जहाज अवतरण गर्न सकिने छ।

विमानस्थल निर्माण हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । विमानस्थल नहुँदा यहाँका वासिन्दाहरू नेपालगन्ज, भैरहवा गएर जहाज चढ्न बाध्य थिए । ‘विमानस्थलको काम सुरु भएको छ,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘पहिलो चरणमा प्रारम्भिक अध्ययन भएको छ ।’ स्थानीयको माग र यहाँको आवश्यकताका आधारमा विमानस्थल निर्माण गर्न लागेको उनको भनाइ छ । उक्त विमानस्थल राप्ती राजमार्गबाट १५ किलोमिटरको दूरीमा छ । पूरै सार्वजनिक जग्गामा निर्माण हुने अध्यक्ष केसीले बताए । यहाँ पार्किङ, रेस्टुरेन्ट, कार्यालय, सुरक्षाकर्मीका लागि आवाससहितको कार्यालयलगायत भौतिक संरचना निर्माण हुनेछन् । यसअघि सल्यानका दुई ठाउँमा अध्ययन गरिएको थियो।

‘आफन्त बिरामी हुँदा महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य थियौं,’ स्थानीय नविन पौडेलले भने, ‘विमानस्थल निर्माणपछि उक्त बाध्यताको अन्त्य हुनेछ ।’ सामान्य बिरामीलाई भने यातायातका साधनमार्फत जिल्ला बाहिर लगिने गरिएको उनले बताए । यहाँ विमानस्थल अत्यावश्यक भएको उनको भनाइ छ । यहाँको जनताको माग र यहाँको आवश्यकताको आधारमा विमानस्थल निर्माण हुने लागेको गाउँपालिकाका अध्यक्ष केसीले बताए । ‘यो ठूलो बृहत योजना हो,’ उनले भने, ‘यसले विकासको महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।’

प्रकाशित: २ मंसिर २०७५ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App