१६ चैत्र २०८० शुक्रबार
अर्थ

स्थानीय नेताको रोजाइमा सडक

इलाम - पहाडी क्षेत्रका गाउँहरू अव्यवस्थित सडकले क्षत–बिक्षत भइरहेका बेला स्थानीय तहमा गत वर्ष निर्वाचित जनप्रतिनिधिले पनि सडक योजना नै पहिलो आवश्यकता ठाने । रुखका गोलिया खरिद–बिक्रीलाई मुख्य लक्ष्य बनाएर व्यापारीले जंगल–जंगलमा सडक पु-याएका बेला स्थानीय तहमा आएका जनप्रतिनिधिले पनि ‘विकास’ देखाउन एस्काभेटर लगाएर १० मिटर फराकिलासम्म सडक खने।

विगतमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका नाममा आउने बजेटले सडकलाई नै प्राथमिकता दिएका बेला अहिले प्रतिनिधिसभाका सदस्यले पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिने योजनामा पनि तिनै सडकलाई प्राथमिकता दिँदैछन्। तर, वर्षाैंदेखि गाउँका कच्ची सडकको अवस्था चाहिँ तुलनात्मक रूपमा सुध्रिनुको साटो झन्–झन् बिग्रिँदैछ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले आफूले जितेको निर्वाचन क्षेत्रका स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिने योजना भर्खरै छानेका छन्। २०७४ सालको निर्वाचनमा खनाल इलाम क्षेत्र १ र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य चुनाव चुनिएका थिए।

खनाल र नेम्बाङ दुवैले स्थानीय सडक योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । खनालले जम्मा २० योजनालाई तोकेरै रकम विनियोजन गरेकामा १५ योजना सडक निर्माण र स्तरोन्नतिकै छन् । नेम्बाङले १७ योजनालाई रकम छुट्याएकामा नौ योजना सडकका छन् । खनालले सूर्याेदय नगरपालिकालाई एक करोड ४० लाख, इलाम नगरपालिकालाई १० लाख, माई नगरपालिकालाई ७० लाख तथा रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिकालाई ६०–६० लाख रुपैयाँका योजनामा बजेट विनियोजन गरेका छन्।

खनालको क्षेत्रमा पर्ने इलाम नगरपालिकाको विद्युत् सबस्टेसनदेखि करफोक खोलासम्मको सडक स्तरोन्नतिलाई १० लाख, माई नगरपालिकाको लखन थापा चोकदेखि शुक्रबारे हुँदै नगरपालिकासम्मको सडक कालोपत्रेलाई ७० लाख, रोङमा विद्युतीकरणलाई ३० लाख, रोङ गाउँपालिकाको केन्द्रबाट वडा १ र २ जोड्ने सडक, बरभञ्ज्याङ–तिलहरे–दुम्से–साधुटार झापा सडक र हर्कटे–धजे–सलकपुर–निन्दा सडकलाई १०–१० लाख रुपैयाँ विनियोजन गरिएको छ । इलाम नगरपालिकाको १० नम्बर वडामात्र खनालको निर्वाचन क्षेत्रमा पर्छ।

माइजोगमाई गाउँपालिकाको सिस्ने–सोमबारे–आरुगोलाई–हाइड्रो सडक, खड्गगोलाई–देउसालीगाउँ–प्याङ सडक, टारी–शुक्रबारे हुँदै सोयाङ सडक, बज्रदेवी–माङचोक सडक, गुम्बाडाँडा–सर्सिङ अँधेरी सडक र विद्युत् विस्तारलाई १०–१० लाख रुपैयाँ छ । सन्दकपुर गाउँपालिकाको देउराली–गैरीगाउँ–जमुना–जौबारी सडक स्तरोन्नतिलाई ६० लाख रुपैयाँ छुट्याइएको छ।

सूर्याेदयको विद्युत् विस्तारलाई ५० लाख, फोहोर व्यवस्थापन र बौद्धधाम–कट्टेबुङ–श्रीअन्तु सडकलाई २०–२० लाख, हर्कटे–रम्भ्याङ हुँदै निन्दा सडक र कन्याम चिया उद्योग–बिरिङखोला सडकलाई १५–१५ लाख रुपैयाँ छ । रुङसुङ–मानेडाँडा सडक र वडा ९ को खानेपानी मुहान संरक्षणलाई १०–१० लाख रुपैयाँ विनियोजन गरिएको स्थानीय समन्वय अधिकारी चापागाईंले जानकारी दिए।

इलाम क्षेत्र नम्बर २ मा नेम्बाङले इलाम नगरपालिकाई ९० लाख, देउमाईलाई ८३ लाख, माई नगरलाई ३२ लाख तथा चुलाचुली, फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकालाई ६५–६५ लाख रुपैयाँका योजना छानेका छन् । इलाम नपाको मेची राजमार्गबाट इन्टेक हुँदै गाग्रेभञ्ज्याङ सडकलाई स्थानीयको ३० प्रतिशत सहभागिता रहनेगरी ८० लाख, बेतेनी–नागेटार सडक, माई नपाको शिवालय निर्माण र पवित्र हाङ्मा हुँदै माङसेबुङ जोड्ने सडकलाई १०–१० लाख र वीरेन्द्र आधारभूत विद्यालय भवन निर्माणलाई १२ लाख रुपैयाँ विनियोजित छ।

फाकफोकथुमको सल्लेरी फेदी हुँदै अचारे दोभान सडकलाई ३० लाख, शिकारी भञ्ज्याङ बजारको पूर्वाधार र खेलमैदानलाई २५ लाख तथा ठिंगेपुर निमाविलाई १० लाख रुपैयाँ छुट्याइएको छ । देउमाई नगरको ग्याली भञ्ज्याङ–फलाँटे सडकलाई २५ लाख, ठूलो चौरी–ओजले सडकलाई ३० लाख, पालसेन गुम्बालाई १८ लाख तथा सुर्के सिँचाइ आयोजनालाई १० लाख रुपैयाँ छुट्याइएको छ । माङ्सेबुङ गाउँपालिकाको विद्युत् विस्तारलाई ५० लाख, सदनखोप डुहोडाँडा हुँदै लामिडाँडा सडक र सर्चेबुङ–मझुवा सडकलाई १५–१५ लाख, चिसोपानी पञ्चमी–कुसुन्डे सडकलाई २० लाख र राँके गैंडे सडकको इभाङ खण्डको ट्र्याक खोल्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

चुलाचुली गाउँपालिकाको कोलाडाँडा–फुइके सडकलाई ४० लाख, बुढीझोलाको पुल १३ लाख र बेलडाँगी–बुकुवा सडक कल्भर्टलाई १२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App