coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेश ५ : एक बर्षमा ३४ अर्ब औद्योगिक लगानी थपियो

बुटवल- प्रदेश ५ मा उद्योग क्षेत्रको लगानी बढ्दै गएको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा मात्रै यो प्रदेशमा झण्डै ३४ अर्व औद्योगिक लगानी भित्रिएको छ।  ५३ वटा नयाँ उद्योग मार्फत झण्डै ३४ अर्बको लगानी थपिएको हो। 

गत आर्थिक बर्ष २०७४/०७५ मा यो प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख रुपैँयाको औद्योगिक लगानी भित्रिएको उद्योग मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। मन्त्रालयका अनुसार उद्योग क्षेत्रमा अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ७० प्रतिशत बढी लगानी थपिएको छ। जसमा आन्तरिक सगै बाह्य लगानी पनि बढेको छ। कुल औद्योगिक लगानी मध्ये १२.९४ प्रतिशत बैदेशिक लगानी छ। प्रदेशका विभिन्न जिल्लामा खुलेका ठुला र मझौला उद्योगमा ४ अर्ब ३८ करोड २९ लाख रुपैँया बाह्य लगानी छ। जसमध्ये सबैभन्दा धेरै भारत र चीनले यो क्षेत्रमा लगानी गरेका छन्। एक बर्षमा २ अर्ब ९१ करोड २९ लाख रुपैंया भारतीय लगानी थपिएको छ। चिनियाँ लगानीकर्ताले १ अर्ब ३५ करोड, १० लाख रुपैँया उद्योगमा लगानी गरेका छन्। त्यस्तै अमेरिका, जपान, डेनमार्क अष्ट्रेलियाले पनि औधोगिक क्षेत्रमा लगानी गरेको मन्त्रालयले जनाएको छ।

प्रदेश ५ भारतसंगको आयात निर्यातका लागि सहज र नजिकको दुरी भएको प्रदेश हो। चौतर्फी सडक संजाल, भारतसंगको नजिकको दुरी, औधोगिक कच्चा पदार्थको उपलब्धता स‌ंगै सुरक्षा चुनौती कम हुनु र लगानी सुरक्षाको प्रत्याभुतीका कारण औधोगिक लगानी भित्रने क्रम बढेको जानकारहरु बताँउछन। गत बर्ष सबैभन्दा धेरै २३ मझौला उद्योग, १५ ठुला र साना १३ वटा नयाँ उद्योग स्थापना भएका छन्। औधोगिक ऐन अनुसार १० करोड भन्दा माथिको अचल सम्पत्ती हुने उद्योग ठुला, ३ करोड देखि १० करोड सम्मका मझौला र ३ करोड मूल्य बराबरको अचल सम्पत्ती भएका उद्योग साना उद्योग अन्तर्गत पर्दछन्।

यो प्रदेशमा लगानी कर्ताको पहिलो रोजाइमा रुपन्देही र नवलपरासी जिल्ला परेका छन्। गत बर्ष थपिएका ५३ वटा उद्योग मध्ये ३० उद्योग यी दुर्इ जिल्लामा स्थापना भएका छन्। रुपन्देहीमा सबैभन्दा धेरै १७ र  नवलपरासीमा १३ वटा उद्योग दर्ता गरी संचालनको तयारीमा छन्। केही संचालनमा आइसकेका छन्।

त्यस्तै कपिलबस्तुमा ७, बाँकेमा ७ दाङ्गमा ३, बर्दियामा ३ र पाल्पामा एउटा उद्योग दर्ता भएका छन्। केही बर्ष अघिको मधेश आन्दोलन र भारतीय नाकाबन्दीका बेला समेत तुलनात्मक रुपमा यो प्रदेशको मुख्य नाका बेलहिया शान्त र सहज  रह्यो। प्रतिकुल अवस्थामा समेत भैरहवा स्थित बेलहिया नाकाको आयात निर्यात नरोकीएको र सुरक्षा चुनौती पनि कम देखिएकाले लगानीकर्ताहरु यहाँ उद्योग खोल्न आकर्षित भएको उद्योग बाणिज्य संघ प्रदेश पाँचका उपाध्यक्ष दिपक पौडेलले बताए। 

यहाँ थपिएका ठुला उद्योगमा विशेषगरी निर्माणजन्य र पर्यटन उद्योगमा लगानी धेरै छ। उत्पादनमुलक तथा सेवामुलक उद्योगमा लगानीकर्ताहरु बढी आकर्षित भएको प्रदेश उद्योग बाणिज्य संघका एसोसियट उपाध्यक्ष पौडेलले बताए। 

सिमेन्ट तथा क्लिङ्कर उद्योगकालागि आवश्यक कच्चा पदार्थ चुन ढुङ्गाका खानीहरु रहेको पाल्पा, प्युठान, अर्घाखाँचीमा खानी उद्योग संचालनकालागि समेत लगानीकर्ताहरुले चासो देखाएको उनले बताए। 

बुद्ध जन्मस्थल लुम्बिनी रहेको रुपन्देही, बाँके र बर्दियामा भने पर्यटन उद्योग अर्थात होटल व्यवसायमा लगानी बढ्दो छ। यो प्रदेशमा औधोगिक विकासको मुख्य बाधक उर्जा र जग्गा व्यवस्थापन हो। लोडसेडिङ्ग हटेको भनिएपनि औधोगिक क्षेत्र र करिडोरमा अहिले पनि प्रयाप्त बिद्युत आपूर्ति हुन नसकेको उद्योगीहरुको गुनासो छ। जग्गा अत्यधिक महङ्गो हुँदा धेरै लगानी जमिनमै खर्चीनु पर्ने र जनशक्ति अभावको समस्या रहेको बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल श्रेष्ठले बताए। यी समस्याको बेलैमा सम्बोधन गर्न सके प्रदेशमा औधोगिक लगानी अझ बढ्ने र उत्पादन मुलक उद्योगको बिस्तारले आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनले बताए। औधोगिक क्षेत्र निर्माण र प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनु पर्ने श्रेष्ठको भनाइ छ।

उद्योग मन्त्रालयका अनुसार प्रदेश पाँचमा साना, मझौला र ठुला गरी हाल ८ सय २७ वटा उद्योग संचालित छन्। ती उद्योगमा ४० हजारले रोजगारी पाएका छन्।

प्रकाशित: ६ कार्तिक २०७५ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App