२२ असार २०७७ सोमबार
अर्थ

स्याउले मुल्य नपाउँदा किसान मर्कामा

स्याउको मुल्य घट्दा मर्का भइरहेको बारे जानकारी दिँदै उर्थुका स्याउ किसान । तस्बिरः डिबी/नागरिक

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका ६ का चन्द्रलाल बोहोराको बगैंचामा २ सय स्याउका बिरुवा छन्। तिमध्ये ६० वटा स्याउको बोटले यो वर्ष फल दिए। ६० स्याउको बोटबाट झण्डै २० क्वीन्टल स्याउ उत्पादन भएको थियो। तर मुल्य नपाउदा खासै यो वर्ष स्याउबाट आम्दानी हुन नसकेको उनी बताउँछन। स्याउ किसान बोहोराले भने,“यो पटक स्याउ फले पैसा फलेन, निकै घाटा बेहोर्नुपर्यो ।

पहिले यहाँका स्याउ उत्पादन कमै हुने घरले न्युनतम २ लाखसम्म स्याउ बेचेरै बुझ्थे, अहिले स्याउले मुल्य नपाउदा किसान मर्कामा छौ।” पातारासी ६ कै बल विष्ट यो पटक स्याउले मुल्य पाउन नसकेको प्रति निकै निरास छन्। किसान स्याउको उत्पादनमा जोड दिन्छौ, यहाँको स्याउको बजारीकरण छैन, अहिले मेहनतका साथ खेती गरिएको स्याउको व्यवसायीक खेती झ्याउ बन्न थाल्यो, बिष्टले भने,“मुल्य नपाउदा स्याउ घरमै थन्काएका छौँ। आफ्नो स्यालार स्टोर छैन, कुहिएर नष्ट हुने संम्भावना बढेको छ।” उनको बगैचामा झण्डै ५ सय स्याउका विरुवा छन।

उनी स्याउ बेचेर वार्षीक ३ देखि ४ लाखसम्म कमाउँदै आएकोमा यो वर्ष २ लाख पनि नपुगेको प्रति दुखी छन्। सहज रुपमा स्याउ ढुवानी गर्ने बाटो छैन, व्यापारी पनि स्याउ खरिद गर्न गाउँमा आउन छाडिसके किसान बिष्ट भन्छन्,“स्याउ किसान संकटमा छौ, पाखो जग्गा सबै स्याउ खेतीले जेलिसकेकोले विकल्पको व्यवसाय गर्न समेत कठिन हुने देखिन्छ। पातारासी ६ का चन्द्रलाल र बल बिष्ट उदाहरण मात्र हुन्। गाउँका १ सय ३० घरका स्याउ किसान अहिले मर्कामा छन्।

पहिले गाउँमै व्यापारी पुगेर प्रतिकेजी ७० रुपैयाँमा स्याउ खरिद गरेर लगेको स्मरण गर्दै अर्का स्याउ किसान अविराज बिष्टले भने,“स्याउको माग र मुल्यको तादम्यता मिल्न नसक्दा स्याउ किसान निकै मर्कामा छन।” उनका अनुसार प्रत्येक घरमा न्युनतम ५० देखि अधिकतम १ हजार २ सय विरुवा भएका बगैचा छन्। तर यो पटक स्याउ बेच्न व्यापारी खोज्दै डुल्नु पर्यो, प्रति केजी ४५ रुपैयाँमा बेच्नु पर्यो, यसले स्याउ खेतीमा लागेका किसान निरुत्साहित बन्दै आएका छन्। यहाँको स्याउमा जैविक विषादीको प्रयोग मात्रै गरिन्छ। उनीहरूले उत्पादन भएको स्याउ समयमै बजार पुग्ने प्रकारको वातावरण बनाइदिनको लागि माग गरेका छन्।

गत वर्षसम्म यो गाँउमा स्याउ बेचेरै करोड भित्रिन्थ्यो, तर यो वर्ष ८० लाख भन्दा माथिको किनबेच भएन। बजारीकरण गर्न सके यहाँको स्याउ नेपालका ठुला सहरसम्म पुर्याउन सकिने स्थानीय किसान बताउँछन। स्याउ खेती हेर्दा आफैंमा आत्मनिर्भर भएजस्तो लाग्छ, अविराजले भने,“व्यवस्थापन र बजारीकरणको पक्ष हेर्दा निकै उराठ लागेर आउँछ।” पातारासी गाउँपालिकाकै सबैभन्दा स्याउ बढि उत्पादन हुने गाउँ नै यो उर्थु गाउँ हो।  तत्कालिन १४ औं जिल्ला परिषदले जुम्लामा १ घर एक बगैँचाको अभियान थालेपछि यहाँका किसान स्याउ खेतीमै लागेका हुन।

उनीहरुले उत्पादित स्याउ बेच्नको लागि बजार,प्रशोधनका लागि प्रविधिको माग गरेका छन। समयमै पुल बन्न नसक्दा स्याउको ढुवानीमा समस्या भइरहेको छ। यहाँको स्याउको बजार भनेको तिज, विजयदशमी र दिपावली हो, त्यो मौका भेट्न नसक्दा किसानले घाटा बेहोर्दै आइराखेका छन्। व्यापारी पनि डोकामा स्याउ बोकाउनु पर्दा निकै घाटा हुने गरेको भन्दै गाउँ जान छाडेका छन्।

प्रकाशित: ३ कार्तिक २०७५ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App