coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैंको चहलपहलसँगै महँगी अकासियो

राजधानीको फुटपाथमा पसलमा कपडा किन्दै सर्वसाधारण । तस्बिरः अर्जुन/नागरिक

काठमाडौं – दसैंको चहलपहल बढेसँगै दसैंका लागि चाहिने सामग्री किनमेल गर्नेको बजारमा भीड बढेको छ । काठमाडौंको न्युरोड, असन,  इन्द्रचोकलगायत स्थानमा आवश्यक सामग्री किनमेल गर्नेको भीड लागेको हो । घटस्थापनादेखि नै उपत्यकामा खाद्यान्न, लत्ता कपडा, विद्युतीय समान लगायत किनमेल गर्नेको भीड बढेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको दसैंमा चहल पहल अझ बढेको छ।

उपभोक्ताले आफ्नो क्षमताअनुसार दसैंमा नयाँ कपडा र सामान किन्ने प्रचलन रहेकाले बजारमा चहलपहल बढेको हो  । सोमबार उपत्यकाको फुटपाथदेखि पसलभित्र समेत ग्राहकहरु सामान छान्न र किन्न व्यस्त देखिन्थे । यस वर्षको दसैं गत वर्षको तुलनामा बजारको सामान धेरै महँगो भएको उपभोक्ता सुनाउँछन्।

रामेछाप घर भएका रमेश श्रेष्ठले सुन्धाराको फुटपाथमा पाइन्ट किन्दै भने, ‘गत वर्षको तुलनामा बजार निकै महँगिएको छ । २५ सय रुपैयाँमा दुईवटा किनियो,’ हाँस्दै उनले भने, ‘भीड उस्तै, सामान चिन्न र छान्नै गारो छ । ढिला भइसक्यो यस्तै किनियो।’

असनमा तामाको भाँडा किन्दै गरेकी सुनिता डंगोलले बजार धेरै महँगिएको बताइन् । ‘जे किन्न खोजे पनि दुई–तीन हजार रुपैयाँले पुग्दैन । केही नयाँ सामान जोडौं भनेको असाध्यै महँगो,’ उनले भनिन्, ‘काँसको थाल किन्न आएको २५ सय रुपैयाँभन्दा कमको पाइएन । हेरौं भरेसम्म भेटिन्छ कि।’

यस्तै, चाबहिल घर भएका ममता थापाले न्युरोडस्थित शुभलाभ ज्वेलर्सलमा सुन किन्न आएको बताइन् । ‘सुन महँगो छ नै । यस्तै ज्याला पनि कसेर लिन थालेछ । दसैं लागेर होला,’ उनले सुनाइन् । काठमाडौं मलमा फेन्सी पसल सञ्चालन गर्दै आएका रामेश्वर बुढाथोकीले यस वर्षको दसैंमा चहलपहल बढे पनि ‘इन हाउस बिजनेस’ कमै भएको बताए । ‘ग्राहकहरु नआउने होइन । दसैंको एक साताअघिदेखि नै बजामा भीड बढेको छ । आज झन् भीड छ । तर, व्यापार सोचेजस्तो छैन,’ उनले भने, ‘फुटपाथको व्यापार फस्टाएको छ । सेल मेलाले उठाएको छ यस वर्षको दसैं।’

यस वर्षको दसैंमा ठूला मलले समेत विभिन्न स्किममा दसैं मेला सञ्चालन गरिरहेका छन् । मेलामा विभिन्न अफरसहित बम्पर उपहारको समेत व्यवस्था गरेको मलहरुले जनाएको छ । दसैंको अवसरमा सस्तो मेला, सुलभ पसलमा पनि सर्वसाधारणको भीड लागेको छ । यस्तै, दसैंको अवसरमा अटोमोबाइल, मोबाइल हबले पनि विभिन्न अफरसहित मेला सञ्चालन गरिरहेका छन्।

प्रकाशित: ३० आश्विन २०७५ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App