२२ असार २०७७ सोमबार
अर्थ

५३ वर्षपछि सुर्ती खेतीको विकल्प खोज्दै किसान

मुलाबारीका साविक सुर्ती उत्पादक किसान। दुई वर्ष अघिसम्म सुर्ती सुकाउने ठाउँमा मकैको चाङ। तस्बिर : सुरेश/नागरिक

जनकपुरधाम - धनुषाधाम नगरपालिका–८, मुलाबारीका किसानले ५३ वर्षपछि सुर्ती खेतीको विकल्प खोज्न थालेका छन्।

जनकपुर चुरोट कारखाना खुलेपछि उसैको अनुदानमा २०२२ देखि सुरु गरिएको सुर्ती खेती आठ वर्षअघि कारखानाको उत्पादन बन्द भएसँगै निरुत्साहित हुन पुग्यो। लगत्तै सिमरास्थित सूर्या टोबाकोले खेतमै पुगेर सुर्ती उत्पादन जारी राख्न आग्रह गरेपछि किसानमा नयाँ उत्साह जागेको थियो । त्यसबेलासम्म मुलाबारीका ९५ प्रतिशत किसान सुर्ती खेतीमै निर्भर थिए। सुर्या टोबाकोले पनि सुरुमा देखाएको माया बिस्तारै घटाउन थालेपछि किसानको उत्साहमा कमी हुँदै सुर्तीको वैकल्पिक बाली खोज्न थालिएको छ।  

मुलाबारीका उपेन्द्रबहादुर आले १२ वर्षको उमेरदेखि खेतको सुर्तीसँगै हुर्किन थाले। आमाबाबुसँग सुर्तीको खेतमा गोडमेलसँगै सुर्ती टिप्दै ६५ वर्षको उमेरमा आइपुगेर सुर्तीको वैकल्पिक बालीबारे सोच्नुपर्दा उनको मनोभाव असन्तुष्ट भइरहेको हुन्छ। ‘काला अक्षर भैंस बराबर’ अर्थात् निरक्षर उनले आफू किताबी शिक्षा अध्ययन गर्न नपाए पनि सुर्ती खेतीसम्बन्धी विज्ञ नै भइसकेका छन्। कुन प्रजातिको सुर्ती रोप्दा कति आम्दानी हुने, सुर्तीको बेर्ना लगाउनेदेखि टिपेर ग्रेडिङ गर्नेसम्मको कार्यबारे स्थानीय किसान उनीसँगै सल्लाह लिन आउँछन्।

अहिले आएर नचाहँदा नचाहँदै सुर्ती खेतीको विकल्प खोज्न बाध्य भएको उनले बताए। ‘जनकपुर चुरोट कारखानाका लागि उत्पादन सुरु गरेको हामीले सुर्या टोबाकोलाई सुर्ती बेच्नुपर्दा दुःख त लागेको थियो। तर, सरकारी कर्मचारीको भ्रष्ट प्रवृतिको सिकार कारखानासँगै हामी पनि हुन पुग्यौं,’ जनकपुर चुरोट कारखाना बन्द हुनुको कारण मिसाउँदै उनले दुखेसो पोखे, ‘हाम्रो जीवन र सुर्ती खेती पर्याय नै बनिसकेको थियो। जनकपुर चुरोट कारखाना बन्द भयो । पछि खुलेको सूयाले आफू त कमायो तर किसानलाई वास्ता गर्न छाडेपछि हाम्रो खेतमा उब्जिने सुर्ती पलायन हुन बाध्य हुँदैछ।’

मुलाबारीकै ७८ वर्षीया जानकीमाया आलेले सुर्तीको विकल्पमा दलहन, तेलहन र मकैबाली लगाउन थालेको बताउँछिन्। सुरुमा सुर्तीको बेर्ना आफैंले दिने र खेती लाउन मलखाद तथा गोडमेल गर्न पेस्कीसमेत उपलब्ध गराउने कारखानाले बिस्तारै किसानलाई वास्ता गर्न छाडेपछि वैकल्पिक खेतीमा लाग्न थालेको उनले सुनाइन्।

स्थानीय मेनुका आलेले नयाँ पुस्तामा खेतीप्रतिको मोह घट्न थालेपछि सुर्ती खेती पलायनको अवस्थामा पुगेको अनुभव सुनाइन। ‘एकातिर कारखानाले हामी किसानलार्ई वास्ता गर्न छाडेको छ भने अर्कोतिर नयाँ पुस्तामा खेतीप्रतिको लगाव कम हुन थालेपछि यस्तो अवस्था आएको हो,’ उनले भनिन्। अहिले बालबालिका सबै विद्यालय जान थालेका छन् भने अघिल्लो पुस्ताका युवा जति वैदेशिक रोजगारमा जाने क्रम बढेको उनले बताइन्।

जनकपुर चुरोट कारखानाको मागलाई लक्षितगरी मुलाबारी, यज्ञभूमि, धारापानी, किसानपुरलगायत क्षेत्रमा एकसरो सुर्ती खेती हुने गथ्र्यो। कारखानाको उत्पादन बढेपछि मुलाबारी आसपासको गाउँमा टोलैपिच्छे ‘वारण’ निर्माण गरिएको थियो। खेतमा लगाइएको सुर्तीको पात छिपिएपछि टिपेर ‘वारण’मा सुकाइन्थ्यो। ‘जंगल खुल्ला थियो। खोजेजति दाउरा सहजै पाइन्थ्यो। सबैले वारणमै सुर्ती सुकाउँथे र कारखानाले मागे अनुसारको क्वालिटी हामीले उपलब्ध गराउँथ्यौं,’ स्थानीय बलबहादुर जर्घामगरले भने, ‘कारखाना पनि बन्द भयो। जंगलको दाउरा पनि सिद्धियो।’

कारखाना नाफामा चलेसम्म नेपाल सरकारलाई सबैभन्दा बढी कर बुझाउने उद्योगको रुपमा जनकपुर चुरोट कारखानाले पहिचान पाएको उल्लेख गर्दै जर्घामगरले त्यहाँका कर्मचारीले कमिसनखोरी गरेर कारखाना डुबाएको आरोप लगाए। ‘जिटिओहरु आउँदा हामीसँग भाले मागेर खान्थे। नदिनेहरुको अब्बल सुर्तीलाई पनि तेस्रो–चौथो दर्जामा झारेर मूल्य तोक्थ्यो। हामीले बोलेपछि अर्कै दलाल लगाएर कमिसन खाने बाटो खोज्थ्यो,’ उनले भने। जर्घामगरले सुर्ती किसानको सहयोगमा परिचालन हुने तल्लो दर्जाकादेखि जिएमसम्मको मिलेमतोमा भ्रष्टाचारको तार जोडिन थालेपछि कारखाना बिस्तारै सुक्दै बन्द हुन पुगेको उनले दाबी गरे।

मुलाबारीका किसानले जनकपुर चुरोट कारखाना चल्यो भने अहिले पनि मागअनुरुप सुर्ती उत्पादन गर्न धनुषा जिल्लाका किसान तयार रहेको बताए। तर सुर्तीभन्दा पनि अन्य उद्योगहरु खोलेर स्थानीयलाई रोजगारी दिने वातावरण बनाइदिन उनी सरकारसँग आग्रह गर्छन्। कृषि उत्पादनमा आधारित कारखाना विस्तार गरी जनतालाई रोजगार र मुलुकमा विकासको आधार जोड्न सक्ने क्षमता नेपालभित्रै रहे पनि राज्यको नेतृत्व पक्ष इमान्दार नरहेको उनीहरुको आरोप छ।

प्रकाशित: २८ आश्विन २०७५ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App