८ वैशाख २०८१ शनिबार
अर्थ

बढ्दैछ प्लास्टिकको प्रयोग

काठमाडौं - प्लास्टिकको  प्रयोग नहुने सायद कुनै त्यस्तो क्षेत्र छैन । जहाँ प्लास्टिकको प्रयोग नहोस् । जन्मदेखि मृत्युसम्म । बिहान उठ्दादेखि राती सुत्दासम्म। 

पानीदेखि औषधिमा पनि प्लास्टिककै साहारा लिनुपर्छ । पानी पिउने बोतलदेखि बिरामी हुँदा प्रयोग हुने औषधि र स्लाइनका बोतल पनि प्लास्टिककै।

दैनिक जीवनका हरेक गतिविधिमा प्लास्टिक र प्लास्टिकजन्य वस्तुको प्रयोग अनिवार्य बनिसकेको छ । बजारमा सामान ल्याउनेदेखि दूधको प्याकेटमा पनि प्लास्टिक नै प्रयोग भएको हुन्छ। 

यसले प्लास्टिक प्रयोगको सर्वव्यापकतालाई प्रष्ट्याउँछ । दिनहुँ प्रयोग हुने अधिकांश सामान प्लास्टिकबाट बनेका छन् । प्लास्टिकका सामान सस्तो र प्रयोग गर्न सजिलो भएकाले पनि यसको उपयोगिता बढेको हो।

प्लास्टिक बिनाको दैनिक जीवननै अपूरो हुने प्लास्ट नेपाल फाउन्डेसनका अध्यक्ष शरद कुमार टिवडेवाल बताउँछन् । ‘प्लास्टिक प्रयोग नगरेर सुखै छैन,’ अध्यक्ष टिवडेवालले भने, ‘हरेक वर्ष प्लास्टिकको प्रयोग बढ्दो छ।’

किचनमा प्रयोग हुने सामान, पाइप, ट्यांकीमात्र नभएर हरेक वस्तुको कभर पनि प्लास्टिककै प्रयोग हुन्छ । चाउचाउ, तेल, दूध, बिस्कुट, चामल, दाल, सिमेन्टलगायत वस्तुका प्याकिङ कभर तथा बोरा, खानेपानी, कोक, पेप्सी, फेन्टा, औषधि, स्लाइनका बोतल पनि प्लास्टिकबाटै बनेका छन्।

अफिस तथा घरमा प्रयोग हुने कुर्ची, टेबल, बिहे तथा भोजभतेरमा खाना खाने भाँडाकुडा तथा पिउने पानीका लागि पनि प्लास्टिकको प्रयोग बढ्दो छ।

यसले प्लास्टिकको प्रयोग रहर नभई बाध्यता भएको पुष्टि गर्छ । प्लास्टिक दैनिक जीवनको अभिन्न अंग बनेको छ । पूर्वाधार निर्माण, घरायसी कामकाज, कृषि, औद्योगिक क्षेत्रमा प्लास्टिकको प्रयोग अनिवार्य बनेको टिवडेवाल बताउँछन् । सहरीकरण, बढ्दो जनसंख्या र प्लास्टिकका सामान प्रयोग गर्न सजिलो भएकाले पनि यसको माग बढ्दो छ।

प्लास्ट नेपाल फाउन्डेसनका अनुसार प्लास्टिकको बजार वार्षिक १५ देखि २० प्रतिशत वृद्धि भएको छ । ‘प्रयोग बढ्दै गएकाले यसको बजार विस्तार भएको हो,’ उनले भने, ‘प्लास्टिक बजार दिनानुदिन बढिरहेको छ।’

निजी तथा सरकारी घर, अर्पाटमेन्ट, हाउजिङलगायत भवन निर्माणमा पाइप तथा फिटिङ्सका सामानको प्रयोग बढ्दो छ । व्यक्तिले निजी घर निर्माण गरिरहेका छन् भने सरकारी तहमा पनि पूर्वाधार निर्माणका परियोजना अघि बढिरहेका छन् । यसले भवन बनाउँदा प्रयोग हुने पाइप र फिटिङ्स प्रयोग बढिरहेको छ । बढ्दो प्रयोगसँगै स्वदेशी उद्योगले गुणस्तरीय सामान उत्पादन गरिरहेका छन्। 

यहाँ सञ्चालन भएका धेरै उद्योगले नेपाल गुणस्तर प्रमाण (एनएस) र आइएसओ चिन्ह लिएका छन् । गुणस्तर प्रमाणपत्र लिएकाले टिकाउ हुने कम्पनीहरुको दाबी छ । स्वदेशी उद्योगले उत्पादन बढाएपछि पाइपलगायत प्लास्टिकजन्य वस्तुमा आत्मनिर्भरतातर्फ उन्मुख भएको बताउँछन्।

स्वदेशी पाइप र फिटिङ्सका सामग्री गुणस्तरीय रहेको आइटिपिएफका सञ्चालक विनितकुमार अग्रवालले बताए। ‘प्रयोगकर्ताले गुणस्तर चिन्ह लिएका सामान प्रयोग गर्नुपर्छ,’ अग्रवालले भने, ‘हामी गुणस्तरीय सामग्री उत्पादनमा सजक छौं ।’ गुणस्तर चिन्ह नलिएका केही उद्योगका कारण बजारमा समस्या भएको उद्योगीको गुनासो छ। ‘गुणस्तर चिन्ह नलिएका उद्योगले दोस्रो ग्रेडको कच्चा पदार्थ आयात गरेर कम गुणस्तरका प्लास्टिकजन्य वस्तु उत्पादन गर्छन्,’ उनले भने, ‘गुणस्तरमा अनिवार्य गर्नुपर्छ ।’ यहाँका करिब ३० उद्योगले एनएस पाइप उत्पादन गरिरहेको उनले बताए।

विदेशबाट नयाँ प्रविधि भित्र्याएका छन् । प्रयोग गर्न सजिलो, टिकाउ र कम खर्चिलो भएकाले प्लास्टिकको प्रयोग बढेको हो । भूकम्पपछि प्लास्टिकको बजार बढेको छ । आन्तरिक मागलाई धानेर निर्यात गर्ने सम्भावना रहेको उद्योगी बताउँछन्। 

उपभोक्तालाई प्लास्टिक प्रयोगमा चेतना अभिवृद्धि गर्नका लागि दोस्रो प्रदर्शनी आयोजना गरेको मेलाका संयोजक विवेक तातेडले बताए । प्लास्टिकप्रति नकारात्मक धारणा रहेकाले पनि चेतना जगाउन आवश्यक रहेको उनले बताए । ‘उपभोक्तालाई चेतना अभिवृद्धि गर्न सघाउ पुग्नेछ,’ उनले भने।

सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थापन गरे प्लास्टिकका सामग्री निर्यात गर्न सकिने सम्बद्ध उद्योगी बताउँछन्। उद्योगीले नयाँ–नयाँ प्रविधि पनि प्रयोगमा ल्याएका छन् । प्लास्टिक उद्योगका लागि कच्चा पदार्थ भने विदेशबाट आयात हुने गरेको छ।

वार्षिक रुपमा करिब दुई लाख २० हजार टन भारतलगायत मुलुकबाट कच्चा पदार्थ आयात हुन्छ । कच्चा पदार्थ आयातमा मोटो रकम विदेशिएको छ । उद्योगीले कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुकबाट आयात गर्छन् । प्लास्टिक उद्योगले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु-याएको उद्योगीको दाबी छ। 

प्लास्टिकजन्य उद्योगले ठूलोमात्रमा रोजगारी र मुलुकको अर्थतन्त्रमा योगदान पु-याएको छ । प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने करिब ६ सय उद्योग सञ्चालनमा छन् । ती उद्योगले करिब एक लाख जनालाई रोजगारी दिएका छन् । करिब सात अर्ब रुपैयाँ राजस्व तिरेका छन्।

वार्षिक रुपमा करिब एक सय अर्ब रुपैयाँको कारोबार हुने प्लास्ट नेपालका वरिष्ठ उपाध्यक्ष राहुल अग्रवालले बताए। ‘प्लास्टिकको प्रयोग वृद्धिसँगै कारोबार पनि बढेको छ,’ उनले भने, ‘नयाँ उद्योग पनि थपिने क्रममा छन् ।’ ‘उच्च गुणस्तरका सामान उत्पादन गरेकाले प्लास्टिकको बजार बढेको छ,’ अग्रवालले भने, ‘गुणस्तरीय सामग्री उत्पादन गरेर उपभोक्तालाई सन्तुष्टि दिएका छौं।’

शिवशक्ति प्याकेजिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले मुलुकका अधिकांश उद्योगलाई चाहिने प्लास्टिकका कभर उत्पादन गर्न सक्षम रहेको बताए । ‘उद्योगको मागअनुसार सबै प्रकारका डिजाइन दिन्छौं,’ अग्रवालले भने, ‘प्लास्टिकका सामान विदेशी उत्पादनको भर पर्नु पर्दैन ।’ उद्योगीले रिसाइक्लिङ नीति ल्याउन माग गरेका छन् । अहिले उत्पादन भएका प्लास्टिकका वस्तुको रिसाइक्लिङ नहुँदा समस्या भएको बताए।

नयाँ संरचना निर्माणमा पाइप र फिटिङ्स प्रयोग अनिवार्य छ । भवन बनाउँदा प्रयोग हुने भएकाले गुणस्तरमा ध्यान दिनुपर्छ। मुलुकमा नेपाटप, हिलटेक, पञ्चकन्या, आइटिपिएफ, रिजालको पाइपलगायत डेढ दर्जनभन्दा बढी कम्पनीले पाइप तथा फिटिङ्स सामान उत्पादन गर्दै आएका छन् । यहाँ सञ्चालन भएका उद्योगले नेपाल गुणस्तर प्रमाण (एनएस) र आइएसओ लिएका छन् । स्वदेशी उत्पादन पनि टिकाउ हुने कम्पनीको दाबी छ।

पाइपलगायत प्लास्टिकजन्य वस्तुमा आत्मनिर्भरतातर्फ उन्मुख भएको उद्योगी बताउँछन् । गुणस्तरका लागि जर्मनी प्रविधि भित्र्याएर पाइप उत्पादन गर्दै आएको आइटिपिएफले जनाएको छ । दिगो निर्माणका लागि आइटिपिएफका सबै सामग्री प्रयोग गर्न सकिन्छ । नेपालमा उद्योग फस्टाएसँगै विदेशबाट आयात प्रतिस्थापन हुँदै गएको छ । यहाँका उद्योगले पिपिआर, पिभिसी, सिपिभिसी, एचडिपिई पाइप उत्पादन गर्दै आएका छन्।

साना पाइप स्वदेशमा उत्पादन भए पनि ठूलो साइजका पाइप भने विदेशबाट आायत हुन्छ । आन्तरिक मागलाई धानेर निर्यात गर्ने सम्भावना रहेको उद्योगी बताउँछन् । उद्योगीले कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुकबाट ल्याउने गरेका छन् । सरकारले उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा विभिन्न झन्झट दिएर दुःख दिने गरेको गुनासो गर्छन् । घर निर्माणमा प्लास्टिकका सामग्रीको प्रयोग बढेको छ। 

रिसाइक्लिङ उद्योग आवश्यक
प्लास्टिकको प्रयोग बढिरहेकाले प्लास्टिकको रिसाइक्लिङ उद्योग आवश्यक भएको उद्योगीको माग छ। प्लास्टिकको उपयोगिता बढ्दै गएकाले प्लास्टिकलाई पुनः प्रयोगमा ल्याए कच्चा पदार्थ आयातमा कमी आउने छ। यसले वातावरण प्रदुषण न्यूनीकरणमा पनि टेवा पुग्छ।

रिसाइक्लिङ नीति ल्याउन जरुरी रहेको मारवल टेक्नोप्लास्ट प्रालिका भाइस प्रेसिडेन्ट पवनकुमार सन्चेतीले बताए । सन्चेतीका अनुसार अहिले वार्षिक दुई लाख २० हजार मेट्रिकटन कच्चा पदार्थ आयात गरिरहेकामा रिसाइक्लिङ गर्ने उद्योग सञ्चालन गरे आयात घट्छ । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न सरकारले भन्सारको समस्या पनि सम्बोधन गर्नुपर्ने उनले बताए । बजारमा खपत हुने प्लास्टिक र प्लास्टिकजन्य वस्तुको आयात अझै ३० प्रतिशत रहेको छ । रिसाक्लिङ उद्योग सञ्चालन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने उद्योगी बताउँछन्।

प्रकाशित: १९ आश्विन २०७५ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App