१६ चैत्र २०८० शुक्रबार
अर्थ

व्यावसायिक केराखेती गर्दै स्थानीय

फाइल फाेटाे

प्युठान - सरुमारानी गाउँपालिका–१ औलेनीमा व्यावसायिक केराखेती सुरु भएको छ। औलेनी तरकारी समूहमार्फत जिल्लाका दक्षिणी क्षेत्रका किसानले व्यावसायिक केराखेती सुरु गरेका हुन्। 

गत वर्ष जिल्लाका सरुमारानी गाउँपालिकाका स्थानीयको सक्रियतामा व्यावसायिक केराखेती सुरु गरिएको संस्थाका अध्यक्ष उदयबहादुर केसीले बताए । उनले भने, ‘यहाँका १७ कृषक मिलेर व्यावसायिक केराखेती गरेका छौं।’ जि नौ टिस्युकल्चर जातको केराखेती सुरु गरिएको सरुमारानी औलेनीमा साढे सात हेक्टर क्षेत्रफलमा केरा लगाइएको बताइएको छ। 

२०७० को निर्वाचनमा प्युठानबाट समानुपातिकबाट सासंद बनेका पूर्वसांसद धनबहादुर रायमाझीसहितको टोलीले सरुमारानी गाउँपालिकामा व्यावसायिक केराखेती गरेका छन् । २०७३ बाट व्यावसायिक केराखेती सुरु गरेको उक्त समूहले गाउँमै उत्पादन थालिएको केरालाई बजारमा पठाउन सुरु गरिएको छ। 

‘अरुले गरेको धेरै देखियो, आफूहरुले पनि केहि गर्न सकिन्छ कि भनेर व्यावसायिक खेती गरेका हौं ।’ समूहका सचिव शिवप्रसाद शर्माले भने, ‘सधैं अरुले मात्र बेच्न ल्याउछन् हामीले किन गर्न नसक्ने भन्दै पूर्वसासंद रायमाझीले भनेपछि केराखेती सुरु गरेका हौं।’ 

दुई वर्षअघि सुरु गरिएको केराखेतीले अहिले आम्दानी दिन लागेको छ । साढे सात हेक्टर क्षेत्रफलमा अहिले १५ हजार केराका बोट रहेका छन् । ४७ लाख ७५ हजार लगानीमा सरुमारानी गाउँपालिका–१ औलेनीमा गरिएको व्यावसायिक केराखेती जिल्लाकै नमूना केराखेती भएको संस्थाका सचिव शर्मा बताउँछन्।

‘जिल्लामा कसैले पनि व्यावसायिक खेतीपातीमा ध्यान दिएका छैनन्, दुःख गर्न सबैलाई गाह्रो हुन्छ,’ उनले भने, ‘किनेर खाने बानी नै परेको छ कस्ले दुःख गर्छ भन्ने बानी नै परिसक्यो ।’ गत वर्ष जिल्ला कृषि विकास कार्यालय प्युठानले साना सिँचाइका लागि १० लाख र ट्र्याक्टरका लागि चार लाख रुपैयाँ अनुदान दिएको थियो । त्यस्तै बिरुवाका लागि ७५ हजार रुपैयाँ अनुदान दिइएको थियो। 

जिल्ला कृषि विकास कार्यालय प्युठानबाट १४ लाख ७५ हजारको अनुदानमा सुरु गरिएको केराखेती अहिले जिल्लाकै नमूना बनेको जिल्ला कृषि विकास कार्यालय प्युठानका प्रमुख योगप्रसाद खरेलले बताए । ‘व्यावसायिक केराखेती गर्नका लागि सरुमारानीमा कृषकहरु सकृय रहेकाले सहयोग गरेका हौं,’ उनले भने। 

कृषि विकास कार्यालयले हालसम्म पाँच लाख ७५ हजार रुपैयाँ लगानी गरिसकेको जनाएको छ । अझै पनि केहि भयो भने सहयोगका लागि प्राविधिकलाई पठाउने गरेको खरेलले बताए।

त्यस्तै सरुमारानी गाउँपालिकाले पनि व्यावसायिक केराखेती गरिरहेका किसानलाई सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । उनले भने, ‘किसानलाई व्यावसायिक बनाउन पहल थाल्ने हाम्रो काम हो।’ 

‘व्यावासायिक केरा पकेट क्षेत्रको रुपमा रहेको उक्त स्थानमा अहिले दुई तहमा केराखेती गरिएको छ,’ संस्थाका अध्यक्ष उदयबहादुर केसीले भने, ‘पहिले लगाएको केराले अहिले फल दिन थालेको छ भने पछिल्लो लटमा लगाइएको केराले पनि फल दिने तयारीमा छ।’

त्यस्तै २०७३ बाट सुरु गरिएको व्यावसायिक केराखेती पहिलो वर्षमा नै रोग लागेपछि सबै बोटहरु सुकेको संस्थाका सचिव शिवप्रसाद शर्माले बताए । जिल्ला कृषि विकास कार्यालयबाट रोग लागेका केराको परीक्षणका लागि धेरै प्रयास गरिए पनि रोग पत्ता लाग्न नसक्दा काठमाडौं पठाएको उनी बताउँछन्। 

व्यावसायिक रुपमा सुरु गरिएको केराखेतीले अहिले व्यावसायिक रुपमै आम्दानी पनि दिन थालेको छ। जिल्लाको बाग्दुला, दाङको भालुवाङलगायत बजारमा केरा बेच्न लैजाने गरेको उनले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०७५ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App