१६ चैत्र २०८० शुक्रबार
अर्थ

गल्ती गर्नेलाई छाड्दैनौं : मन्त्री पुन

परीक्षणको क्रममा भत्किएको सिक्टा सिँचाइको मूल नहर। फाइल तस्बिर : नागरिक

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन्। परीक्षणको क्रममा भत्किएको सिक्टाबारे पहिलोपटक मन्त्री पुनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

मन्त्रालयका तर्फबाट गठन गरिएको टोली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेला मन्त्री पुनले आइतबार पत्रकार भेटघाटमा उक्त  कुरा बताए । उनले मन्त्रालयद्वारा गठित टोलीको अध्ययन प्रतिवेदन अन्तिम मस्यौदाको क्रममा रहेको समेत जानकारी दिए।

टोलीले अन्तिम प्रतिवेदन दिएपछि दोषी देखिएका जुनसुकै व्यक्तिलाई कारबाही गर्ने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टामा भएको अनियमितता छानिबन गरिरहेकोमा प्रशंसा गर्दै मन्त्री पुनले सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहेकोमा हर्ष प्रकट गरे।

बाँकेमा निर्माणाधीन सिक्टाको पश्चिम खण्डको ४५ किलोमिटर लामो मूल नहरको काम सम्पन्न भए पनि पटकपटक परीक्षणको क्रममा भत्कने गरेको छ । सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको उक्त मूल नहर पटकपटक भत्कनुलाई ठेकेदार र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम गरिएको आशंका छ।

पछिल्लोपटक गत साउन ७ गते परीक्षणको क्रममा बाँके, ढकेरीको चंगाई नालास्थित मूल नहर भत्किएको थियो । ५० क्युमेक्स पानी अटाउने गरी बनाइएको मूल नहरमा पाँच क्युमेक्स पानी चढाउँदा नै भत्किएको थियो । बाँकेको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्यका साथ १२ वर्षअघि सुरु गरिएको सिक्टामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ।

चालु आर्थिक वर्षमा पूर्वी खण्डको मूल नहर र शाखा नहरसमेतमा करिब चार अर्ब रुपैयाँ खर्च हुँदैछ । पश्चिम खण्डको मूल नहर काम नलाग्ने गरी भत्कन थालेपछि कमसल निर्माण कार्य गर्ने र सघाउनेलाई जसरी पनि कारबाही हुनुपर्ने स्थानीयको माग रहँदै आएको छ । पछिल्लोपटक परीक्षणको क्रममा मूल नहर भत्किएपछि छानबिन थालेको अख्तियारले सुरुदेखि नै संलग्न आयोजना प्रमुख र जिम्मेवारी तहमा रहेका कर्मचारीसँग बयान सकेको छ।

स्रोतका अनुसार यसपटक अख्तियारले सिक्टामा भएको अनियमितताबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेकाले बदमासी गर्नेविरुद्ध मुद्दा दायर हुने सम्भावना बढी छ । वर्षौंदेखि पानी पाउने आसमा बसेका सर्वसाधारण पटकपटक नहर भत्कँदा निराश हुने गरेका छन् । सरकारले अबको दुई वर्षमा उक्त आयोजना सक्ने लक्ष्य लिएको छ । तर, मूल नहरमै समस्या आएपछि पूरै आयोजना संकटमा पर्ने हो कि भन्ने धेरैलाई चिन्ता छ।

मन्त्रालयद्वारा गठित छानबिन टोलीका संयोजक सुशीलचन्द्र तिवारीले सिक्टाको मूूूल नहरलाई जसरी पनि सम्पन्न गर्ने योजनाका साथ अन्तिम प्रतिवेदन तयार हुँदै गरेको जानकारी दिए । अख्तियारले सिक्टामा भइरहेको अनियमितताबारे छानबिन अघि बढाएको छ भने तिवारी नेतृत्वको टोलीले आयोजनाको व्यवस्थापकीय त्रुटीको अध्ययनमा केन्द्रित गरिरहेको जनाएको छ।

परीक्षणको क्रममा मूल नहर भत्किए पनि ठेकेदार कम्पनीले त्यसको मर्मत र सुधार गर्ने जिम्मा आफ्नो नभएको जिकिर गरिरहेको छ । कानुनले जुनसुकै आयोजना सम्पन्न भएको एक वर्षसम्म मर्मत र सुधारको दायित्व ठेकेदारको हुने व्यवस्था गरेको छ । तर, तत्कालीन आयोजना प्रमुख रमेश बस्नेतले ठेकेदार कम्पनी सिटिसिई कालिकाले मूल नहर मर्मत र सुधार गर्नुपर्ने अवधि नवीकरण गराएका छैनन् । यसले गर्दा ठेकेदारले मर्मत, सुधार गर्न नमानेको बताइन्छ । सिक्टाको मूल नहरको अधिकांश काम  हाल  सिँचाइ विभागका महानिर्देशक रहेका सरोज पण्डित आयोजना प्रमुख हुँदा भएको हो।

प्रकाशित: ८ आश्विन २०७५ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App