coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दूध चिस्याएरै वर्षको २० लाख

इलामको सूर्याेदय नगरपालिका–८, कन्याममा रहेको कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द ।     तस्बिरः भीम/नागरिक

कन्याम (इलाम) – निकै मेहनत–परिश्रम खर्चेर पशुपालन गरी उत्पादन गरेको दूधले मूल्य नपाउँदा सूर्याेदय नगरपालिका–८, कन्यामका किसान निकै चिन्तित थिए। प्रत्येक घरमा उत्पादन भएकोे दूध सामूहिक रूपमा बेच्नेसम्मको व्यवस्था मिलाउन किसानले दुग्घ उत्पादक सहकारीहरू त स्थापना गरे तर त्यो उपायले पनि दूधको मूल्य बढेन।

सहकारीले पनि सबै किसानले उत्पादन गरेको दूध आफैं प्रशोधन गर्ने क्षमता राख्न सकेनन्। किसानबाट संकलन गरेको दूध अरू–अरू संस्थालाई बेच्नेसम्मको सुविधा मात्रै सहकारीले दिए। सहकारी मात्रैले नभएपछि किसानले दूध बिक्री सहज बनाउन र मूल्य राम्रो पाउन फेरि अर्काे उपाय निकाले– सहकारी–सहकारी मिलेर अर्काे संस्था स्थापना गर्ने।

नभन्दै, किसानको सपना २०६८ सालमा पूरा भयो। स्थानीय १० दुग्ध र कृषि सहकारीले समन्वय गरी कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र स्थापना गरेपछि दूधको मूल्य मात्रै बढेन, बाह«ैमास एउटै मूल्य कायम भयो। र, दूध बिक्ने निश्चितता पनि। अहिले ८ सय १३ किसानले उत्पादन गरेको दूध केन्द्रमा संकलन गरी चिस्याउने गरिएको छ। केन्द्र अध्यक्ष इकाराम प्रधान भन्छन्, ‘सहकारी–साझेदारीका माध्यमबाट चिस्यान केन्द्र खोलेपछि किसानलाई त सुविधा पुगेको छ नै, केन्द्र पनि राम्रो नाफामा चलिरहेको छ।’ 

केन्द्रमा अहिले दैनिक ३ हजार लिटरसम्म दूध संकलन गरी चिस्याउने गरिएको छ। अहिले केन्द्रको काम दूध संकलन गर्ने र चिस्याउने मात्रै हो। ‘तर, यही काम गरेर संस्थालाई बर्सेनि २० लाख रुपैयाँ नाफा भइरहेको छ,’ प्रधानले सुनाए, ‘चिस्यान केन्द्र स्थापना गरेको ७ वर्षमा केन्द्रले १ करोडको जगेडा कोष स्थापना गरिसकेको छ।’ केन्द्रले १ करोड रुपैयाँ खर्चेर आफ्नो भवन बनाएको छ। उन्नति परियोजनासँगको सहकार्यमा करिब करोड रुपैयाँमा मेसिनरी सामानसमेत जोडिसकेको छ। 

अन्य क्रेताले दूधको मूल्य कम दिइरहेका बेला केन्द्रले किसानलाई प्रतिलिटर ३९ देखि ४१ रुपैयाँसम्म दिइरहेको छ। ‘लिटरमा १–२ रुपैयाँ मात्रै राखेर कामधेनु, नेपाल बहुद्देश्यीय सहकारी, विराटनगर दुग्ध वितरण आयोजनालगायतलाई यहाँ संकलित दूध बेच्छौं,’ अध्यक्ष प्रधानले भने, ‘केन्द्रले गरेको आम्दानीबाट किसानलाई वार्षिक बोनससमेत बाँडिरहेका छौं।’ प्रत्येक किसानले दिनमा ३० लिटरसम्म दूध बेच्ने गरेका छन्। वर्षका सबै दिन कम्तीमा १० लिटर दूध निरन्तर ल्याउने किसानलाई केन्द्रले नगदसहित पुरस्कार दिने गरेको छ। पछिल्लो वर्ष स्थानीय लेखनाथ खड्का र प्रेम तामाङ जनही १० हजार रुपैयाँसहित पुरस्कृत भए।

केन्द्रमा कन्याम, प्रगति, अम्बी, मनकामना, अमृतधारा, दामसिंह, सिद्धबाबा दूग्ध उत्पादक सहकारी तथा डब्बुगाउँ, मालुम र गर्धने कृषि सहकारी संस्था आबद्ध छन्। सहकारीमा आबद्ध किसानलाई केन्द्रले घाँसको बीउ पनि वितरण गर्ने गरेको छ। ‘दूधको मूल्य अन्यतिरको भन्दा प्रतिलिटर १–२ रुपैयाँ बढी नै पाएपछि किसान पनि केन्द्रमा आकर्षित छन्,’ अध्यक्ष प्रधान भन्छन्, ‘१ देखि ५ माउसम्म गाई पालेका किसान सहकारीमार्फत केन्द्रलाई दूध बेचिरहेका छन्।’

केन्द्रले दूध चिस्याउने मात्र नभई आफैं प्रशोधन उद्योग सञ्चालन गर्ने लक्ष्यसमेत लिएको छ। संकलित दूधबाट विभिन्न परिकार बनाएर बेच्ने सोच बनाएको उनले जनाए। ‘दूध चिस्याएर पनि आम्दानी त राम्रो छ तर आफैं प्रशोधन गरियो भने अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘यहीं दूध प्रशोधन हुन थाल्यो भने अहिले छिटफुट रूपमा भइरहेको मिल्क होलिडे पनि अन्त्य हुन्छ।’ 

प्रकाशित: ३१ भाद्र २०७५ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App