७ वैशाख २०८१ शुक्रबार
अर्थ

राष्ट्रिय गौरवका १६ आयोजनाको प्रगति ८० प्रतिशतमाथि

काठमाडौं – गत आर्थिक वर्ष २०७४–७५ मा १६ वटा राष्ट्रिय गौरवका आयोजनाले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेका २१ आयोजनामध्ये ती आयोजनाको प्रगति ८० प्रतिशतमाथि देखिएको हो।

राष्ट्रिय योजना आयोगका अनुसार सिक्टा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, रानीजमरा कूलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, राष्ट्रपति चुरे तराई मधेश संरक्षण आयोजना लगायतले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, पुष्पलाल मध्यपहाडी लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली करिडोर), काठमाडौं तराई मधेश द्रूतमार्ग र मेलम्ची खानेपानी आयोजनाले पनि सोही प्रगति हासिल गरेका छन्। 

आयोगका उपाध्यक्ष पुष्पराज कँडेलद्वारा मंगलबार राष्ट्रिय विकास समाधान समितिको बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सबैभन्दा बढी १०९.५ प्रतिशत र उत्तर दक्षिण (कर्णाली करिडोर)मा सतप्रतिशत प्रगति प्राप्त भएको छ । त्यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनामा ९९.९ प्रतिशत, बबई सिँचाइमा ९९.४ प्रतिशत, हुलाकी राजमार्गमा ९७ प्रतिशत, काठमाडौं तराई मधेश द्रूतमार्गमा ९५ प्रतिशत, पुष्पलाल मध्यपहाडी लोकमार्गमा ९३ प्रतिशत र रेल्वे तथा मेट्रो विकास आयोजनामा ९२ प्रतिशत प्रगति हासिल भएको आयोगले जनाएको छ ।
त्यसैगरी, गत वर्ष राष्ट्रिय गौरवका दुई आयोजनाले ५० देखि ७९ प्रतिशत प्रगति हासिल गरेका छन् । यसमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् । ती आयोजनाले क्रमशः ७३.३ प्रतिशत र ६५ प्रतिशत प्रगति हासिल गरेको प्रतिवेदनमा छ। 

राष्ट्रिय गौरवका आयोजनामा समावेश भएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ५० प्रतिशतभन्दा कम छ । जसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ३३.३ र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ३९.४ रहेको आयोगले जनाएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको प्रगति नखुलेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, पि–वानका कार्यक्रममध्ये गत आर्थिक वर्षमा दुई सय १८ आयोजनाको प्रगति ८० प्रतिशतभन्दा बढी रहेको आयोगले जनाएको छ । पि–वानअन्तर्गत कुल तीन सय ४६ आयोजना छन् । गत वर्ष ६५ वटा आयोजनामा ५० देखि ७९.९ प्रतिशतको बीचमा प्रगति प्राप्त भएको आयोगको प्रतिवेदनमा छ । प्रतिवेदनअनुसार ३२ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम छ भने ३१ वटा आयोजनाको प्रगति खुलेको छैन।

 

प्रकाशित: २७ भाद्र २०७५ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App