१६ चैत्र २०८० शुक्रबार
अर्थ

मन्त्रालयसँग पर्यटकको तथ्यांक छैन

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको गेटमा राखिएको कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को होडिङ बोर्ड। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - पाँच लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित कर्णाली प्रदेश सरकारले नयाँ वर्षको अवसर पारेर वैशाख १ गते मुगु जिल्लाको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भ ग-यो। प्रधानमन्त्री केपी शर्मा ओली रारामै पुगेर शुभारम्भ गरेको कर्णाली पर्यटन वर्षको पाँच महिना पूरा हुन थाल्यो।

यो अवधिसम्म कर्णाली प्रदेशमा कति जना आन्तरिक तथा बाह्य पर्यटन भित्रिए त? सरोकारवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक भन्छ, ‘शून्य’। ७० लाख रुपैयाँ खर्चेर शुभारम्भ गरिएको पर्यटन वर्षको पाँच महिने अवधिमा प्रदेश सरकारका गतिविधि शून्यप्रायः छन्। लेटरप्याड छ, सचिवालय छैन । पाँच महिनाको अवधिका कति जना आन्तरिक तथा बाह्य पर्यटन कर्णाली प्रदेशमा भित्रिए त्यसको तथ्यांक पनि छैन।

मुख्यमन्त्री संयोजक रहेकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश स्तर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्रालयस्तरको युनिट हुनुपर्ने हो । दुवै ठाउँमा पर्यटन सम्बन्धी हेर्ने युनिट छैनन्। करिब पाँच महिनाको अवधिमा मन्त्रालयले दुइटा काम देखिने गरेर गरेको छ। मन्त्रालयको मुख्यद्वार र धुलियाबिट चोकमा पर्यटन वर्ष सम्बन्धी दुइटा होडिङ बोर्ड राखिएका छन् भने मन्त्रालयभित्र डिजिटल बोर्ड राखिएका छन् । ‘त्योबाहेक अहिलेसम्म केही कामै भएको छैन,’ मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘न सचिवालय छ, न कर्मचारी छन्, कहाँबाट पर्यटन सम्बन्धी गतिवधि हुनु।’

पर्यटन वर्षको उद्घाटनका क्रममा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५ सचिवालय’का नामबाट प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री, ६ वटै प्रदेशका मुख्यमन्त्री र कुटनीतिक नियोगका प्रमुखहरुलाई प्रदेश सरकारले पत्र पठाएको थियो । सचिवालय लेटरप्याडमा मात्रै सीमित रह्यो।

१० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएका छन् । प्रदेश स्तरमै पर्यटन सम्बन्धी गर्ने युनिट नहुँदा जिल्लामा पनि गतिविधिहरु शून्य छन् । पर्यटन वर्षले नेपालकै ठूलो राराताललाई केन्द्रमा राखेको थियो । जुम्ला र मुगुको सिमा नाकामा रहेको नेपाली सेनाको बुलबुले चेकपोस्टका अनुसार वैशाखयता १८ हजार ३८ जना रारा प्रवेश गरेका छन् । तीमध्ये तीन सय १० जना विदेशी पाहुना हुन् ।  नेपाली सेनाको इन्ट्री पोस्टको यो रेकर्ड पनि प्रदेश सरकारसँग छैन । सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुको रारातालसम्म पुग्नुपर्छ।

नेपाली सेनाको यो रेकर्डले एक वर्षको अवधिमा पाँच लाख पर्यटन भित्र्याउने प्रदेश सरकारको महŒवाकांक्षी लक्ष्य पूरा हुने देखिँदैन। ‘पूर्वाधार र तयारीबिना नै पर्यटन वर्ष घोषणा भयो,’ मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख शिवराम अधिकारी भन्छन्, ‘पाँच लाख त के एक लाख पर्यटन भिœयाउन पनि मुस्किल छ।’

कर्णाली प्रदेश पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलले भरिपूर्ण छ। तर, पूर्वाधार अभावका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउन मान्दैनन् । ‘दुई महिनादेखि राराताल जाने कर्णाली राजमार्ग अवरुद्ध छ । प्रदेश सरकारले बाटो खुलाउन पहल गरेको छैन। प्रदेशका मन्त्रालयबीच समन्वय नहुँदा पनि पर्यटन वर्षको प्रभावकारिता हराउँदै गएको देखिन्छ।

पर्यटन वर्षको घोषणा हुँदा सुर्खेतदेखि राराताल र अन्य जिल्लाका प्रमुख पर्यटकीयस्थलसम्म बाह्रै महिना यातायातका साधन चलाउने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको थियो। भौतिक पूर्वाधार मन्त्रालयले अहिलेसम्म रारा जाने सडक खुलाउन सकेको छैन । ‘सुर्खेतदेखि रारासम्म ठाउँठाउँमा सडक बनाउने, सवारीसाधन मर्मत सेन्टर र फ्युल सेन्टर राख्ने जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको थियो,’ सूचना अधिकारी रोकायले भने, ‘सो मन्त्रालयबाट अहिलेसम्म त्यस्तो कुनै काम भएको देखिँदैन।’

मन्त्रालयका अधिकारीहरु असोजपछि कर्णालीमा पर्यटक भित्रिने दाबी गर्छन्। ‘अहिले जहाँतहीँ बाटो अवरुद्ध छ, यस्तोमा पर्यटकहरु कहाँबाट आउनु ?’ महाशाखा प्रमुख अधिकारीले भने, ‘भदौबाट पर्यटन बढ्ने अपेक्षा हामीले गरेका छौं।’

प्रकाशित: २१ भाद्र २०७५ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App