१६ चैत्र २०८० शुक्रबार
अर्थ

औद्योगिक वस्तुको आयात उच्च

काठमाडौं - गत महिना औद्योगिक उपकरणको आयात उच्च भएको छ । सरकारी तथ्यांकअनुसार गत साउनमा फलाम तथा स्टिल, हजाईजहाज तथा पार्टपुर्जा र इन्धनको आयात ह्वात्तै बढेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा गत वर्षको सोही अवधिको तुलनामा ती वस्तुको आयात दोब्बरभन्दा धेरैले बढेको छ।

उद्योग स्थापना गर्न आवश्यक वस्तु फलाम तथा स्टिल हो। चलिरहेका कलकारखाना मरम्मतसम्भार र विस्तारको लागि पनि फलाम, स्टिल तथा पार्टपुर्जा आवश्यक पर्छ। त्यस्तै, औद्योगिक उत्पादनका लागि इन्धन चाहिन्छ।

गत महिना १४ अर्ब ६२ करोड रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ। यो पोहोर साउनको तुलनामा ६९ प्रतिशतले बढी हो । तथ्यांक अनुसार गत वर्ष साउनमा फलाम तथा स्टिल वस्तुको आयात आठ अर्ब ६३ करोडको मात्र थियो।

हवाईजहाज तथा पार्टपुर्जाको आयात पनि उच्च भएको छ। गत साउनमा हवाईजहाज तथा यसको पार्टपुर्जा आयातमा १३ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको छ। पोहोर साउनमा हवाईजहाज तथा पार्टपुर्जा आयातमा एक अर्ब ४४ करोड मात्र बाहिरिएको थियो।

उद्योगलाई आवश्यक पर्ने वस्तुमा इन्धन पनि एक हो। आयातित इन्धनको केही हिस्सा औद्योगिक उत्पादन तथा पूर्वाधार निर्माणमा पनि खर्च हुने गरेको छ। यसले गर्दा इन्धन आयात बढ्दै गएको हो।

पोहोर साउनमा सबै प्रकारका पेट्रोलियम इन्धन नौ अर्ब ६९ करोड बराबरको आयात भएको थियो। यस वर्ष साउनमा यसको आयात करिब ८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। साउनमा १८ अर्ब १० करोड रुपैयाँको इन्धन आयात भएको तथ्यांक छ।

भन्सार विभागका अनुसार चालु आवको महिलो महिनामा १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ। यो पोहोर साउनको तुलनामा ५७ प्रतिशतभन्दा धेरै हो । पोहोर साउनको कुल आयात ७६ अर्ब ७३ करोड रुपैयाँ थियो।

विभागले फलाम तथा स्टिल, हवाईजहाज तथा यसका पार्टपुर्जा र इन्धन आयात उच्च हुँदा समग्र आयातको वृद्धिदर उच्च भएको जनाएको छ । गत असारको तुलनामा यी वस्तुको आयात ३२ प्रतिशतले बढेको हो।  

गत वर्ष साउनमा यी वस्तुको आयात करिब ५७ अर्ब बराबर रहेको र यो वर्ष करिब ७५ अर्ब पुगेको विभागको तथ्यांकमा उल्लेख छ।

पोहोर साउनमा तराईका जिल्ला बाढी र डुबानमा परेका थिए । बिहारको एउटा पुल भत्किँदा विराटनगर नाका हुँदै आउने सामानको आयात ठप्प भएको थियो। यसको असरले आयात कम भएको थियो । विभागका अनुसार बाढी र डुबानका कारण आयात–निर्यात प्रभावित भएकाले गत वर्ष प्रत्येक महिना औसत करिब १ खर्बको आयात हुँदा साउनमा ७६ अर्बको मात्र आयात भएको थियो । यस वर्ष साउनमा समग्र आयात वृद्धिदर उच्च हुनुको एउटा कारण तराईमा बाढी र डुबानको समस्या नआउनु पनि रहेको विभागको भनाइ छ।

चालु आवको पहिलो महिनामा कुल ६ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको छ । यो पोहोर साउनको तुलनामा ३.१९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पहिलो महिनामा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो।

यो वर्ष साउनमा कुल वैदेशिक व्यापार १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। साउनको व्यापार घाटा १ खर्ब १३ अर्ब छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतले धेरै हो।

यसपालि पनि चालु आवको पहिलो महिनामा भारतसँग सधैं झैं सबैभन्दा धेरै व्यापार भएको छ। भारतबाट ७१ अर्ब रुपैयाँको आयात हुँदा ३ अर्ब ९८ करोडको निर्यात भएको छ।

अर्को छिमेकी चीनबाट १४ अर्ब ९३ करोड रुपैयाँको आयात भएको छ । चीनतर्फ ८ करोड ५१ लाखको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । धेरै आयात गरेको तेस्रो मुलुकमा फ्रान्स छ। फ्रान्सबाट १२ अर्ब ८२ करोड रुपैयाँको आयात हुँदा ७ करोड ८५ लाख रुपैयाँको मात्र निर्यात भएको विभागको तथ्यांकले देखाउँछ।

प्रकाशित: १७ भाद्र २०७५ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App