१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विविध अवराेधका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलार्इ

रुपन्देही - सम्झौता अनुसार निर्माण सकिएको भए यतिखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भइरहेको हुन्थ्यो। त्रिभुवन विमानस्थलको विकल्पमा निर्माण गरिएको गौतमबुद्धको निर्माण कछुवा गतीमा हुँदा समयमा नसकिएको हो। 

सरकारले  चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा विमानस्थल निर्माणकालागि ठेक्का दिएको थियो तर, चिनियाँ कम्पनीले भने समयमा काम गर्न नसकेपछि आयोजनाले एक बर्ष म्याद थप गरेको छ। सन् २०१७ को डिसेम्बरमा एसियाली विकास बैंकको (एडिवी)को मुख्य लगानीमा निर्माण सम्पन्न हुने गरी २०१५ को जनवरीबाट विमानस्थल निर्माण कार्य सुरु भएको थियो। 

२०७३ चैतमा स्थानीय ठेकेदार नर्थवेस्ट इन्फा नेपाल प्रालिले चिनियाँ कम्पनीले रकम नदिएको भन्दै काम गर्न छाडेपछि काम प्रभावित भएको हो। त्यो भन्दा अघि निर्माण सामाग्रीको अभाव तथा गत असारमा स्थानीयले मुआब्जा नपाएपछि आन्दोलन चर्कदा थप काम प्रभावित भएको थियो।अहिले फेरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तर उन्नती आयोजनाका प्रमुख इञ्जिनियर ओम शर्माको सरुवा भएपछि विमानस्थलको काम पुन अलमलमा पर्ने आशंका गरिएको छ। सरकारले प्रमुख शर्माको सरुवा गरेको हो। यद्यपि उनी भने अझै आयोजना भैरहवामै रहेका छन।

एउटा निश्चित समयमा सक्ने गरि शुरु भएको आयोजनाको इञ्जिनियर सरुवा हुनुले विमानस्थलको कामलाई प्रभावित बनाउन खोजेको ठान्छन सिद्धार्थनगर उद्योग बाणिज्य संघका उपाध्यक्ष ठाकुर कुरमार श्रेष्ठ। ‘अब आउने आयोजना प्रमुखले बुझ्दा बुझ्दै समय वित्छ’ उनले भने। उनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई हुँदा समग्र देशलाई नै घाटा भइरहेको बताए। अहिले एक बर्षका लागि म्याद थपिएको भएपनि यो अवधिमा काम सक्ने कुनै छाटकाँट नदेखिएको उपाध्यक्ष श्रेष्ठले बताए। विमानस्थलमा राष्ट्रिय स्वार्थ भन्दा बढी राजनितिक स्वार्थ हावी हुँदा समस्या आएको उनको भनाई छ। ठेकेदार कम्पनीले म्याद थप गरेपछि अहिले भने पहिलेभन्दा केहि मात्रामा कामको गती बढेको छ। सरकारले यो बर्ष सक्नुपर्ने विमानस्थल निर्माणको काम सम्पन्न हुन नसकेपछि सन् २०१९ जुन सम्मका लागि म्याद थप गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई मूल्य अभिबृद्धि कर तिर्ने गरि निर्माण शुरु भएको हो।

अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको भन्दै अबको एक बर्षमा अन्तर्राष्ट्रिय उडान हुने आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले बताए। विमानस्थलका अप्ठ्यारा कामहरु सम्पन्न भएकाले अब तोकिएकै मितिमा काम सम्पन्न हुने उनको भनाई छ। कन्ट्रोल भवन, पार्किङ्ग, प्रशासनिक भवनको काम पूरै सम्पन्न भइसकेको उनले बताए। अबको केहि दिनमा धावन मार्गको अन्य काम सम्पन्न भईसक्ने र त्यसपछि पिचको काम सुरु हुने उनले बताए। बुद्ध जन्मस्थल लुम्बिनीलाई समेत केन्द्रमा राखेर विमानस्थलको चर्चा गर्ने गरिएको छ। सिधा भैरहवामा उडान हुँदा लुम्बिनी आउने पर्यटकको संख्या समेत बृद्धि हुने अपेक्षा गरिएको छ। 

विमानस्थल निर्माण हुन थालेपछि बुटवल भैरहवा, लुम्बिनीमा पर्यटक लक्षित लगानी समेत बृद्धि हुँदै गएको छ। तर, समयमा काम पूरा नहुँदा लुम्बिनीसँग जोडेर विमानस्थलको प्रयोग गर्ने कुरा सपना जस्तै बनेको पर्यटनविद डा. गितु गिरीको तर्क छ। उनले भने ‘एकातिर एडिविको ऋणको भारी भोक्नुछ अर्कोतर्फ समयमा विमानस्थल सम्पन्न नहुँदा नकरात्मक सन्देश गयो।’ उनले एक बर्षका लागि विमानस्थल निर्माण पर धकेलिदा आर्थिक रुपमा ठूलो नोक्सान भएको बताए।

विमानस्थल बनेपछि प्रदेश ५ को आर्थिक गतिविधिमा ठूलो परिर्वतन ल्याउने आशा गरिएको छ। प्रदेश ५ सरकारले समेत विमानस्थल निर्माणले समृद्ध प्रदेश बनाउने आशा राखेको छ। एसियाली विकास बैंकको लगानीमा निर्माणाधीन विमानस्थलमा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ। यस्तै ओपेक फण्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत ऋण लगानी  छ। 

 

प्रकाशित: ३ भाद्र २०७५ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App